विषालु च्याउविरुद्ध मकवानपुरमा जनस्वास्थ्य कार्यालयको अभियान

शुक्रबार, २५ साउन, २०८१
डिजिटल संस्करण

विषालु च्याउको सेवनबाट सर्वसाधारणको मृत्यु हुने क्रम बढेपछि जनस्वास्थ्य कार्यालय मकवानपुरले जिल्लाको विषालु च्याउ प्रभावित क्षेत्रमा पुगेर सचेतना अभियान सञ्चालन गर्न थालेको छ । गत असारमा मकवानपुरमा विषालु च्याउ खाएर चारजनाको मृत्यु भएको थियो भने २९ जना बिरामी परेका थिए ।

बिहीबार हेटौँडामा पत्रकारहरूसँगको अन्तर्क्रिया कार्यक्रममा अभियानबारे जानकारी दिँदै जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारले विषालु च्याउको पहिचान र प्रयोग न्यूनीकरणका लागि अभियान सञ्चालन गर्न थालेको बताए । 

उनले जिल्लाको राक्सिराङ, कैलाश र भीमफेदी गाउँपालिकाको विभिन्न स्थानमा विषालु च्याउको प्रयोगविरुद्ध अभियान सञ्चालन गरेको जानकारी दिए । अभियानका क्रममा प्रभावित क्षेत्रमा पुगेर गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान, पोखराका वैज्ञानिक एवं च्याउ विशेषज्ञ डा. शिव देवकोटाले नेपालमा पाइने विषालु च्याउबारे सहजीकरण गरेका छन्। 

उनले मकवानपुरसहित चितवन, इलाम, पाल्पा, अर्घाखाँची, गुल्मी, दाङ र सल्यानमा बर्सेनि विषालु च्याउ खाँदा मृत्यु हुनेको दर बढिरहेकाले सचेत हुनुपर्ने बताए। सामान्यतः च्याउको पहिचानको हस्तान्तरण प्रक्रिया गलत भएको, उस्तै लाग्ने च्याउबाट झुक्किने गरेको र समयमै उपचारको अभावमा धेरैले ज्यान गुमाउनुपरेको उनको भनाइ छ ।

‘विषालु च्याउको सेवनपछि पेट दुख्ने, पखाला लाग्ने, जिब्रो सुन्निने, मुखबाट र्याल आउने, कोक्याउने र बोहोससमेत हुने समस्या देखिन्छ । च्याउ खाएको ६ घण्टाभित्र त्यसको लक्षण देखिने भएकाले समयमै लक्षणको पहिचान गर्न सके र अस्पताल पुर्याउन सके मृत्यु हुनबाट जोगाउन सकिन्छ,’ उनले भने ।

डा. देवकोटाले च्याउ उम्रिएको स्थान र बाहिरी आवरणबाट विषालु हो कि होइन भनेर चिन्न सकिने जानकारी दिँदै माटोमा उम्रिएको, गिल्स भएको, छाताजस्तो भएको, छातामा थोप्लाहरू भएको च्याउ विषालु हुने बताए । ‘माटोमा उम्रिएको च्याउ त खानै हुँदैन । माटोमा उम्रिने च्याउ अधिकांश विषालु हुन्छन् । र, पहिचान गर्न पनि कठिन हुन्छ,’ उनले भने । विषालु च्याउले शरीरका भित्री अंगहरू विशेषगरी कलेजो र मिर्गौलामा असर गर्ने र समयमै उपचार नपाउँदा बिरामीको ज्यानै जाने पनि डा. देवकोटाले बताए।

नेपालमा एक हजार २९२ प्रजातिका च्याउ पाइने उल्लेख गर्दै उनले १५९ प्रजातिका च्याउ मात्रै खान योग्य रहेको जानकारी दिए । यस्तै, एक सय प्रकारका च्याउहरू एकदमै विषालु रहेको उनको भनाइ छ ।
 

सुझावित समाचार