मनसुनजन्य विपत्बाट ११ करोड ४८ लाख ७६ हजारबराबरको आर्थिक क्षति भएको आकलन, बाढी–पहिरोले ४१ वटा पुलमा क्षति
गत २८ जेठमा मनसुन सुरुयता बाढी, पहिरो र चट्याङमा १०३ जनाले ज्यान गुमाइसकेका छन् । सबैभन्दा धेरै पहिरोमा परेर ५२, बाढीले २८ र चट्याङमा परी २३ जनाको ज्यान गएको गृह मन्त्रालयको तथ्यांक छ ।
एक महिनाको अवधिमा विपत्मा परी ११३ जना घाइते भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार बिहान त्रिशूलीमा दुई बसका यात्रुबाहेक अन्य घटनामा ६ जना बेपत्ता भएका छन् ।
यो अवधिमा तीन हजार चार सय ७३ परिवार विस्थापित भएको केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी दानबहादुर कार्कीले बताए । त्यस्तै, ११ करोड ४८ लाख ७६ हजारबराबरको आर्थिक क्षति भएको आकलन गरिएको छ । बाढी–पहिरोले ४१ वटा पुलमा क्षति पुगेको छ ।
सबैभन्दा ठूलो मानवीय क्षति गण्डकीमा भएको छ, जहाँ ३८ जनाले ज्यान गुमाएका छन् । लुम्बिनीमा २३, कोशीमा १९, सुदूरपश्चिममा सात, बागमतीमा ६, मधेशमा पाँच र कर्णालीमा चारजनाले ज्यान गुमाएका छन् । त्यस्तै, काठमाडौं उपत्यकामा पहिरोमा परी एकजनाको मृत्यु भएको छ ।