सिटिजन्स बैंक इन्टरनेसनलले आफ्ना सातै प्रदेशका कार्यालयमा लर्निङ सेन्टर सञ्चालनमा ल्याएको छ । बैंकले कोशीको विराटनगर, मधेशको जनकपुर, बागमतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा एकसाथ लर्निङ सेन्टर सञ्चालनमा ल्याएको हो ।
बैंकका सञ्चालक समिति अध्यक्ष प्रबलजंग पाण्डेले भर्चुअल रूपमा लर्निङ सेन्टरहरूको उद्घाटन गरे । समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले लर्निङ सेन्टरमा कार्यक्रम सञ्चालन गर्न सहज हुने र सञ्चालन भएका कार्यक्रमले कर्मचारीको व्यक्तित्व र क्षमता विकासमा मद्दत पु¥याउने विश्वास व्यक्त गरे । यस सेन्टरबाट कोशीमा ५७, मधेशमा ७७, बागमतीमा ८०, गण्डकीमा ३३, लुम्बिनीमा ५६, कर्णालीमा २८ र सुदूरपश्चिममा ३४ गरी एकैपल्ट तीन सय ६५ जनाले कार्यक्रममा सहभागिता जनाउन सक्ने बताइएको छ ।
सेन्टर उद्घाटनकै दिन सातवटै सेन्टरबाट एक सय ३० कर्मचारीले प्रशिक्षणसमेत लिएका छन् । लर्निङ सेन्टर स्थापनाले कर्मचारीको कार्य सम्पादन गर्ने क्षमता अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । कर्मचारीलाई तालिम प्रदान गर्न, प्रादेशिक स्तरका कार्यक्रम सञ्चालन गर्न, विभिन्न किसिमका बैठक तथा गोष्ठी सञ्चालन गर्न बैंकले लर्निङ सेन्टरको स्थापना गरेको जनाएको छ ।