प्रधानमन्त्री केपी ओलीसमक्ष नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले उद्योगहरूको नवीकरणमा उत्पन्न समस्याबारे ध्यानाकर्षण गराएको छ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा महासंघका अध्यक्ष सीताराम न्यौपानेसहितका प्रतिनिधिले दर्ता भएका सात सय क्रसर तथा बालुवा उद्योगलाई विगतकै मापदण्डका आधारमा नवीकरण गराउन माग गरेका हुन्।
वातावरणसम्बन्धी मापदण्ड, २०५४ र उद्योगका लागि दूरीसम्बन्धी मापदण्ड, २०७१ का आधारमा ती उद्योग सञ्चालन भएकामा ०७७ सालमा संशोधित मापदण्डले नवीकरणमा कठिनाइ भएको महासंघले जनाएको छ।
महासंघले उद्योगहरूको नवीकरण नहुँदा करिब रु. चार अर्ब लगानी डुब्ने अवस्थामा रहेको भन्दै विगतमा दर्ता भएका उद्योगलाई कर दस्तुर लिई पुरानै मापदण्डका आधारमा नवीकरण गराउन र व्यावहारिक एवं नयाँ मापदण्ड ल्याउन माग गरेको छ।