रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारसम्बन्धी ठूला फाइल बन्द नगर्न सरकारलाई चेतावनी दिएका छन् । प्रधानमन्त्रीदेखि सत्ता पक्षका नेताहरूसम्मले सुशासनका मुद्दालाई विषयान्तर गर्न खोजेको उनको आरोप छ ।
आइतबारको बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले दिएको अभिव्यक्तिको पनि लामिछानेले खण्डन गरेका छन् । ‘फाइल तिमीहरूले खोलेको होइन, हामीले खोलेको हो, तिमीहरूले केही गरेका होइनौँ भन्ने कुरा आए । ठीक छ, तपाईंहरूले नै खोलेको हो, हामीलाई जस चाहिएको पनि होइन । काण्ड पनि हामीहरूले नै गरेको हो भनिदिएको भए हुन्थ्यो । ३०औँ वर्षका काण्ड आफैँले गरेको हो भन्दिउँ,’ सोमबारको संसद् बैठकमा उनले भने, ‘फाइल तपाईहरूले नै खोलेको हो, तर बन्द नहुँदै ज्युँदै रहेको फाइललाई तपाईंहरूले गाड्ने प्रयास गर्नुभयो । जुन फाइलमा प्राण थियो । त्यो प्राण बाँकी रहेको फाइललाई रिओपन गर्ने प्रयास हामीले गरेका हौँ ।’
कांग्रेस महामन्त्री शर्माले आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै भुटानी शरणार्थी, बालमन्दिरको जग्गा, ६१ केजी सुन, बाँसबारी जग्गा प्रकरणको फाइल लामिछाने गृहमन्त्री बन्नुअघि नै खुलेको बताएका थिए । उनले कुनै फाइल खुलेको २४ घन्टामै सरकार ढालिएको भाष्य बनाउन खोजिएको भन्दै आपत्ति जनाएका थिए ।
लामिछानेले लामो अनुसन्धानको विषयलाई सत्तारूढ दलको महामन्त्रीले केही पनि होइन भनेर संसद्लाई गुमराहमा राख्न नमिल्ने बताए । ‘बाँसबारी छाला जुत्ता कारखानाको विषय अनुसन्धानको क्रममा रहेको, हाजिरी जमानीमा कोही छुटेका छन् । टीकापुर जग्गा पनि अनुसन्धानमा छ । त्यहाँ पनि खुदा पहाड निकला चुहा भनेर अनुसन्धान गरिरहेको मान्छेलाई बाहिर ल्याइदिनुहोला । त्यति मात्रै होइन, विभिन्न विषयमा अनुसन्धान चलिरहेको छ । फाइल उहाँहरूलाई नै जिम्मा लगाउन चाहन्छु । जस पनि चाहिएको छैन,’ उनले भने, ‘तर अनुसन्धानमा रहेको विषयलाई केही पनि होइन । पूर्वाग्रह साँधेको हो भन्ने कुरामा गम्भीर ध्यानाकर्षण गर्दछु ।’ लामिछानेले दुई ठूला दल मिल्दैमा सार्वभौम सांसदहरूले सुशासनको पक्षमा बोल्न छोड्न नहुने पनि बताए । ‘यही सदनमा सहकारी बन्धु भनेका साथीहरूले अब सहकारी बन्धुको भाषा बन्द गरेको हेर्न चाहँदैनौँ । सहकारी बन्धु, गिरिबन्धु मात्र नभनून् । स्काउट ड्रेसमा बाँसबारीको जुत्ता लगाएर बालमन्दिर हुँदै टीकापुर हिँडेको नक्कली भुटानी बन्धु भन्ने आँट गरून्,’ उनले भने ।
लामिछाने दुई ठूला दलले बनाएको नयाँ सरकारको टार्गेट रास्वपा रहेको पछिल्ला अभिव्यक्तिले देखाएको बताए । ‘हिजो प्रधानमन्त्री, कांग्रेस महामन्त्रीको अभिव्यक्ति र आज विषयान्तर गर्न खोज्नुभएका एमालेका पुराना नेता (रघुजी पन्त)को अभिव्यक्तिको के देखाउँछ भने अब यी नयाँलाई ठीक पार्नुपर्छ, यिनलाई एउटा एउटा आरोप लगाइदिनुपर्छ । आरोप लगाएर ठीक गरिदिसकेपछि हाम्रो जोगिन्छ भनेर मिलेको कुरा स्पष्ट हुन आउँछ । यसले मुलुकका लागि आवश्यक रहेको रास्वपा नै यो देशको विकल्प हो भन्ने संसदको पछिल्लो गतिविधिले स्पष्ट पारेको छ,’ उनले भने ।
स्वर्णिम वाग्लेले उठाएको ‘मोनरो डक्ट्रिन’ मा रघुजी पन्तको आपत्ति
एमाले सांसद रघुजी पन्तले रास्वपा उपसभापति स्वर्णिम वाग्लेले पार्टीको नीति मन्थनको ऊर्जासम्बन्धी सेसनमा दिएको मोनरो डक्ट्रिन’ बारे प्रश्न उठाएका थिए । वाग्लेले साउथ एसियामा मोनरो डक्ट्रिन’ आएको र उदाउँदो शक्ति भारतले यो क्षेत्रमा बाह्य शक्तिले दखल नदिऊँ भनेको र यो कुरा हामीले बुझिदिनुपर्ने उल्लेख गरेका थिए । पन्तले भारतले आफ्नो विदेश नीतिको दस्तावेजमा कहिल्यै पनि साउथ एसियन मोनरो डक्ट्रिन’ नभनेको र नेपालले कहिले नस्विकारेको उल्लेख गर्दै नेपाल आदिकालदेखि नै स्वतन्त्रता कायम राख्दै आएको बताए ।
भारत, पाकिस्तान, बंगलादेशजस्ता देश नजन्मिँदै नेपालले बेलायतसँग सम्बन्ध राखेको पनि उनले स्मरण गराउँदै नेपाल कहिल्यै पनि कुनै डक्ट्रिनमा नरहेको अवस्थामा एउटा सांसदबाट साउथ एसियन डक्ट्रिनको कुरा आउनु लज्जास्पद भएको बताएका थिए । यस्ता अभिव्यक्तिको आलोचना र भत्र्सना गर्नुपर्ने उनको भनाइ थियो । ‘साउथ एसियन डक्ट्रिन आयो, बुझिदिनुपर्छ भन्ने कुरा, योभन्दा दुःखद के हुन सक्छ ?’ उनले भने । नेपालले लिँदै आएको परराष्ट्र नीति, स्वतन्त्रता, सार्वभौमसत्ता, असंलग्न परराष्ट्र नीतिविपरीत रहेको र नेपालको देशभक्तको अपमान गरेको उनको भनाइ थियो । पन्तलाई जवाफ दिँदै लामिछानेले भने, ‘होलिवाइनको डक्ट्रिन के हो ? मध्यरातमा खुफिया एजेन्सीसँग भेटिने डक्ट्रिन के हो ? कुनै बिचौलियाको घरमा मध्यरातमा सरकार चलाउने दस्तखत गर्ने डक्ट्रिनबारेमा पनि कुनै दिन खुलेर कुरा गरौँला ।’
भ्रष्टाचारका फाइल बन्द गर्न कांग्रेस–एमाले रातारात मिले : अमनलाल मोदी
माओवादी सांसद अमनलाल मोदीले हिजोका गल्ती तथा भ्रष्टाचार र सुशासनसँग जोडिएका कैयौँ फाइल बन्द गर्न षड्यन्त्रपूर्वक रातारात नयाँ गठबन्धन बनेको दाबी गरे । महाभारतमा धर्म र सत्यका लागि कौरव पाण्डवको बीचमा द्वन्द्व हुँदा सकुनीले कौरवको पक्षमा षड्यन्त्र गरेर पाण्डवहरूको राज्य हडपेर बनवास पठाएको प्रसंग उल्लेख गर्दै भने, ‘त्यो राति जसरी संदिग्धपूर्वक देशमा सुशासन, भ्रष्टाचारमुक्त बनाउन खोजिराखेको सरकार सकुनीजस्तै शक्तिशाली षड्यन्त्रपूर्वक उहाँहरूले ढाल्नुभयो ।’ पाण्डवहरू बनवास गएर सत्यको पक्षमा न्यायका लागि विचार प्रकट गरेको भन्दै उनले थपे, ‘तर त्यतिखेर कौरवको पक्षमा धेरै मान्छेहरू थियो । बहुत बलशाली र शक्तिशाली महारथी थियो । कम शक्तिशाली पाण्डवहरू र कौरवको लडाइँ भयो । पाण्डवका महारथीहरू कम हुँदाहुँदे पनि सत्यले जित्यो । जब अर्जुनको डंकार फुट्न थाल्यो त्यतिखेर कौरवहरू सबै छियाछिया भए ।’ शान्ति, सुरक्षा, सुशासनको सवालमा नयाँ सरकारका गतिविधिले देखाइसकेको उनको भनाइ थियो ।
कृषि समितिको सभापतिमा थापाको मात्रै उम्मेदवारी
प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेस सांसद कुसुम थापामगरले उम्मेदवारी दिएकी छिन् । उम्मेदवारीका लागि तोकिएको १–४ बजेसम्मको अवधिमा थापाको मात्रै उम्मेदवारी परेको प्रतिनिधिसभा सचिव सुरेश अधिकारीले जानकारी दिए । थापाको प्रस्तावकमा कांग्रेस सांसद वीरबहादुर बलायर र समर्थकमा एमाले सांसद सूर्यप्रसाद ढकाल छन् । समिति सभापति आरजु राणा देउवा परराष्ट्रमन्त्री भएपछि कृषि समितिका लागि नयाँ सभापतिको निर्वाचन हुन लागेको हो । एक मात्र उम्मेदवारीको प्रस्ताव परेकाले समितिको मंगलबार बस्ने बैठकले थापालाई निर्विरोध सभापति निर्वाचित गर्नेछ । यसका लागि मंगलबार अपराह्न ४ः३० मा समिति बैठक बस्दै छ ।
सुर्तीजन्य पदार्थको कर बढाएर उपभोग नियन्त्रण गर्न सकिन्छ : स्वास्थ्यमन्त्री
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सुर्तीजन्य पदार्थको कर र चेतना बढाएर यसको उपभोग नियन्त्रण गर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा मौखिक प्रश्नको उत्तर दिने क्रममा उनले भने, ‘विश्व स्वास्थ्य संगठनका अनुसार सुर्तीजन्य पदार्थको खुद्रा मूल्यमा ७५ प्रतिशतको दरले कर हुनुपर्छ । तर नेपालमा यो दर कायम हुन सकेको छैन । सुर्तीजन्य पदार्थको कर बढाएर, यसको प्रचार र विज्ञापनमा नियन्त्रण गरेर, आम नागरिकलाई धुम्रपानको जोखिमबाट सुरक्षित बनाएर, प्याकेजिङ र लेबलिङमा चेतावनी सन्देश राखी जनतामा यसको चेतना बढाएर नियन्त्रण गर्न सकिन्छ ।’ मन्त्री पौडेलले सुर्तीजन्य उत्पादन नेपाल सरकारले बन्द गरेमा बजारमा सुर्तीजन्य पदार्थ हालभन्दा उच्च दरमा बिक्री हुने जोखिम रहने बताए । ‘यसबाट हुने रोगको रोकथामका लागि विश्व स्वास्थ्य संगठनले उल्लेख गरेअनुसार सुर्तीजन्य पदार्थको नियन्त्रणमा जोड दिन जरुरी देखिन्छ । यसका लागि यसको माग घटाउने सबैभन्दा प्रभावकारी विधि भनेको कर बढाउने नै हो,’ उनले भने ।