हङकङमा रहेका लमजुङेद्वारा पहिरोपीडितलाई राहत वितरण

सोमबार, १४ साउन, २०८१
डिजिटल संस्करण

लमजुङ सेवा समिति हङकङले क्व्होलासोथार र दोर्दीका पहिरोपीडितलाई राहत वितरण गरेको छ। क्व्होलासोथार गाउँपालिका– ३ बगुम र दोर्दी गाउँपालिका– ९ हिलेटक्सारमा गत असार ११ गते राति गएको बाढीपहिरोबाट पीडित परिवारलाई राहत वितरण गरिएको हो । 

लमजुङ घर भई रोजगारीको सिलसिलामा हङकङमा रहेका एक सय २७ जनाले संकलन गरी पठाएको ११ लाख २३ हजार ५४० रुपैयाँ पीडित परिवारलाई राहतस्वरूप प्रदान गरिएको लमजुङ सेवा समिति हङकङ सम्पर्क समिति लमजुङका अध्यक्ष मीना गुरुङले बताइन् । राहत रकम सम्पर्क समिति लमजुङले बेँसीसहरमा एक कार्यक्रम गरी पीडित परिवारलाई वितरण गरेको हो । लमजुङ सेवा समिति हङकङमार्फत पठाएको रकमबाट मृतक परिवार एकजनाबराबर एक लाख रुपैयाँका दरले पीडित परिवारलाई हस्तान्तरण गरिएको छ । 

बगुममा तीन घर पहिरोले बगाएको थियो । दोर्दीमा एउटा घर पहिरोको उच्च जोखिममा रहेको र क्व्होलासोंथारमा पाँच घर जोखिममा परेपछि परिवार विस्थापित भएका छन् । पहिरोबाट घर पूर्ण रूपमा क्षति भएका परिवारलाई एक–एक लाख रुपैयाँ, आंशिक क्षति भएकासहित पहिरोका कारण विस्थापित परिवारलाई ४०–४० हजार रुपैयाँ, घाइतेलाई २३–२३ हजार रुपैयाँ, जोखिमका कारण विस्थापितलाई २० हजार रुपैयाँ प्रदान गरिएको छ ।

अध्यक्ष गुरुङका अनुसार लमजुङ घर भई कामका सिलसिलामा हङकङमा रहेका एक सय २७ जनाले संकलन गरी पठाएको ११ लाख २३ हजार ५४० रुपैयाँ पीडित परिवारलाई हस्तान्तरण गरिएको हो । गत असार ११ गते रातिको पहिरोले पुरिएर क्व्होलासोंथार गाउँपालिका– ३, बगुममा चारजना र दोर्दी गाउँपालिका– ९, हिलेटक्सारमा एकजनाको निधन भएको थियो ।

पीडित परिवारलाई दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी, क्व्होलासोंथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङको रोहवरमा लमजुङ सेवा समिति हङकङ, सम्पर्क समिति लमजुङका संरक्षक जमिन्द्रमान घले, अध्यक्ष मीना गुरुङ, सचिव मेघेन्द्र पोखरेल, लमजुङ सेवा समिति हङकङका सहसचिव दिनेश गुरुङ, कार्यसमिति सदस्य पुष्पादेवी गुरुङ, पूर्वकार्यसमिति सदस्य तिलकबहादुर क्षेत्रीलगायतले राहत रकम हस्तान्तरण गरेका थिए ।
 

सुझावित समाचार