दोस्रो हप्तामा ‘गाउँ आएको बाटो’, ७० प्रतिशत अकुपेन्सी

शुक्रबार, १ असार, २०८१
डिजिटल संस्करण

जेठ २५ देखि प्रदर्शनमा आएको फिल्म ‘गाउँ आएको बाटो’ प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको छ। प्रदर्शनको दिनदेखि पूर्वमा हाउसफुल व्यापार गरिरहेको फिल्मको माउथ पब्लिसिटीले राजधानीका हलले दोस्रो सातामा पनि ७० प्रतिशत अकुपेन्सी पाइरहेको छ।

नवीन सुब्बा निर्देशित यो फिल्मलाई दर्शकले रुचाएसँगै राजधानीका अधिकांश हलमा फिल्मको सो थपिएको हो। 

फेस्टिभल पुगेको फिल्म चल्दैन भन्ने भाष्यलाई ‘गाउँ आएको बाटो’ले तोडिदिएको निर्माता अमोद राई बताउँछन्। ‘दर्शकले जसरी यो फिल्मलाई मन पराइरहनुभएको छ, त्यही दर्शकको माउथ पब्लिसिटीले गर्दा फिल्म दोस्रो हप्तासम्म पनि ७० प्रतिशत अकुपेन्सीमा चलिरहेको छ,’ राईले भने। 

उनका अनुसार यो फिल्मले आधुनिकीकरण र विकासमाथि ठूलो बहस सिर्जना गरिदिएको छ। फिल्मकर्मी, फिल्मप्रेमी दर्शकदेखि नीति निर्माताहरूले फिल्मको खुलेर प्रशंसा गरिरहेका छन्।

‘फिल्ममाथि अधिकांशले सामाजिक सञ्जालमा बहस छेडिदिनुभएको छ। सामाजिक सञ्जालमा दर्शकले दिएको प्रतिक्रिया हेर्दा लाग्छ, हाम्रो फिल्म यस किसिमको बहस सिर्जना गर्न सफल भएको छ,’ राईले थपे।

विश्वका प्रतिष्ठित फिल्म फेस्टिभल टोरोन्टो, बुसानलगायत २० भन्दा बढी महोत्सव घुमिसकेको यो फिल्मले गाउँमा बाटो आएसँगै राई माइला र उनको परिवारमा आउने परिवर्तनको कथा समेटेको छ। बुबा–छोराको सम्बन्धमार्फत फिल्मले विकासको अवधारणा र आधुनिकीकरणमाथि प्रश्न उठाउँछ।

अभिनेता दयाहाङ राई, अभिनेत्री पशुपति राई र बाल कलाकार प्रसन राईको प्रमुख अभिनय रहेको यो फिल्ममा हाइडी लीको संगीत, केदार श्रेष्ठको कास्टिङ निर्देशन, राज थापाको कला निर्देशन, किशोर आचार्यको साउन्ड डिजाइन, सिकुमा राईको पहिरन, क्वान पुन लुङको सम्पादन छ।

सुझावित समाचार