लुम्बिनीमा मुख्यमन्त्रीका लागि एमालेका आचार्यको दाबी पेस

सोमबार, ७ साउन, २०८१
डिजिटल संस्करण

लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि एमालेका चेतनारायण आचार्यले दाबी पेस गरेका छन्। १ बजे दाबी पेस गर्ने तयारी गरिए पनि झन्डै तीन घण्टा  ढिला गरी प्रदेश प्रमुख अमिक शेरचनसमक्ष आचार्यले दाबी पेस गरेका हुन्।

दाबी पेस गर्न आचार्य अबको सत्तासहयात्री दल कांग्रेसका प्रदेश संसदीय दलका नेता डिल्ली चौधरीसहित एमाले र कांग्रेसका प्रदेश सभा सदस्यहरूलाई साथमा लिएर प्रदेश प्रमुखको कार्यालय पुगेका थिए।

कांग्रेस–एमालेको नयाँ गठबन्धनबाट एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने गरी आइतबार तयारी भएको थियो। सोहीअनुसार दाबी पेसका लागि हस्ताक्षर संकलन भए पनि सोमबार एकाएक आचार्यको नाम अघि सारिएको हो।

दलका उपनेता रहेका आचार्य यसअघिका प्रदेश सरकारमा तीनपटक  सरकारमा सहभागी भइसकेका छन्।

गिरीले मुख्यमन्त्री नपाएपछि उनी पक्ष भने असन्तुष्ट बनेको छ। पार्टी केन्द्रले हस्तक्षेप गरेको भन्दै गिरी पक्ष असन्तुष्ट देखिएको हो। गिरी एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलनिकट मानिन्छन् भने आचार्य महासचिव शंकर पोखरेलनिकट नेताका रूपमा चिनिन्छन्।

पोखरेल पक्षले पूर्वसहमतिअनुसार नै आचार्यलाई मुख्यमन्त्रीमा अगाडि सारिएको तर्क गरेको छ।

एमालेबाट प्रदेश सभामा निर्वाचित भूमिश्वर ढकाल लुम्बिनीमा सुरुदेखि नै चारजनाले मुख्यमन्त्रीको दाबी गरेको बताउँछन्। उनका अनुसार गिरी र आचार्यसँगै भोजप्रसाद श्रेष्ठ र ढकाल स्वयंको दाबी थियो।

तर, पार्टी केन्द्रीय नेताहरुले ढकाल र श्रेष्ठलाई नबोलाई गिरि र आचार्यलाई मात्र राखेर छलफल गरेको र पहिलो चरणमा गिरि र पछि आचार्य मुख्यमन्त्री हुने सहमतिअनुसार नै अहिले आचार्यलाई पार्टीले अघि सारेको बताइएको छ।

सुझावित समाचार