निजी अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गर्न समय थप

बिहिबार, २० असार, २०८१
डिजिटल संस्करण

आफ्नै फार्मेसी सञ्चालन गर्न काठमाडौं महानगरपालिकाले दिएको १५ दिन अपुग भएको गुनासो गरेपछि यहाँ निजी तथा सरकारी अस्पतालले थप समय पाउने भएका छन् । महानगरले २३ जेठमा १५ दिनभित्र आफ्नै फार्मेसी सञ्चालन गर्न अस्पताललाई निर्देशन दिएको थियो । उक्त समयसीमा ५ असारमै सकिएको छ ।  

महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख सजिना महर्जनले यसअघि दिएको समयसीभित्र कतिपय अस्पतालले फार्मेसी सञ्चालन गर्न समय नपुगेको भनेकाले समय थप गर्न थालेको बताइन् । महानगरले गत २३ जेठमा आफूमातहतका ५२ वटा निजी अस्पताललाई आफ्नै फार्मेसी सञ्चालनका लागि निर्देशन दिएको थियो । उक्त निर्देशनको पालना गरी अहिलेसम्म कुनै पनि अस्पताल महानगरको स्वास्थ्य विभागमा नआएको विभागका निमित्त प्रमुख महर्जनले जानकारी दिइन् ।

उनका अनुसार केही अस्पतालले भने आफ्नै फर्मेसी सञ्चालनका लागि महानगरले दिएको समय अपुग भएको भन्दै आगामी साउनदेखि सुरु गर्ने जानकारी गराएका छन् । ‘अस्पतालहरूले समय कम भएको जानकारी गराएकाले थप समय दिँदै छौँ, तर आफ्नै अस्पतालजसरी पनि सञ्चालन गर्नुपर्छ,’ महर्जनले भनिन्, ‘यसमा संघीय सरकारले पनि चासो दिनुपर्ने हो ।’ 

उनका अनुसार महानगरभित्र आठवटा सरकारी अस्पताल छन् । सरकारी अस्पतालमध्ये कतिपयले आफ्नै फार्मेसी चलाए पनि पुग्दो मात्रामा औषधि नराखेका कारण महानगरले त्यसबारे ध्यानाकर्षण गराएको छ । अस्पताल सेवा निर्देशिका, ०७८ अनुसार सबै अस्पतालका आफ्नै फार्मेसी हुनुपर्छ । अस्पतालले नै फार्मेसी सञ्चालन गर्दा बिरामीलाई उचित मूल्यमा सही औषधि प्राप्त गर्न र विपन्न नागरिकलाई सुपथ मूल्यमा औषधि खरिद गर्न पाउने अधिकार पनि कार्यान्वयनमा सहज हुने महानगरको भनाइ छ ।

५२ अस्पतालमध्ये १५ अस्पतालले मात्रै आफ्नो फार्मेसी सञ्चालन गरेका छन् । त्यसैगरी, अस्पताल एक व्यक्तिका नाममा र फार्मेसी अर्को व्यक्तिका नाममा सञ्चालन भएका अस्पतालको संख्या २८ छ । अन्य बाँकीले फार्मेसी नै सञ्चालन गरेका छैनन् । अस्पतालहरूले अन्य व्यक्तिलाई औषधि पसल सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ता गुणस्तरीय फार्मेसी सेवाबाट वञ्चित भइरहेको भन्दै महानगरले सम्बन्धित अस्पताललाई नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको हो । महानगरले ०७४ सालमा सर्वोच्च अदालतले अस्पताललाई आफ्नो स्वामित्वमा अनिवार्य रूपमा फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने भनेर गरेको आदेशको पनि स्मरण गराएको छ ।

सुलभ फार्मेसीमा राख्ने औषधिको सूची तयार

महानगरपालिकाले गत वर्ष नै सञ्चालन गर्ने भनेको सुलभ फार्मेसी सञ्चालनको तयारी बल्ल सुरु गरेको छ । यसअघि कानुन नै नबनेका कारण फार्मेसी सञ्चालन गर्न कठिन भएको स्वास्थ्य विभाग प्रमुख महर्जनले बताइन् । उनका अनुसार कार्यविधि पास भइसकेको छ भने अब रातो बुक आउन बाँकी छ । बुक तयार भएपछि फार्मेसी सञ्चालनका लागि टेन्डर प्रक्रिया अघि बढाइनेछ । महानगरले आफ्नो फार्मेसीमा के–के औषधि राख्ने भनेर सूची तयार गरिसकेको छ । सुलभ फार्मेसी सञ्चालन गरेपछि बिरामीले अन्तभन्दा सस्तोमा औषधि पाउनेछन् ।

सुझावित समाचार