गृहमन्त्रीलाई सांसदको प्रश्न– शान्तिपूर्ण प्रदर्शनमा लाठी प्रहार किन ?

बुधबार, ५ असार, २०८१
डिजिटल संस्करण

कवाडी व्यवसायीहरूमाथि लाठी प्रहार भएको विषयमा सांसद प्रभु साहले गृहमन्त्रीसँग जवाफ मागेका छन्।

बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै साहले राजधानीमै संवैधानिक हकको ठाडो उल्लंघन भएकोमा आपत्ति  जनाए।

मंगलबार काठमाडौं महानगरपालिका घेर्न पुगेका कवाडी व्यवसायीहरूमाथि नेपाल प्रहरीले लाठी प्रहार  गरेको थियो । लाठी प्रहारबाट झन्डै ५० जना घाइते भएका र एक दर्शनको अवस्था गम्भीर रहेको साहको भनाइ छ।

अदालतको आदेशविपरीत महानगरले डोजरआतंक गरेपछि कवाडी व्यवसायी प्रदर्शनमा उत्रिएका बताउँदै उनले भने, ‘शान्तिपूर्ण विरोध प्रदर्शन गर्नु नेपाली जनताको संवैधानिक हक हो, लोकतान्त्रिक हक हो । तर, हिजो कवाडी व्यवसायीको शान्तिपूर्ण जुलुसमाथि प्रहरीले निर्मम प्रहार गरेको छ। लाठी प्रहार गरेर झन्डै ५० जनाजति घाइते भएका छन्। झन्डै एक दर्जन त गम्भीर  घाइते छन्। टाउको फुटेको छ, उनीहरू वीर अस्पतालमा भर्ना छन्। देशको राजधानीमै यसरी संवैधानिक हकको ठाडो उल्लंघन भइराख्दा हामी गृहमन्त्रीको जवाफ चाहन्छौँ । शान्तिपूर्ण जुलुसमा लाठी प्रहार किन गर्नुभयो ?’

सांसद साहले लाठी प्रहारमा संलग्न प्रहरीमाथि कारबाहीको समेत माग गरेका छन्।

सुझावित समाचार