काठमाडौंको भूमिगत वितरण प्रणालीको अनलाइनबाटै नियन्त्रण
नेपाल विद्युत् प्राधिकरणको डाटा सेन्टरले प्राधिकरणका सबै तथ्यांक एकीकृत रूपमा भण्डारण गर्न सहयोग पुग्ने भएको छ । हाल प्राधिकरणका विभिन्न तथ्यांक फरक–फरक शाखा, विभाग र प्रणालीमा भण्डारण भइरहेका छन् । तर, अब सबै तथ्यांकलाई एकीकृत रूपमा डाटा सेन्टरमा भण्डारण गरिने प्राधिकरणले जानकारी दिएको छ ।
३० जेठदेखि सञ्चालनमा आएको डाटा सेन्टरलाई शुक्रबार उद्घाटन गरिएको छ । यो ‘प्रि–फेब्रिकेटेड कन्टेनर’ प्रयोग गरी काठमाडौंको स्युचाटारस्थित भारप्रेषण केन्द्रसँगै निर्माण गरिएको छ । भविष्यमा व्यावसायिक कम्पनीलाई समेत सेवा उपलब्ध गराउन सकिनेछ ।
यो डाटा सेन्टर ‘टियर–३’ अन्तर्राष्ट्रिय मापदण्डलाई पालना गरी बनाइएको छ । यो मोडेलमा बनाइयो, यो डाटा सेन्टर नेपालकै पहिलो हो । स्थानीय तथा देशको विद्युत् प्रणालीमै समस्या आई विद्युत् आपूर्ति बन्द भएमा डाटा सेन्टरलाई सुरक्षित रूपमा सञ्चालन गर्न एक मेगावाट क्षमताका दुईवटा जेनेरेटर तयारी हालतमा राखिएको छ । मर्मत–सम्भार तथा उपकरण प्रतिस्थापन गर्दा सेन्टरलाई बन्द गर्नुपर्दैन । प्राधिकरणको रत्नपार्कमा रहेको प्रधान कार्यालय र डाटा सेन्टरलाई जोड्न वैकल्पिक मार्गसहितको अप्टिकल फाइबर जडान गरिएको छ । डाटा सेन्टरलाई २४ घण्टा सञ्चालन गरिनेछ ।
यसबाट काठमाडौं उपत्यकाका निर्माणाधीन भूमिगत वितरण प्रणालीलाई अनुगमन, नियमन र नियन्त्रण गर्न पनि सकिनेछ । साथै, ११ केभीभन्दा मुनिको ग्राहकको घरसम्म पुग्ने विद्युत् वितरण प्रणालीको व्यवस्थापन, अनुगमन र नियन्त्रण गर्न सकिनेछ । डाटा सेन्टरपरिसरमा तीनवटा विद्युतीय गाडी एकैपल्ट चार्ज गर्न मिल्ने गरी चार्जिङ स्टेसन पनि सञ्चालनमा ल्याइएको छ । नर्वे सरकारको प्राविधिक सहयोग तथा एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा यो निर्माण गरिएको हो ।