बागमती प्रदेश सरकारले शुक्रबारबाट गाईभैँसीमा लाग्ने लम्पी स्किन रोग नियन्त्रणका लागि सप्ताहव्यापी खोप अभियान गर्दै छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेश, हेटौँडाले प्रदेशका १३ जिल्लामा अभियानका लागि खोप पठाएको जनाएको छ । तर, खोप भने पाँच प्रतिशत पशुलाई पनि पुग्ने देखिँदैन ।
बागमतीको कृषि मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष ०७९/८० मा प्रदेशमा १० लाख ११ हजार १३६ गाई र आठ लाख ३२ हजार १९३ भैँसीको संख्या छ । कृषि मन्त्रालयका सचिव विनोदकुमार भट्टराईका अनुसार अभियानका क्रममा मन्त्रालयले ७६ हजार २७५ डोज खोप जिल्लामा पठाएको छ । यो भनेको जम्मा पशुमा ४.१४ प्रतिशत हुन्छ ।
निर्देशनालयबाट आठ हजार तीन सय, विभागबाट पाँच हजार र पशुसेवा कार्यालयबाट ६२ हजार ९७५ डोज खोप जिल्लाअनुसार वितरण गरिएको छ । ३८१ भ्याक्सिनेटर परिचालन गरिएको छ । भट्टराईले खोप सबै पशुलाई नपुगे पनि अवस्था र आवश्यकता हेरेर जोखिम भएको ठाउँलाई प्राथमिकता दिइने बताए । उनका अनुसार अभियानले रोगबारे जानकारी र सचेतनासमेत प्रदान हुनेछ । अभियानका क्रममा स्थानीय सरकारले समेत स्वयं खोपको व्यवस्था गर्ने गरेको उनले सुनाए । उनका अनुसार यो अभियान खोप लगाउने मात्र नभई सचेतना जगाउने र सचेत हुने अभियान पनि हो ।
गत वर्ष पनि बागमती प्रदेशले लम्पी स्किन डिजिजको प्रकोप १३ वटै जिल्लामा देखिएकाले खोप अभियान सञ्चालन गरेको थियो । बागमती प्रदेशमा लम्पी स्किन डिजिजका कारण दुई लाख ५६ हजार ७५९ पशु प्रभावित भएका थिए । त्यसमध्ये ११ हजार २१८ पशु मरेका थिए । तर, खोप भने दुई लाख ४५ हजार २२२ पशुलाई मात्र लगाइएको थियो । लम्पी स्किनका कारण बागमतीमा १०.२७ प्रतिशत पशु बिरामी हुने दर थियो । मृत्यु हुने दर ३.१ प्रतिशत देखिन्थ्यो ।
ठोस उपचार नभएकाले लम्पी स्किन डिजिजका कारण गाईभैँसीको दूध उत्पादन ८० प्रतिशतसम्म कमी आउने हुन्छ । यो रोग नियन्त्रणको उत्तम उपाय समयमै खोप लगाउनु हो । नेपालमा ०७७ असारमा पहिलोपटक लम्पी स्किन देखिएको थियो । हाल ७५ जिल्लामा यो रोग देखापरिसकेको छ । नेपालमा यस रोगले गर्दा ३० अर्बसम्मको आर्थिक क्षति भएको अनुमानित तथ्यांक छ । खोप लगाउँदा तीनदेखि ६ महिना उमेरमाथिका सबैलाई लगाउनुपर्छ । एक–एक वर्षको फरकमा खोप नियमित लगाउनुपर्छ ।
कालिका नगरपालिकाले अभियानअघि नै लगायो खोप
चितवनको कालिका नगरपालिकाले अभियानअघि नै यहाँका पशुलाई लम्पी स्किनविरुद्धको निःशुल्क खोप लगाइसकेको छ । गत आर्थिक वर्षमा यो नगरपालिकामा लम्पी स्किनले महामारी लिएको थियो । पशु सेवा शाखाका अधिकृत ईश्वरीप्रसाद पौडेलका अनुसार गोठगोठ पुगेर पालिकाका ११ वटा वडामा एकैसाथ लम्पी स्किनविरुद्धको खोप लगाइएको छ । अभियानका लागि पशु सेवा कार्यालय चितवनबाट प्राविधिकसहित परिमाणमा खोप प्राप्त भएको थियो भने बाँकी खोप र प्राविधिक नगरपालिकामार्फत व्यववस्थापन गरिएको थियो ।
लम्पी स्किन हुँदा पशुमा के हुन्छ ?
पशुमा उच्च ज्वरो (१०४) फरेनहाइट वा माथि आउने, शरीरका विभिन्न ठाउँमा विशेष गरी घाँटी, पछाडिको भाग, पेट र चुनवरिपरि गिर्खाहरू (१० देखि ५० मिलिमिटरसम्मका) देखिने, कचेरा निकाल्ने, सिँगान बग्ने तथा फिँज धेरै निकाल्ने, लिम्फ नोडहरू सुन्निने, दुधालु गाईभैँसीमा दूध उत्पादन ८० प्रतिशतसम्म घट्ने, जोर्नी र खुट्टाहरू सुन्निने र हिँड्न गाह्रो हुने, थुनेलो देखिन सक्ने, गर्भ तुहिने र पछि बाँझोपना देखिन सक्ने हुन्छ ।