दक्षिण कोरियासँगको सीमामा उत्तरले बनायो पर्खाल

सोमबार, १० असार, २०८१
डिजिटल संस्करण

उत्तर कोरियाले दक्षिण कोरियासँगको आफ्नो सिमानानजिक धेरै ठाउँमा पर्खालजस्तो देखिने भाग निर्माण गरिरहेको नयाँ स्याटेलाइट तस्बिरले देखाएको छ । बिबिसीले विश्लेषण गरेका तस्बिरले पनि निशस्त्र क्षेत्र (डिएमजेड)भित्रको जमिन खाली गरिएको देखाएको छ । यसलाई विज्ञहरूले दक्षिण कोरियासँग लामो समयदेखि जारी युद्धविरामको उल्लंघन हुन सक्ने बताएका छन् ।

डिएमजेड उत्तर र दक्षिण कोरियाबीचको चार किमि (साढे दुई माइल) चौडा बफर क्षेत्र हो । उत्तर र दक्षिण कोरिया अझै पनि प्राविधिक रूपमा युद्धमा छन् । किनकि, उनीहरूबीच शान्ति सन्धिमा हस्ताक्षर भएको छैन । दुई देशबीच तनाव बढिरहेका वेला उत्तरका शंकास्पद गतिविधि देखिएको दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन् । ‘यस विन्दुमा हामी केवल अनुमान गर्न सक्छौँ कि उत्तर कोरियाले सीमामा आफ्नो सैन्य उपस्थिति र सुदृढीकरण गर्न खोजिरहेको छ,’ सियोलमा रहेको विशेषज्ञ साइट एनके न्युजका संवाददाता श्रेयस रेड्डी भन्छन् । विज्ञहरूका अनुसार हालको गतिविधि असामान्य हो ।

उत्तर कोरियाका आणविक गतिविधिलाई लिएर राष्ट्रसंघले उसमाथि बारम्बार प्रतिबन्ध लगाउँदै आएको छ । उत्तर कोरियाका आणविक गतिविधि नरोकिएसम्म प्रतिबन्ध नहट्ने अन्तर्राष्ट्रिय समुदायले जोड दिँदै आएको छ । तर, उत्तरले आफूमाथि प्रतिबन्ध हटे मात्रै आणविक गतिविधि रोक्न सकिने सर्त राख्दै आएको छ ।

प्रतिबन्धका कारण उत्तर कोरियामा अत्यावश्यकीय महत्वका वस्तुहरूको अभावसमेत हुने गरेको छ । उत्तर कोरियाले आफूमाथि लाग्दै आएका प्रतिबन्ध फुकुवा गर्न बारम्बार अन्तर्राष्ट्रिय समुदायसँग आग्रहसमेत गर्दै आएको छ । तर, ती आग्रहको बेवास्ता भएको छ । पछिल्लो समयमा चीन, रुसलगायतका राष्ट्रहरूले उत्तर कोरियामाथि सहानुभूति व्यक्त गर्दै आएका छन् । यी देशले उत्तर कोरियामाथि राष्ट्रसंघले ल्याएको प्रस्तावमा भिटो प्रयोग गरेर अप्रत्यक्ष रूपमा प्योङयाङको बचाउ गर्दै आएका छन् । 

उत्तर कोरियाको आणविक हतियार विश्व समुदाय र विशेषगरी अमेरिकासहितका पश्चिमा देशहरूका लागि टाउको दुःखाइको विषय हुने गरेको छ । अमेरिकी चेतवानीका बाबजुद उत्तर कोरियाले निरन्तर आणविक हतियार परीक्षण गर्दै आएको छ । उत्तरको आणविक हतियार कार्यक्रम रोक्न आफ्नो कार्यकालमा डोनाल्ड ट्रम्पले किमजोङ उनसँग ऐतिहासिक शिखर वार्ता गरेका थिए । तर, ती  वार्ता विनानिष्कर्ष टुंगिएका थिए । 

उत्तर कोरियाले पछिल्लो समयमा चीनपछि रुससँग सहकार्य गर्ने संकेत गरेको छ । कुनै पनि देशविरुद्ध आक्रमणको स्थितिमा एक–अर्कालाई सहयोग गर्न दुवै देशले सहमति जनाएका छन् । यसै साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्योङयाङ भ्रमणका क्रममा यस्तो सहमति जनाइएको हो । युक्रेनविरुद्धको युद्धमा उत्तर कोरियाले रुसलाई विभिन्न हतियार उपलब्ध गराउने घोषणा गरिसकेको छ । 

उत्तर कोरिया र रुसबीचको सहमतिले जापान, दक्षिण कोरियालगायतका देश झस्किएका छन् । दुई देशबीचको सम्झौताको प्रतिक्रियास्वरूप दक्षिण कोरियाले युक्रेनलाई हतियार आपूर्ति गर्न सक्ने चेतावनी दिइसकेको छ । तर, दक्षिण कोरियाले युक्रेनलाई हतियार उपलब्ध गराएमा त्यो गम्भीर भुल हुने रुसी राष्ट्रपतिले चेतावनी दिएका छन् । 
 

सुझावित समाचार