ताक्लाकोट पुगेका दार्चुलाका २७ व्यापारी अलपत्र

सोमबार, १४ साउन, २०८१
डिजिटल संस्करण
ताक्लाकोट पुगेका दार्चुलाका २७ व्यापारी अलपत्र

फाइल तस्बिर

चिनियाँ पक्षको आमन्त्रणपछि चीनको (बुराङ काउन्टी) ताक्लाकोट पुगेका दार्चुलाका व्यापारी अलपत्र परेका छन्। गत साउन ३ गते ताक्लोकाट गएका छांगरु र तिंकरका २७ व्यापारी ताक्लाकोटमा अलपत्र परेका हुन्।

ताक्लाकोट पुगेका व्यापारीहरूलाई पुरानै व्यापार व्यवसाय सञ्चालन गर्न चीनले अनुमति दिएको छैन। वर्षौैँदेखि त्यहीँ व्यापार गर्दै आएका आफूहरूलाई चिनियाँँ पक्षले पसल खोल्ने अनुमति नदिँदा अलपत्र परेको व्यापारी योगेश बोहराले बताए।

‘चार वर्षदेखि बन्द रहेको तिंकर नाका ३ साउनदेखि खुला भएको थियो। नाका खुलेलगत्तै चिनियाँ पक्षकै आमन्त्रणपछि यहाँ आएका हौँ,’ बोहराले भने, ‘तर हालसम्म हामीलाई पसल सञ्चालन गर्न दिइएको छैन। अहिले होटेलमा बसेर दिन बिताएका छौँ।’

ताक्लाकोट प्रवेश दिने, तर व्यापारको लागि ठाउँ नदिँदा आफूहरू मार्कामा परेको उनले बताए। ‘नेपालीले परम्परागत व्यापार स्थानमै व्यापार व्यवसाय सञ्चालन गर्न यहाँका सबै पक्षसँग आग्रह गरेका छौँ। नेपालमा पनि यो विषयमा जानकारी गराएका छौँ,’ उनले भने, ‘तर अहिलेसम्म सकारात्मक नतिजा कहीँबाट आएको छैन।’

अनौपचारिक आमन्त्रणपछि छाङ्गरुका १५ र तिंकरका १२ जनाको टोली ताक्लाकोट गएको थियो। कोभिडयता बन्द रहेको नाका सरकारीस्तरबाटै औपचारिक रूपमा सञ्चालन गर्ने तयारी गरिएको भए पनि चिनियाँ पक्षले तयारी नपुगेको भन्दै दुईपटक रद्द गरेको थियो। पहिलोपटक असार ११ गते र दोस्रोपटक असार २६ गते नाका औपचारिक रूपमा सञ्चालन भएको घोषणा गर्ने तयारी थियो। दुवै मितिमा नाका सरकारी स्तरबाट खुल्न नसकेपछि चीनले स्थानीयलाई अनौपचारिक रूपमा ताक्लाकोट प्रवेशको अनुमति दिएको थियो।

अहिले ताक्लाकोट पुगेको डेढ साता बढी बित्दा पनि व्यापार व्यवसाय गर्न नपाएको भन्दै व्यापारी निराश भएका छन्। ताक्लाकोटमा रहेका व्यापारीहरूले आफूलाई व्यापार गर्न नपाएको र पसल खोल्न नपाएको विषयमा जानकारी गराएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए। ‘व्यापारी मार्कामा परेको भन्ने मौखिक जानकारी प्राप्त भएको छ,’ उनले भने, ‘यो विषयमा माथिल्लो निकायमा पहल भइरहेको छ।’

यसैबीच, व्याँस गाउँपालिका–१ छांगरु र तिंकरका व्यापारीले ताक्लोकाटमा प्रवेश गर्न पाए पनि व्यापार गर्न नपाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन बुझाइएको छ। नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री गणेशसिंह ठगुन्ना नेतृत्वको टोलीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी व्यापार सञ्चालनको लागि पहल गरिदिन आग्रह गरेका हुन्।

ज्ञापनपत्रमा भनिएको छ, ‘तिंकर नाकाबाट स्थानीय ताक्लाकोट प्रवेश गरेकाे, तर त्यहाँ व्यवसाय सञ्चालन गर्न र पसल खोल्न पनि हालसम्म नपाएकाले परम्परागत रूपमा सञ्चालन गरेका पसलहरू सञ्चालनका लागि चीन सरकार र नेपालस्थित चिनियाँ राजदूतावासमा कूटनीतिक पहलको लागि निवेदन पेस गर्दछौँ।’

जिल्ला प्रशासन कार्यालय दार्चुलाले चीनको ताक्लाकोट जानका लागि १८७ जनालाई पास वितरण गरेको छ।

सुझावित समाचार