मध्यपुर थिमिमा फूलका बिरुवा रोपेर सहर सौन्दर्यकरण गरिँदै

बिहिबार, १४ असार, २०८१
डिजिटल संस्करण

मध्यपुर थिमि नगरपालिकामा माओवादी केन्द्रले सहर सौन्दर्यकरणको अभियान सुरु गरेको छ । नयाँ थिमिस्थित वनदेवी परिसरमा आकर्षक फूलका बिरुवा रोप्दै सहर सौन्दर्यकरणको अभियान सुरु गरिएको हो ।

बिहीबार सो पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज दिलीप प्रजापति भीष्मले अभियान शुभारम्भ गरेका हुन् । ‘स्वस्थ सुन्दर नगर, हाम्रो रहर’ भन्ने उद्घोषसहित अभियान सुरु गरिएको नगरपालिकाका उपप्रमुखसमेत रहेका नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष विजयकृष्ण श्रेष्ठले बताएका छन् । ऐतिहासिक एवं पुरातात्त्विक सुन्दरताले भरिपूर्ण मध्यपुर थिमिलाई प्राकृतिक र वातावरणीय रूपले पनि सुन्दर बनाउन अभियान सुरु गरिएको उनको भनाइ छ ।

अभियानअन्तर्गत नयाँ थिमिस्थित ६ सेन सडकसँगै रहेको वनदेवी परिसरमा बिहीबार एक सयभन्दा बढी फूलका बिरुवा रोपिएको नगर सचिव शिवसुन्दर श्रेष्ठले बताए । वनदेवीमा वृक्षरोपण गरिएका फूलले वनदेवी परिसर सोभायमान हुने उक्त वन समितिका अध्यक्ष कृष्णलाल गोजाले विश्वास व्यक्त गरेका छन् । राजनीतिक दलले वातावरण र सहर सौन्दर्यका लागि योगदान गरेकोप्रति उनले सन्तोषसमेत व्यक्त गरे ।

फूलसँगै ओखरका बिरुवा रोप्ने पनि कार्यक्रम रहेको माओवादी केन्द्र मध्यपुर थिमि नगरसमितिले जनाएको छ । प्रत्येक घरलाई बिरुवा रोप्न प्रोत्साहित गर्दै मध्यपुर थिमिलाई स्वच्छ, सुन्दर र हराभरा बनाउने उद्देश्य रहेको स्थानीय नेता बालकृष्ण दुगुले बताएका छन् ।

सो अवसरमा वृक्षरोपणलाई सौन्दर्यकरणसँगै आय आर्जनसँग पनि जोड्न सकिनेबारे अध्ययन गरी कार्यन्वयन गर्न बागमती प्रदेश सभाकी पूर्वसदस्य एवं माओवादी केन्द्रकी केन्द्रीय सदस्य प्रतिमा श्रेष्ठले सुझाव दिएकी थिइन् ।

त्यसैगरी नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव एवं प्रेस सेन्टर भक्तपुरका अध्यक्ष संजीप घिमिरे शुभचिन्तकले जनप्रतिनिधिले सामाजिक काममा आफ्ना पार्टी सम्बद्ध कार्यकर्तालाई जोड्न सक्नुपर्नेमा जोड दिँदै नगर उपप्रमुखको प्रशंसा गरे । सबै कुरामा मुख ताक्नुभन्दा सक्ने कामको सुरुवात आफैँले गर्न सके स्थानीय सरकारलाई ठूलो सहयोग पुग्ने उनको भनाइ छ ।
 

See More On

सुझावित समाचार