हिउँदे अधिवेशनसम्म विद्यालय शिक्षा विधेयक टुंग्याउने तयारी

बुधबार, २ साउन, २०८१
डिजिटल संस्करण

विद्यालय शिक्षा विधेयकमाथिको छलफल संसद्को हिउँदे अधिवेशनसम्म लम्बिने भएको छ । हाल संसद्को शिक्षा, स्वास्थ्य तथा विज्ञान प्रविधि समितिमा छलफलकै क्रममा रहेको विधेयकमा सयौँ संशोधन परेको छ । ती संशोधन समाधान र छलफल गर्न धेरै समय लाग्ने भन्दै समितिका सभापति अम्मरबहादुर थापाले हिउँदे अधिवेशनसम्म लम्बिने बताए । ‘यो विधेयक निकै जटिल छ, धेरै छलफल गर्नुपर्छ । धेरै सांसदले संशोधन हाल्नुभएको छ,’ उनले भने, ‘सम्भवतः यो हिउँदे अधिवेशनसम्म छलफल लम्बिनेछ ।’ 

पछिल्लो समय समितिले विधेयकमाथि छलफल चलाउन छाडेको थियो । तर, बुधबारदेखि पुनः छलफल चलाइने सभापति थापाले बताए । हालसम्म यो विधेयकमा १५२ जनाले एक हजार ७८२ दफामा संशोधन प्रस्ताव राखेका छन् । तर, यी संशोधन प्रस्तावमा छलफल गर्दा निकै धेरै समय लाग्ने समितिको ठम्याइ छ । ‘अब समितिको ध्यान विद्यालय शिक्षा विधेयकतर्फ छ, यो विधेयक नटुंगिएरसम्म अन्य कुरामा ध्यान दिन्नँ,’ उनले भने, ‘गम्भीर रूपमा छलफल गर्ने हो भने हिउँदे अधिवेशसम्म यो सकिन सक्छ ।’ 

थापाका अनुसार ज–जसले संशोधन हालेका छन्, उनीहरूको थप धारणा लिइनेछ । विज्ञ र प्रदेश तहमा अझै एक चरण छलफल चलाइनेछ । दफावार छलफल भएपछि समितिको करिब १० वटा बैठकमा छलफल गरिनेछ । त्यसपछि समितिको सभापतिले संसद्मा टेबुल गर्नेछन् । संसद्मा पुगेपछि सांसदहरूले धारणा राख्नेछन् । त्यसपछि शिक्षामन्त्रीले जवाफ दिनेछन् । जवाफ दिएपछि विधेयकले पूर्णता पाउनेछ । 

बुधबार हुने छलफलका लागि ३५ जना सांसदहरूलाई बोलाइएको छ । यसअघि अन्य विधेयकमा छलफल भएकाले शिक्षा विधेयकमा छलफल गर्न नसकिएको आयोगले जनाएको छ । पाँच महिनायता यस विधेयकमा छलफल नै भएको छैन । अब भने शिक्षा विधेयकलाई निचोड दिने गरी छलफल चलाइने समितिले जनाएको छ । विद्यालय शिक्षा विधेयक २७ भदौ ०८० मा संसद्मा दर्ता भएको थियो । विधेयकमा १५२ जना सांसदले संशोधन हालेका छन् । सो विधेयकलाई थप मूर्तता दिन दफावार छलफलका लागि समितिमा पठाइएको थियो । तर, समितिले पनि प्रभावकारी रूपमा काम नगर्दा विद्यालय शिक्षा विधेयक ओझेलमा परेको छ । 

सुझावित समाचार