टाइमले आवेदन प्रक्रियामार्फत आफ्ना संवाददाता र योगदानकर्ताहरूको अन्तर्राष्ट्रिय सञ्जालबाट होटेल, क्रुज, रेस्टुरेन्ट, आकर्षक स्थल, संग्रहालय, पार्कसहित विभिन्न ठाउँहरूको नाम मागेर तय गरेको हो सूची
विश्वविख्यात अमेरिकी म्यागजिन ‘टाइम’ले सन् २०२४ मा भ्रमणका लागि छनोट गरेका अद्भुत सय गन्तव्यको सूचीमा नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज पनि परेको छ । निकुञ्जको ‘बुरहान वाइल्डरनेस क्याम्प’ टाइमले सार्वजनिक गरेको सूचीको १६औँ नम्बरमा परेको हो ।
म्यागजिनले संसारभरका सय महत्वपूर्ण होटेल, रेस्टुरेन्ट, क्रुज, म्युजियम, पार्कलगायत समेटेर ‘वर्ल्डस् ग्रेटेस्ट प्लेसेस् २०२४’ को सूची बिहीबार सार्वजनिक गरेको छ । कर्णाली नदीको दुई भंगालाबीच प्रायद्वीपमा रहेको बुरहान वाइल्डरनेस क्याम्पमा विभिन्न गतिविधि गर्न सकिन्छ । क्याम्पले आगन्तुकहरूलाई पार्कमा प्रवेश नगरी बुसवाक, क्यानो ट्रिप, एन्टी–पोचिङ युनिटसहित वन्यजन्तु ट्याकिङ र एसियाली हात्तीमा यात्रालगायतका सुविधा प्रदान गर्ने म्यागजिनले उल्लेख गरेको छ । सूक्ष्म–संरक्षण शैलीमा सञ्चालित बुरहानले जैविक पदचिह्नलाई न्यून गर्दै जनावरहरूको संरक्षणलाई प्राथमिकतामा राखेको छ ।
नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने टाइमजस्तो विख्यात म्यागजिनले नेपालको बुरहान क्याम्पलाई विश्वका सय अद्भूत गन्तव्यभित्र समेट्नु देशकै गौरवको विषय भएको बताउँछन् । ‘सम्भवतः टाइमको सूचीमा पहिलोपटक नेपाली प्रडक्ट परेको हो । यसले नेपाललाई सुपर लक्जरी डेस्टिनेसनका रूपमा प्रचार गरिदिएको छ । अहिलेसम्म नेपालमा चितवन मात्र वाइल्ड लाइफ टुरिजममा परिचित रहँदै आएको थियो । अब बर्दिया पनि वाइल्ड लाइफ ह्याभेनका रूपमा विश्वभर परिचित बनेको छ,’ उनले भने, ‘विश्वविख्यात म्यागजिनले उत्कृष्ट सूचीमा राख्दा नेपालको सित्तैमा विश्वव्यापी प्रचार भएको छ । यसले पर्यटन क्षेत्रमा स्वदेशी तथा विदेशी लगानीको सम्भावना पनि उजागर गरिदियो ।’
संरक्षणविद् मनोज गौतम र उनकी दिदी प्रभा गौतमले वास्तविक रूपमा पुनर्प्रयोगमुखी संरक्षणलाई बढावा दिन ‘बुरहान वाइल्डरनेस क्याम्प’ स्थापना गरेका हुन् । यसले स्थानीय बासिन्दालाई बढीभन्दा बढी लाभ प्रदान गर्नुका साथै स्थानीय प्रकृति र संस्कृतिलाई संरक्षण गर्न पनि मद्दत गरेको छ । क्याम्पले स्थानीय र जैविक खाना प्रदान गर्छ । यसले रोजगारीको माध्यमबाट आदिवासी थारू संस्कृतिलाई पनि टेवा दिएको म्यागजिनले जनाएको छ ।
गत वर्ष बुरहानमा पाँच सयभन्दा बढी पाहुनाहरूलाई स्वागत गरिएको थियो । बुरहानले स्थानीय होमस्टे र रेस्टुरेन्टहरूलाई सघाएको छ । यसले स्थानीय युवाहरूलाई उद्धार र गाइडसम्बन्धी तालिम तथा रोजगार प्रदान गर्छ । उक्त वन्यजन्तु संरक्षण क्षेत्रमा जंगली हात्ती, एकसिंगे गैँडा, बंगाली बाघलगायतका जनावर तथा विभिन्न प्रजातिका चरा पाइन्छन् ।
टाइमको विश्वका उत्कृष्ट स्थानहरूको वार्षिक सूचीले नयाँ र रोमाञ्चक अनुभव प्रदान गर्नेतर्फ मनन गर्दै विश्वभर बस्न र घुम्नका लागि सय उत्कृष्ट स्थानहरूलाई सार्वजनिक गर्दै आएको छ । २०२४ को सूची तय गर्न टाइमले आफ्ना संवाददाता र योगदानकर्ताहरूको अन्तर्राष्ट्रिय सञ्जालबाट सहयोग प्राप्त गरेको थियो । म्यागजिनले आवेदन प्रक्रियामार्फत होटेल, क्रुज, रेस्टुरेन्ट, आकर्षणस्थल, संग्रहालय, पार्कसहित विभिन्न ठाउँहरूको नामांकन मागेको थियो ।
नेपाललाई ‘सुपर लक्जरी डेस्टिनेसन’का रूपमा प्रचार गरिदियो : मणिराज लामिछाने निर्देशक, नेपाल पर्यटन बोर्ड टाइमजस्तो विख्यात
म्यागेजिनले नेपालको बुरहान क्याम्पलाई विश्वका १०० अद्भुत गन्तव्यभित्र समेट्नु देशकै गौरवको विषय हो । सम्भवतः टाइमको सूचीमा पहिलोपटक नेपाली प्रडक्ट परेको हो । यसले नेपाललाई सुपर लक्जरी डेस्टिनेसनका रूपमा प्रचार गरिदिएको छ । अहिलेसम्म नेपालमा चितवन मात्र वाइल्ड लाइफ टुरिजममा परिचित रहँदै आएको थियो । अब बर्दिया पनि वाइल्ड लाइफ ह्याभेनका रूपमा विश्वभर परिचित बनेको छ । विख्यात म्यागेजिनले उत्कृष्ट सूचीमा राख्दा नेपालको सित्तैमा विश्वव्यापी प्रचार भएको छ । यसले पर्यटन क्षेत्रमा स्वदेशी तथा विदेशी लगानीको सम्भवना पनि उजागर गरिदियो ।