जनमत पार्टीका सांसद अब्दुल खानले तस्करीकाे सुनसँगै पक्राउ परेका चिनियाँसँग नेपाली नागरिकता भेटिएको विषय संसदमा उठाएका छन्।
नागरिकताविहीन नेपालीलाई अनेकौँ झन्झटिला प्रक्रिया पूरा गर्न लगाई बाधा खडा गर्ने, तर विदेशीलाई नेपाली नागरिकता दिने काम भइरहेको भन्दै सांसद खानले सरकारको ध्यानाकर्षण गराए।
तस्करीको ६ केजी सुनसहित आइतबार पक्राउ परेका चिनियाँ नागरिक सेरब ग्याल्मोको साथबाट नेपाली नागरिकता भेटिएको समाचार मंगलबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। ग्याल्मोले सोनाम गुरुङको नाममा मुस्ताङको लोमान्थाङ गाविसबाट नागरिकता लिएकाे पाइएको छ।
उक्त समाचार उदृत गर्दै मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद खानले भने, ‘नेपालमा भएका नागरिकहरूलाई अनागरिक बनाउने, विभिन्न व्यवधान खडा गर्ने, अनेकौँ झन्झटिला प्रक्रियाहरू दिने, तर विदेशी नागरिकले नेपालको नागरिकता लिएर सुन तस्करी गरिरहेका छन्।’
चिनियाँको सट्टा भारतीयसँग नेपाली नागरिकता भेटिँदा ठूलै हंगामा हुने गरेको उल्लेख गर्दै सांसद खानले भने, ‘चिनियाँ नागरिकको ठाउँमा आज भारतीय नागरिक भएको भए सायद ठूलै हंगामा हुन्थ्यो होला । त्यसकारण यस्ता समस्याहरू समाधान गरियोस् भन्ने माग गर्दछु।’