गौतम गम्भीर बने भारतका मुख्य प्रशिक्षक

बुधबार, २७ असार, २०८१
डिजिटल संस्करण

दुईपटकका विश्वकप विजेता र दुवैपटक आइपिएल जितेका गौतम गम्भीरले मुख्य प्रशिक्षकका रूपमा तीन वर्ष भारतीय क्रिकेट टोलीलाई सम्हाल्ने

प्रशिक्षण त्यति धेरै अनुभव भएका पूर्वक्रिकेटर गौतम गम्भीर भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षक बनेका छन् । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)का सचिव जय शाहले मंगलबार सोयल मिडियाबाट गम्भीरलाई मुख्य प्रशिक्षक बनाएको जानकारी दिएका छन् । ४२ वर्षीय गम्भीरले तीन वर्षसम्म एकदिवसीय, टेस्ट तथा टी–२० का मुख्य प्रशिक्षकका रूपमा जिम्मेवारी सम्हाल्नेछन् । भारतले गत साता आइसिसी टी–२० विश्वकप जितेपछि मुख्य प्रशिक्षक राहुल द्रविडको कार्यकाल सकिएको थियो । भिभिएस लक्ष्मणले मुख्य प्रशिक्षकमा चासो नदेखाएपछि गम्भीरले जिम्मेवारी पाएका हुन् । 

द्रविडको कार्यकाल सकिएको एक सातापछि नै बिसिसिआईले नयाँ मुख्य प्रशिक्षक चयन गरेको हो । गम्भीरले डेढ महिनाअगाडि मेन्टरका रूपमा इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को उपाधि कोलकाता नाइट राइडर्सलाइ दिलाएका थिए । 

यसैगरी, उनले मेन्टरकै रूपमा लखनउ सुपर जायन्ट्सलाई दुईपटक आइपिएलको प्ले–अफसम्म पुर्याएका थिए ।

दुई विश्वकप र दुई आइपिएल विजेता
खेलाडीका रूपमा गम्भीर भारतकै सफल क्रिकेटरका रूपमा पर्छन् । उनी भारतको एकदिवसीय तथा टी–२० विश्वकप विजेता खेलाडी हुन् । महेन्द्रसिंह धोनीको कप्तानीमा भारतले सन् २००७ मा आइसिसी टी–२० विश्वकपको पहिलो संस्करण जित्दा गम्भीर ओपनर थिए । सन् २०११ मा घरेलु भूमिमा भारत एकदिवसीय विश्वकप च्याम्पियन हुँदा पनि उनी नै ओपनरका रुपमा थिए । यसैगरी, सन् २०११ र २०१७ मा कोलकाताले आइपिएल उपाधि जित्दा गम्भीर नै कप्तान बनेका थिए । उनको कप्तानीमा कोलकाताले पाँचपटक आइपिएलको प्ले अफ स्थान बनाएको थियो । आइपिएलमा खेलाडीका रूपमा मात्र उनले २०१२ र २०१४ उपाधि हात पारेका थिए । गम्भीरले राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक बन्नु नै ठूलो सम्मान भएको बताएका छन् । ‘भारतीय टोलीको प्रशिक्षक हुन कसलाई मन लाग्दैन,’ उनले भने, ‘योभन्दा ठूलो सम्मान अरू हुन सक्दैन । एक अर्ब ४० करोड जनताको प्रतिनिधित्व गर्दै देशका खेलाडी खेल्दा फरक अनुभव हुन्छ ।’ 

द्रविडले बनाए विश्व च्याम्पियन
पूर्वकप्तान राहुल द्रविडको प्रशिक्षणमा भारतले एक साताअघि टी–२० विश्वकप जितेको थियो । उनकै प्रशिक्षणमा भारत गत वर्ष एकदिवसीय विश्वकपको फाइनलमा पुगेको थियो । भारत फाइनलमा अस्ट्रेलियासँग एकपक्षीय खेलमा पराजित भएको थियो । द्रविडको प्रशिक्षणमा भारत सन् २०२२ को टी–२० विश्वकपको समूह चरणबाटै बाहिरिएको थियो । सन् २०२३ को एकदिवसीय विश्वकपको फाइनलमा भारत पुगेपछि द्रविडलाई टी–२० विश्वकपसम्म मुख्य प्रशिक्षकको जिम्मेवारी बिसिसिआईले दिएको थियो । उनकै प्रशिक्षणमा भारतले सन् २०२३ को एसिया कप जितेको थियो । द्रविडअघि भारतका पूर्वखेलाडी रवि शास्त्रीले टोली सम्हालेका थिए । 

सुझावित समाचार