संविधान संशोधनको बहस
संविधान संशोधनको कार्यसूचीसहित सरकार बनाएका कांग्रेस र एमालेको नियतमाथि विपक्षी दलका नेताहरूले प्रश्न उठाएका छन् । संविधान संशोधनको ढोका खुला भए पनि कुन प्रयोजनका लागि भन्ने विषय महत्वपूर्ण हुने उनीहरूको भनाइ छ ।
पुष्पलालको जन्मशताब्दीका अवसरमा शनिबार राजधानीमा आयोजित प्रवचन गोष्ठीमा नेताहरूले पुष्पलालको योगदान, कम्युनिस्ट आन्दोलनको भविष्य र संविधान संशोधनको विषयमा चर्चा गरेका हुन् । नेताहरूले व्यापक बहसविना संविधान संशोधन सम्भव नभएको पनि प्रस्ट्याएका छन् ।
माओवादी अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेले जनताको अधिकार खोस्ने गरी संविधान संशोधनको विषय अघि सारेको दाबी गरे । जनताको अधिकार खोस्ने दुष्प्रयास भए सडकमा पलेँटी कसेरै भए पनि सफल हुन नदिने उनको भनाइ थियो । महिला र उत्पीडित समुदायको अधिकार बढाउने गरी संविधान संशोधनको पक्षमा आफूहरू रहेको उनले बताए ।
‘हामी संविधान संशोधन गर्नुपर्छ भन्ने पक्षमा छौँ । संविधानमा महिलाको अधिकार र अरू उत्पीडित समुदायको अधिकार अझै पुगेको छैन । उनीहरूको अधिकार अझै बढाउनुपर्छ भनेर भिन्न मत राख्ने पार्टी हुनुको नाताले हामी संविधान संशोधनको पक्षमा छौँ,’ प्रचण्डले भने, ‘तर, संविधान संशोधनको नाममा प्रतिगमनतिर जाने र नेपाली जनताले प्राप्त गरेको अधिकार खोस्ने दुुष्साहस हुँदै छ, हाम्रो त्यहाँ विरोध हो । हामी कुनै हालतमा त्यसो गर्न दिने छैनौँ । जरुरी पर्छ भने सडकमा पलेँटी कसेर भए पनि, जनताको साथमा बसेर भए पनि तिनीहरूको त्यो दुष्प्रयास सफल हुन दिने छैनौँ ।’
दुईदलीय व्यवस्था हुँदै देशलाई निरंकुशतातिर लैजाने दुष्प्रयास भइरहेको उनले दाबी गरे । ‘थ्रेसहोल्ड बढाएर साना पार्टीहरू सबैलाई निस्तेज पार्ने, तथाकथित दुई पार्टी सिस्टम जो पश्चिम देशहरूमा चल्ने गरेको छ,’ उनले भने, ‘त्यसैमा नेपाललाई पनि जबर्जस्त लान खोज्ने र त्यहीमार्फत देशलाई अधिनायकवादतर्फ लाने कोसिस भएको हुनाले नै हाम्रो विरोध हो ।’
समानुपातिक, समावेशी, संघीयता र गणतन्त्रको प्रगतिशील पक्षलाई कमजोर पार्न चाहने प्रवृत्ति कम्युनिस्ट आन्दोलनभित्रै देखा परेको उनले बताए । संविधान कुल्चिन चाहने र असंवैधानिक ढंगले संसद् विघटन गर्न चाहने प्रवृत्तिविरुद्ध संघर्ष आवश्यक भएको प्रचण्डको भनाइ छ ।
कम्युनिस्ट एकताको प्रयास गर्दा असफल भएको उनले बताए । ‘पहिलो प्रयास असफल भएपछि अहिले पनि मैले कम्युनिस्ट एकताको प्रयास अघि बढाएको थिएँ, तर सफल भएन । एमालेभित्र पनि ठूलो देशभक्तहरूको पंक्ति अझै छ,’ उनले भने, ‘कम्युनिस्ट आन्दोलनप्रति ठूलो त्याग गरेका, योगदान गरेका मानिसहरू छन् । मेरो चिन्ता त्यो पंक्तिसँग हामी सबै सच्चा कम्युनिस्ट क्रान्तिकारी भन्नेहरू कसरी जोडिने भन्नेबारे चिन्तनमनन गरिराख्नुपर्नेछ ।’
एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधान संशोधनमा व्यापक छलफल र बहस आवश्यक रहेको बताएका छन् । गुपचुप सहमति गरेर संविधान संशोधनको नाममा अर्कै खेलोमेलो हुन लागेको आशंका उनले गरे । ‘संविधान संशोधनका लागि व्यापक बहस र छलफल हुनुपर्छ । तर, यहाँ गुपचुपमा संविधान संशोधन गर्ने कार्य हुन गइरहेको छ । त्यसको आवश्यक किन पर्यो ? संविधान संशोधनको नाममा अर्कै खेलोमेलो भइरहेको त छैन ?’ नेपालले भने, ‘लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने कुनै प्रकारको षड्यन्त्र मान्य हुने छैन । जनताले सुशासन र देशलाई समृद्ध बनाउन चाहेका छन् । यसका लागि बहस आवश्यक छ ।’
एमाले अध्यक्ष केपी ओलीले नराम्रो रूपमा लिन्छन् कि भनेर कांग्रेस सभापति शेरबहादुर देउवा कार्यक्रममा नआएको नेपालले बताए । उनले भने, ‘ओलीले नराम्रो रूपमा लिन्छन् कि भनेर देउवाजी आउनुभएन । देउवाजीको शरीर ओलीतिर भए पनि मन हामीतिरै छ ।’
एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान संशोधन गर्ने कांग्रेस–एमालेको गोप्य सहमति मान्य नहुने बताए । कांग्रेस र एमालेले सत्ता स्वार्थका लागि सहमति गरेको पनि उनले दाबी गरे । ‘अहिलेसम्म यी दुईवटा पार्टीले गरेको तथाकथित सहमति खै कहाँ आयो त यो ? संसद्मा पनि ढाँटिएको छ । संसद्भित्र त्यसको हस्ताक्षर गरिएको पत्र किन प्रस्तुत गर्न सकिएन ? ती पार्टीहरूले किन गर्न सकेनन् ? किन लुकाइरहेका छन् ? खै सही गरेको सहमतिपत्र ?’
समानुपातिक प्रणालीलाई मास्ने गरी कांग्रेस–एमाले अघि बढे मेचीदेखि महाकालीबाट संग्राम सुरु गर्ने बताए । हस्ताक्षर गरेर सहमतिपत्र सार्वजनिक नगरेर प्रधानमन्त्री केपी ओलीले संसद्लाई पनि ढाँटेको उनले जिकिर गरे ।
नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले नेपालका सबै कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध गर्नुपर्ने बताए । मुलुकलाई शक्तिशाली कम्युनिस्ट पार्टी चाहिएको भन्दै गौतमले सबै कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्नुपर्ने प्रस्ताव आफूले राखेको उनले बताए ।
‘कम्युनिस्ट पार्टीहरू फुट्दै जाँदा समाजवाद निर्माण गर्न सकिँदैन । त्यसकारण सबै कम्युनिस्ट पार्टीहरू एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैैन,’ गौतमले भने, ‘केही मतभिन्नता भए बसेर हल गर्न सकिन्छ । एउटै कम्युनिस्ट पार्टी बनाएर समाजवाद निर्माण गर्नेछौँ भनेर एउटा प्रस्ताव तपाईंहरूले पारित गरिदिनुस् ।’
एमालेका नेता भीम रावलले विपरीत सिद्धान्त भएका राजनीतिक दलहरू मिलेर चुनाव लड्नु गलत भएको बताए । ‘विपरीत राजनीतिक दलका मानिसहरूलाई चुनावमा बोक्दा घोषणापत्र र संविधानको कार्यान्वयन भयो त ? म एमालेको केन्द्रीय कमिटीमा छँदाखेरी बुझाएकै देख्थेँ । तर, मैले देखे नेकपा एमाले जिन्दावाद, भोट केमा हलोमा । मैले बुझ्नै सकिनँ । नेपाली कांग्रेस जिन्दावाद, भोट केमा कलममा ? तपाईंहरू नीति र सिद्धान्त प्रधान भन्नुहुन्थ्यो, यही हो ?’ उनले प्रश्न गरे ।
कांग्रेस र एमाले राजनीतिक स्थायित्वका लागि मिलेको भन्नुको कुनै अर्थ नभएको उनले दाबी गरे । दुई वर्ष ओली र त्यसपछि देउवा प्रधानमन्त्री हुने गरी भएको भागबन्डालाई स्थिरता भन्न नमिल्ने उनको तर्क छ । उनले प्रदेशमा पनि भद्रगोल भइरहेको बताए ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कम्युनिस्ट पार्टीहरूले सत्ताका लागि जे पनि गर्ने गरेको आरोप लगाए । कम्युनिस्ट दर्शन र चिन्तन हराएपछि नेपालका कम्युनिस्ट पार्टीहरूमा अवसरवाद मात्रै बाँकी रहेको उनको दाबी थियो ।
‘कम्युनिस्ट साथीहरू नरिसाउनुहोला । अहिलेका कम्युनिस्ट पार्टीका नेताहरू हेर्छु, उहाँहरूले म नै सत्ता, भत्ता, पैसा, पद नै साम्यवाद हो भन्ने ठान्नुभएको छ । र, त्यसको दौडमा यतिसम्म गिर्छन् कि कल्पना नै गर्न सकिँदैन,’ उनले भने, ‘राजावादीसँग पनि एकता गरेकै हो । केका लागि ? सरकारका लागि । त्यो पनि दुई दिनको सरकारका लागि । राजावादीसँग पनि चलेकै छ, कांग्रेससँग पनि चलेकै छ । जोसँग पनि चलेकै छ । वैचारिक अन्योल, आदर्श र चिन्तन हराएपछि केवल अवसरवाद मात्रै बाँकी रहँदो रहेछ ।’