दिवंगत नाभाल्नीकी श्रीमती युलियाविरुद्ध गिरफ्तारीको आदेश

बिहिबार, २७ असार, २०८१
डिजिटल संस्करण

रुसको एक अदालतले दिवंगत विपक्षी राजनीतिज्ञ अलेक्सी नाभाल्नीकी पत्नी युलिया नाभाल्न्याविरुद्ध पक्राउ आदेश दिएको युलियाका प्रवक्ताले बताएका छन् ।

राजधानी मस्कोस्थित बासमनी जिल्ला अदालतले नाभाल्न्यालाई ‘चरमपन्थी संगठनमा संलग्न भएको’ आरोप लगाएको प्रवक्ता किरा यर्मिसले सामाजिक सञ्जालमार्फत जानकारी दिए । नाभाल्न्याको नाम कालोसूचीमा समावेश गरिएको रुसी सञ्चारमाध्यम आरआइए नोभोस्तीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।

अदालतले नाभाल्न्यालाई पक्राउ गरेर हिरासतमा राख्न रुसको अनुसन्धान समितिको अनुरोधलाई स्वीकृति प्रदान गरेको छ । यद्यपि, नाभाल्न्या भने अहिले रुसबाहिर बस्दै आएकी छिन् । 

युलियाका श्रीमान् दिवंगत नाभाल्नीलाई चरमपन्थी समुदायलाई उक्साएको तथा त्यस्ता समूहलाई आर्थिक सहयोग दिएकोजस्ता विभिन्न अपराधमा १९ वर्षको सजाय दिइएको थियो । यस क्रममा साइबेरियाको जेलमा कारावास भोगिरहेको समयमा नाभाल्नीको गत फेब्रुअरी १६ मा मृत्यु भयो ।

नाभाल्नीले जीवित रहुन्जेल आफूमाथिका आरोपको खण्डन गर्दै ती सबै राजनीतिक प्रतिशोधले प्रेरित भएको भनिरहे । राजनीतिक जीवनको अधिकांश समय रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गरेका नाभाल्नीको मृत्यु मार्च १५ को रुसी राष्ट्रपतीय चुनावको केही हप्ताअघि मात्र भएको थियो । 

See More On

सुझावित समाचार