मनसुन भित्रिएको चार दिनसम्म पूर्वतिरै सक्रिय रहँदा सुदूरपूर्वका पहाडी जिल्लाहरूमा लगातार वर्षा भइरहेको छ । मनसुन फैलिन नपाउँदा पश्चिमतिर सुक्खा बढेर जनजीवनमा झन् हैरानी थपिएको छ ।
सुदूरपूर्वमा वर्षासँगै बाढीपहिरो सुरु भएको छ । लगातारको वर्षाका कारण संखुवासभाको खाँदबारी नगरपालिकाका विभिन्न क्षेत्रमा पहिरोले तीन घर बगाएको छ, २५ परिवार विस्थापित भएका छन् । ताप्लेजुङमा पहिरोमा पुरिएका एक व्यक्तिको ज्यान नै गएको छ भने बाढीले पुल पनि बगाएको छ । पश्चिम तराईमा भने लगातार दुई सातादेखि तातो हावाको लहर चलिरहेको छ । मुलुकका अन्य क्षेत्र (स्थानीय वायुका कारण वर्षा भएका केही ठाउँबाहेक) मा पनि तापक्रम उच्च छ ।
बिहीबार देशभरमा सबैभन्दा धेरै तापक्रम नेपालगन्जमा ४३.८ डिग्री सेल्सियस मापन भएको छ । बुधबार कैलाली टीकापुरमा ४४.१ डिग्री सेल्सियस मापन भएको थियो । मध्य र पश्चिम तराईमा अझै गर्मी नै रहने र त्यसमा पनि रुपन्देहीदेखि कञ्चनपुरसम्मको तराईमा तातो हावाको लहर कायमै रहने चेतावनी मौसम पूर्वानुमान महाशाखाले दिएको छ ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेल मनसुनीयाममा पनि कतै बाढीपहिरो र कतै खडेरीका घटनाको प्रवृत्ति बढ्दै गएको बताउँछिन् । ‘जलवायु परिवर्तन, तापक्रम वृद्धिका कारण विषम मौसमी घटना बढाउन मद्दत पुगेको छ,’ पोखरेलले भनिन्, ‘पूर्वतिर मनसुन आएर पनि बाढीपहिरोका घटना हुने गरी वर्षा भएको छ । अन्यत्र गर्मी छ । पश्चिम तराईतिर त खडेरीको अवस्था छ ।’
मनसुनको सुरुवातमै पूर्वी पहाडमा बाढीपहिरो
मनसुनको सुरुवातमै पूर्वी पहाडका संखुवासभा र ताप्लेजुङमा बाढीपहिरो सुरु भएको छ । बिहीबार सडकमाथिबाट खसेको पहिरोमा पुरिएर ताप्लेजुङमा काबेली तेस्रो जलविद्युत् परियोजनामा कार्यरत मजदुर २५ वर्षीय सबिन राईको मृत्यु भएको छ । परियोजनास्थल सिरिजंघा गाउँपालिका–७ खेबाङको सिरिसे खोल्सामा सामान बोकेर जाँदै गरेको मे १ त ७९६९ नम्बरको ट्याक्टरमाथि पहिरो खस्दा सहचालक राईकोे घटनास्थलमै ज्यान गएको ताप्लेजुङ प्रहरीका सूचना अधिकारी कमलकुमार लुंगेलीले जानकारी दिए । ट्याक्टरचालकले भने भागेर ज्यान जोगाएका थिए ।
त्यस्तै, संखुवासभामा पहिरोले चार घर बगाएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता इन्स्पेक्टर रामकुमार लामिछानेका अनुसार खाँदबारी– ११ सिम्लेका मणिप्रसाद राई, रामप्रसाद राई, वीरबहादुर राई, रत्नबहादुर राईको घर र गोठ बगाएको छ । बर्खा लागेपछि अधिकांश लेकमा रहेका घरमा बस्ने भएकाले मानवीय क्षति भने खासै नभएको उनले बताए । घटनाका वेला मणिप्रसाद भने त्यहीँ भएकाले सामान्य घाइते भएको लामिछानेले बताए । इन्स्पेक्टर लामिछानेका अनुसार स्थानीय खोल्सीमा आएको बाढीका कारण खाँदबारी–४ भ्याङखोलामा अन्य ६ घर पनि जोखिममा छन् । वर्षाका कारण चिचिला गाउँपालिका जोड्ने तीन ग्रामीण सडक पनि अवरुद्ध भएका छन् ।
बुधबार रातभरको वर्षाका कारण ताप्लेजुङको तमोर नदी, सिँसावा खोला र सिस्ने खोलाका विभिन्न पाँच ठाउँमा रहेका काठेपुल (गाडी गुड्ने काठका पुल) बाढीले बगाएको छ । यातायात सेवा अवरुद्ध बनेको छ । फत्ताङलुङ गाउँपालिकास्थित तमोर नदीको छिरुवा र तापेथोक बगरमा लगाइएको अस्थायी काठेपुल बाढीले बगाएको छ । तापेथोकस्थित सिँसावा खोला तथा फुङलिङ नगरपालिका–१ फुरुम्बु र फत्ताङलुङ गाउँपालिका–३ लिमीको सिमाना भएर बग्ने सिस्ने खोलामा पनि दुई काठेपुल बगाएको छ । सिँसावा खोलाको पुल बाढीले बगाउँदा त्रिदेशीय सडक रहेको तमोर करिडोरमा आवजावत बन्द भएको छ ।
मनसुनको सुरुमै बाढी र पहिरोले क्षति गराए पनि सरकारले पूर्वतयारीमा भने ध्यान दिएको छैन । गत वर्ष विस्थापित भएकाहरूलाई पुनस्र्थापित गर्न र बाढीपहिरोमा परी बेपत्ताको खोजी गर्न सरकार अक्षम देखिएको छ । गत वर्ष पनि कोशी प्रदेशको पहाडी जिल्लामा बाढीपहिरोले ठूलो क्षति पुर्याएको थियो । संखुवासभा, ताप्लेजुङ, पाँचथरलगायतका जिल्लामा मानवीय क्षतिसमेत भएको थियो । संखुवासभामा गत वर्ष बेपत्ता भएका २० जना अझै फेला पर्न सकेका छैनन् । प्रदेश प्रहरी कार्यालयका अनुसार कोशीमा चालू आर्थिक वर्ष ०८०–८१ को जेठ मसान्तसम्म बाढी पहिरोमा परी ११ जनाले ज्यान गुमाएका छन् । यो अवधिमा ४ जना घाइते भएको कार्यालयले जनाएको छ । यस्तै, पाँच करोड ६८ लाखबराबरको क्षति भएको छ ।
प्रहरीले भने कोशीमा बर्खायाममा बाढीपहिरोबाट हुन सक्ने क्षति न्यूनीकरण, उद्धारका लागि प्रहरी तैनाथ गरिएको प्रदेश प्रहरी कार्यालय कोशीका प्रवक्ता प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए । उनका अनुसार प्रदेशभरिका ९० जना प्रहरीलाई विपत्मा उद्धारका लागि तालिम दिइएको छ । यस्तै, हरेक जिल्ला प्रहरी कार्यालय, गण, विशेष गण तथा विपत् व्यवस्थापन गुल्ममा तालिम प्राप्त जनशक्ति तयारी अवस्थामा राखिएको उनले बताए । ‘प्रदेश सरकारको सहयोगमा विपत् सामग्री खरिद गरिएको छ । विपत्मा तत्काल उद्धारमा खटिने गरी तयारी अवस्थामा छौँ,’ उनले भने, ‘हरेक जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयमा विपत् डेस्क स्थापना गरेका छौँ । जसले विपत्मा हुने क्षति न्यूनीकरण, उद्धार र समन्वयमा सहयोग गर्छ ।’
पश्चिमतिर खडेरीले सुक्न थाल्यो मकैबाली, नदीबाट भाँडामा पानी बोकेर जोगाइँदै धानको ब्याड
दाङमा लामो खडेरीका कारण मकैबाली सुक्न थालेको छ । सिँचाइ सुविधा नहुँदा बारीमा रोपेको मकै सुक्न थालेको दंगीशरण गाउँपालिका– ३, हेकुलीका किसान प्रभावित चौधरीले बताए । दंगीशरण गाउँपालिका– १, बाँकीबेटारपुरका रोमराज डाँगीले पनि बारीको मकै सुक्न थालेको बताए । उनले धानको ब्याडसमेत सुक्ने अवस्थामा पुगेको बताए ।
त्यस्तै, पानीका मुहान सुक्न थालेपछि सल्यानका किसानले धानको ब्याड बचाउन नदीबाट गाग्री, बाल्टिनलगायत भाँडामा पानी बोकेर हाल्न थालेका छन् । लामो समयदेखि पानी नपरेर खोलानाला सुक्दा धानको ब्याडमा धाँजा फाट्न थालेको छ । कुलोमा आउने पानी नै सुकेपछि शारदा नदीबाट पानी बोकेर ब्याडमा सिँचाइ गर्दै आएको शारदा नगरपालिका– १ की सुन्तली बुढाथोकीले बताइन् । ‘कुलोमा आउने पानी आउनै छाड्यो, त्यही भएर एक हप्तादेखि पानी बोकेरै सिँचाइ गरिरहेका छौँ,’ उनले भनिन् । सल्यानको शारदा नदीमा पानी निकै कम छ, जसकारण नहरमा पानी जानै छाडेको छ ।
मनसुन फैलिन ढिलाइ, पश्चिम तराईमा तातो हावा अझै केही दिन रहने
मनसुनी प्रणाली पाँच–सात दिनमै देशभर फैलिएर वर्षा हुनुपर्ने हो । तर, संखुवासभा, ताप्लेजुङ क्षेत्रबाटै कोशीको पश्चिमी क्षेत्रसम्म मनसुन पुग्न चार दिन लागेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले भने, ‘कोशीबाहेकका क्षेत्रमा पश्चिमबाट हावा चलिरहेको छ, यो हावाले पूर्वी दक्षिणबाट पश्चिम बहने हावालाई छेकिरहेको छ ।’ मधेश र बागमती क्षेत्रमा एक–दुई दिनमा मनसुन फैलिन सक्ने देखिए पनि पश्चिमसम्मका लागि भने अझै कुर्नुपर्ने देखिन्छ । स्थानीय वायुको प्रभाव पनि कास्कीलगायत क्षेत्रमा केन्द्रित भएकाले मुलुकका अन्य क्षेत्रको तापक्रम लगातार उच्च छ ।
लुम्बिनी र सुदूरपश्चिमका तराईमा दुई सातादेखि तातो हावा चलिरहेको छ । ती क्षेत्रमा आगामी आइतबारसम्म तातो हावाको लहर कायमै रहने चेतावनी मौसम पूर्वानुमान महाशाखाले दिएको छ । यसमा पनि रुपन्देहीदेखि कञ्चनपुरसम्मको तराई क्षेत्रमा चलिरहेको तातो हावा कायमै छ । त्यस क्षेत्रका उपत्यकामा पनि तापक्रम उच्च छ । बिहीबार नेपालगन्जमा अधिकतम तापक्रम ४३.८ र न्यूनतम तापक्रम २८ डिग्री
सेल्सियस मापन भएको छ । त्यसैगरी, धनगढीमा ४३.१, दिपायलमा ४१.३, वीरेन्द्रनगरमा ४०.१, घोराहीमा ३८.८ र भैरहवामा ४०.४ डिग्री सेल्सियस मापन भएको छ । काठमाडौंको तापक्रम पनि ३४.३ डिग्री सेल्सियस मापन भएको छ ।