ताप्लेजुङ गोल्डकप भदौ ३ देखि

मंगलबार, १ साउन, २०८१
डिजिटल संस्करण

‘ताप्लेजुङ गोल्डकप’ फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी भदौ ३ गतेदेखि सुरु हुने भएको छ। लाखेजात्राको अवसरमा खेलाइने गोल्डकपको दोस्रो संस्करण भदौ ३ देखि १० गतेसम्म हुने भएको हो।

फुङलिङस्थित भानुजन माविको खेलमैदानमा हुने प्रतियोगिताको पुरस्कार राशिसमेत बढाइने आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले बताए।

यसअघि ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताका विजेताले तीन लाख ११ हजार १११ र उपविजेताले १ एक लाख ११ हजार १११ रुपैयाँ पुरस्कार पाउँदै आएका थिए। यस वर्षदेखि पुरस्कार राशि आम्दानी हेरेर प्रथमलाई पाँच लाखसम्म बनाउने योजना रहेको उनले बताए।

यद्यपि, आम्दानीको हिसाब हेरेर कति वृद्धि गर्न सकिन्छ छलफल गरी जति सक्दो धेरै बनाउने गरी गृहकार्य भइरहेको अध्यक्ष गुरुङले जानकारी दिए। प्रतियोगितालाई विशिष्ट बनाउन नेपालका नाम चलेका ‘ए’ डिभिजन क्लबहरूलाई निमन्त्रण गर्ने निर्णय गरिएको पनि उनले बताए।

लाखेजात्राको अवसरमा विभिन्न नामबाट २०२० सालदेखि फुटबलको आयोजना गरिँदै आएको बताइन्छ। तर, गत वर्षदेखि यसलाई ताप्लेजुङ गोल्डकपको नामबाट अयोजना गर्न थालिएको हो। पूर्वी पहाडी जिल्लाहरूमा आयोजित फुटबल प्रतियोगितामा सबैभन्दा बढी दर्शक उपस्थित हुने प्रतियोगिताको रूपमा चिनिँदै आएको छ।
 

सुझावित समाचार