१५ असारमा देउवा बालकोटमा, भेटवार्ता अर्थपूर्ण

शनिबार दिउँसो सभापति देउवाले ओलीनिवास बालकोटमा पुगेर ओलीसँग तीन घण्टा छलफल गरे

आइतबार, १६ असार, २०८१
डिजिटल संस्करण

सरकारका कामकारबाहीलाई लिएर एमाले अध्यक्ष ओलीको समेत असन्तुष्टि आएका वेला उनी र विपक्षी दलका नेता देउवाबीचको भेटवार्ता अर्थपूर्ण

प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच राष्ट्रिय मुद्दामा सहकार्यबारे छलफल भएको छ । शनिबार दिउँसो सभापति देउवाले ओलीनिवास बालकोटमा पुगेर ओलीसँग तीन घण्टा छलफल गरेका छन् । 

सरकारका कामकारबाहीलाई लिएर एमाले अध्यक्ष ओलीको समेत असन्तुष्टि आएका वेला उनी र विपक्षी दलका नेता देउवाबीचको भेटवार्ता अर्थपूर्ण छ । स्रोतका अनुसार भेटमा सत्ता सहकार्यको सम्भावनालगायत विषयमा दुई नेताबीच करिब तीन घण्टा छलफल भएका थियो । ‘सभापतिज्यूले घरमै गएर ओलीजीलाई भेटेपछि किन भेट्छन् भन्ने यसै अनुमानको विषय हो,’ स्रोतले भन्यो । 

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेताद्वयबीच भेट भएको पुष्टि गरे । उनले भेटको विषयवस्तुबारे अनभिज्ञता जनाए । ‘उहाँहरूबीच भेट भएको हो । छलफलका विषयमा भने जानकारी पाउन सकेको छैन,’ उनले नयाँ पत्रिकासँग भने । अर्का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सामान्य राजनीतिक भेट मात्र भएको जिकिर गरे । ‘नेताहरूबीच भेट्नै नहुने भन्ने हुँदैन । हरेक भेटलाई शंकाका रूपमा हेरिनुहुँदैन । उहाँहरूबीचको भेट राजनीतिक हिसाबले सामान्य हो,’ उनले नयाँ पत्रिकासँग भने । बालकोटनिकट स्रोतका अनुसार भेटमा अध्यक्ष ओलीले सरकारको कामकाबाहीको विषयमा असन्तुष्टि व्यक्त गरेका थिए ।

दिउँसो २ बजे बालकोट पुगेका देउवा र ओलीबीच साँझ ५ बजेसम्म छलफल भएको थियो । देउवाले राष्ट्रिय महत्वका विषयमा छलफलका लागि दोस्रो तहका नेतालाई अगाडि बढाउने गरेका छन् । बिरलै नेताहरूको घर पुग्ने देउवा बालकोट पुगेर अध्यक्ष ओलीसँग भेट गर्नुलाई राष्ट्रिय राजनीतिमा महत्वका रूपमा हेरिएको छ ।

सभापति देउवाले पछिल्लो समय पनि एमालेसँग सत्ता सहकार्यको सम्भावनाका विषयमा दोस्रो तहका नेताहरूमार्फत संवाद गरिरहेको स्रोतको दाबी छ । पछिल्लो समय उपसभापति पूर्णबहादुर खड्का र सचेतक रमेश लेखकलगायतलाई लागि अघि सारेका छन् ।

देउवाको साथमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी पत्नी आरजु राणा देउवासमेत थिइन् । पछिल्लो समय बजेटमा असन्तुष्ट देखिएको सत्तागठबन्धनको पहिलो दल एमाले र कांग्रेस सभापतिको भेटले राष्ट्रिय राजनीति तरंगित बनाएको छ । कांग्रेस प्रमुख सचेतक लेखकले नेताद्वयको भेटलाई पुष्टि गरे । उनले भेटमा राष्ट्रिय राजनीतिका महत्वपूर्ण विषयमा छलफल भएको बताए । ‘सभापतिज्यू र एमाले अध्यक्षबीच भेट भएको हो । राजनीतिक दलका नेताहरूबीच राष्ट्रिय महत्वका विषयमा छलफल र भेटघाट हुनु सामान्य विषय हो । उहाँहरूबीच समसामयिक विषयमा कुराकानी भयो । एमाले र कांग्रेस राष्ट्रिय राजनीतिका महत्वपूर्ण विषयमा मिलेर जानेबारे महत्वपूर्ण छलफल रह्यो,’ लेखकले भने । 

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले अध्यक्ष ओलीले टिआरसी विधेयकलगायत विषयमा छलफलका लागि बालकोट बोलाएपछि सभापति देउवा बालकोट पुगेको बताए । ‘भेटमा, टिआरसी विधेयक, सरकारको कार्यशैलीलगायत विषयमा छलफल भएको हो । नेताद्वय ‘वान अन अन’ छलफलमा हुनुहुन्थ्यो । छोटो समयका लागि भनिएको भेट लम्बियो । त्यसबाहेक महत्वपूर्ण विषयमा पनि छलफल भएको अनुमान भने गर्न सकिन्छ,’ उनले नयाँ पत्रिकासँग भने । 

नेता एनपी साउदले भेट रणनीतिक भएको संकेत गरे । ‘उहाँहरूबीच सांस्कृतिक सम्बन्ध राम्रो छ । असार १५ दहीचिउरा खाने दिन नेताद्वयबीचको भेट हुनुलाई सकारात्मक रूपमा लिनुपर्छ,’ साउदले भने । सत्तासमीकरण फेरबदलपछि प्रतिपक्षमा पुगेपछि सक्रियता नदेखाएका देउवाले पछिल्लो समय राजनीतिक सक्रियता बढाएका छन् । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिआरसी विधेयक टुंग्याउने विषयमा छलफल गरेका थिए । यसका लागि कांग्रेस र एमाले सकारात्मक रूपमा प्रस्तुत भएका थिए । ०७९ को निर्वाचनलगत्तै कांग्रेस एमाले सहकार्यको विषय अघि बढे पनि प्रचण्ड प्रधानमन्त्री बनेसँगै सत्ता सहकार्यका विषयमा दुई दल टाढिएका थिए । टिआरसी विधेयकका विषयमा छलफल सुरु भएसँगै कांग्रेस–एमाले निकटता बढेको नेताहरूको दाबी छ ।

पृथ्वीसुब्बा गुरुङ उपमहासचिव, एमाले : नेताहरूबीच भेट्नै नहुने भन्ने हुँदैन । हरेक भेटलाई शंकाका रूपमा हेरिनुहुँदैन । उहाँहरूबीचको भेट राजनीतिक हिसाबले सामान्य हो ।

रमेश लेखक प्रमुख सचेतक, कांग्रेस : सभापतिज्यू र एमाले अध्यक्षबीच भेट भएको हो । राजनीतिक दलका नेताहरूबीच राष्ट्रिय महत्वका विषयमा छलफल र भेटघाट हुनु सामान्य विषय हो । उहाँहरूबीच समसामयिक विषयमा कुराकानी भयो । 

See More On

सुझावित समाचार