मेसी र यमालको त्यो १६ वर्ष पुरानो फोटो

बिहिबार, २७ असार, २०८१
डिजिटल संस्करण

अन्तर्राष्ट्रिय मिडियामा बुधबार एउटा फोटो खुब भाइरल बन्यो । फेरि त्यो फोटो १६ वर्ष पुरानो थियो । जुन फोटोमा अर्जेन्टिनी कप्तान लियोनल मेसीले ६ महिनाका बालकलाई नुहाउँदै गरेको र बोकिरहेका छन् । ती ६ महिने बालक अहिले जर्मनीमा चलिरहेको युरो २०२४ च्याम्पियनसिपमा स्टार खेलाडीका रूपमा अगाडि छन् । उनकै गोलमा स्पेनले १२ वर्षपछि फाइनल पुग्ने आधारसमेत निर्माण भयो । 

फ्रान्सविरुद्ध १–१ को बराबरी गोल फर्काउने लामिन यमाल हुन् । मेसीले यिनै यमाललाई ६ महिना हुँदा बोकेका थिए । यमाललाई बोक्दा मेसी पनि २० वर्षका थिए । उनी त्यसवेला बार्सिलोनाबाट खेलिरहेका थिए । युरो २०२४ को पहिलो सेमिफाइनलपछि भाइरल बनेको फोटो २००७ मा फोटोग्राफर जोवान मनफर्टले लिएका थिए । फोटोग्राफर जोवानले व्यावसायिक प्रायोजनका लागि नभएर च्यारिटी रकम संकलन गर्न मेसीले यमाललाई बोकेको र नुहाइराखेको फोटो सुट गराएका थिए । त्यो क्यालेन्डरका लागि खिचिएको फोटो बिक्रीबाट प्राप्त हुने रकम च्यारिटीमा जाने थियो ।

फोटोग्राफर जोवानले बार्सिलोनाका उदीयमान खेलाडीका रूपमा मेसीलाई रोजेका थिए । एक फोटोग्राफरका लागि स्टार खेलाडीको फोटो सुट गर्ने सामान्य प्रक्रिया थियो । तर, बुधबार विभिन्न अन्तर्राष्ट्रिय मिडियामा यमाललाई मेसीले काखमा बोकेको छ्यापछ्यापी देखेपछि जोवानले १६ वर्षअघि आफूले गरेको काम सम्झिए । उनी सामान्य फोटो सम्झेर राखेको फोटो खोज्नेतिर लागे । 

यमाललाई काखमा लिँदा लजाएका मेसी
जारी युरो २०२४ च्याम्पियनसिपमा स्पेनिस राष्ट्रिय टोलीबाट तहल्का मच्चाइरहेका यमालकै प्रेरणामा उनको टोली फाइनल पुगेको हो । उनले प्रतियोगितामा एक गोल र तीन असिस्ट गरेका छन् । प्रत्येक खेलमा चम्किरहेका यमालको फोटो हेर्दै फोटोग्राफर जोवानले भने, ‘यो कुरा थाहा पाएपछि निकै खुसी लाग्यो, सेमिफाइनलमा गोल गरेको देख्दा लाग्छ, अहिले मैले लिएको यमाल र मेसीका तस्बिर विश्वभर हेरिएको छ,’ उनले भने । 

बेलायती मिडियासँग अन्तर्वार्ता दिँदा फोटोग्राफर जोवानले मेसी त्यसवेला निकै लजाएका खुलासा गरेका छन् । उनी भन्छन्, ‘जब मेसीले फुच्चे बालक यमाललाई काखमा लिएका थिए, त्यसवेला लजाएका थिए, ६ महिनाको बच्चासँग घुलमिल हुन उनलाई समय लागेको थियो ।’ मेसीले एक फोटोमा प्लास्टिकको बकेटमा राखेर यमाललाई नुहाइरहेका छन् । अर्को तस्बिरमा उनले यमाललाई काखमा लिइरहेका छन् । यमाल मेसीलाई आफ्नो आदर्श मान्छन् । 

See More On

सुझावित समाचार