बोक्सी आरोपमा मलमुत्र खुवाई कुटपिट मुद्दामा अदालतको फैसला : आंशिक दाबी पुगेका तीनजना दोषी ठहर, ६ जनालाई सफाइ

बिहिबार, ३१ जेठ, २०८१
डिजिटल संस्करण

महोत्तरी जिल्ला अदालतले ०७८ कात्तिक ११ गते साँझ बोक्सीकाे आरोपमा मलमूत्र खुवाई कुटपिट गरेकाे  मुद्दामा आंशिक दाबी पुगेको फैसला गरेको छ । महोत्तरीको औरही नगरपालिका- ९ अगलेसराका ५८ वर्षीय झपसी ठाकुर तथा उनकी भाउजू सुनैनादेवी ठाकुरलाई सोही ठाउँ निवासी रामशिलादेवी मण्डल र उनका छोरा रामउदेश मण्डलसमेत नाैजनाले बोक्सी आरोपमा कुटपिट गरेको तथा मलमूत्रसमेत खुवाएको भन्दै पीडितले जिल्ला अदालत महोत्तरीमा मुद्दा हालेका थिए ।

जिल्ला अदालत महोत्तरीका न्यायाधीश मदनबहादुर धामीको एकल इजलासले सोमबार रामशिलादेवी मण्डल र उनका छोरा रामउदेश मण्डललाई दोषी ठहर गर्दै जनही ६ वर्ष कैद र ७० हजार जरिवानासँगै जनही ३० हजार क्षतिपूर्ति भराउन आदेश दिएको छ ।

यता एकजना नाबालकको हकमा बालसुधार केन्द्रमा दुई महिना राख्न आदेश दिइएको जिल्ला अदालत महोत्तरीका श्रेस्तेदार नूतन झाले बताइन् । उनले मुद्दाका बाँकी आरोपीहरूले सफाइ पाएको जानकारी दिइन् । अदालतले विभिन्न समयमा भएको बहसको क्रममा विपक्षीहरूलाई तारेखमा राखेको थियो । हाल उनीहरू बाहिरै छन् ।

जिल्ला सरकारी वकिल कार्यालय महोत्तरीका सहायक जिल्ला न्यायाधिवक्ता सुदीपकुमार रायले सफाइ पाएकाहरूविरुद्ध पुनरावेदन गरिने बताए । उनले महोत्तरी जिल्ला अदालतले ६ जनालाई सफाइ दिने गरी गरिएको फैसलाउपर नेपाल सरकारको चित्त नबुझेकाले छिटोभन्दा छिटो उच्च अदालत जनकपुरमा पुनरावेदन दायर गर्ने जानकारी दिए ।

जाहेरवालाको तर्फबाट अधिवक्ता रिंकु यादवले समेत बहस गरेकी थिइन् । अधिवक्ता यादवले उक्त मुद्दामा पीडितको तर्फबाट नि:शुल्क कानुनी सहायताको रूपमा सहयोग गरेकी थिइन् ।

यता पीडितले अदालतको फैसला आएसँगै विपक्षीहरूको तर्फबाट धम्की आउन थालेको भन्दै गुहार मागेका छन् । अदालतले दोषी ठहर गर्नासाथ विपक्षीहरूको परिवार तथा आफन्तहरूबाट ‘देखाइदिने’ भन्दै धाकधम्की  आएकाे ठाकुरले बताए । 

यस्तो थियो घटना

झपसी ठाकुर कात्तिक ११ गते घरमै बसिरहेका थिए । घरमै बसिरहेकाे अवस्थामा रामशिलादेवी मण्डलसहितका केही व्यक्ति घरमै प्रवेश गरी कुटपिट गर्दै उनीहरूलाई मलमूत्र खुवाएका थिए । उनीहरूले ठाकुरकाे घरमा भएको नगद र गरगहनासमेत लुटेर लगेको पीडितको आरोप छ । गाउँकै केही भद्रभलादमीले प्रहरीलाई खबर गरिदिएपछि प्रहरी घटनास्थल पुगेर सोही वेला झपसीसहितको उद्धार गरेका थिए ।

पीडित झपसीको भनाइ

म घरमै काठको दुई तलामाथि साँझ आलु मिलाउँदै थिएँ । एक्कासि आरोपितहरूको समूह नै घरमा प्रवेश गरी हामीमाथि कुटपिट गर्न थाले । मलाई तैँले मेरो श्रीमान् मारेको र अब मेरो छोरा मार्न खोजेको भन्दै आरोप लगाउँदै रामशिला र उनीसँग आएकाहरूले कुटपिट गरिरहे । उनीहरूले हँसियाले मेरो खुट्टामा प्रहार गरे ।  मेरो घाँटीमै हँसिया लगाएर घाँटी काट्न खोजे । घाँटीमा लगाएको हँसिया हटाउन खोज्दा सोही हँसिया मेरो आँखामा लाग्यो  । मलाई र मेरी भाउजूलाई उनीहरूबाट छुटाउन आएकी मेरी श्रीमतीलाई समेत कुटपिट गर्दै ओरोपितहरूले म र भाउजूलाई गिलासमै घोलेर दिसा खुवाए । अझै उनीहरूको चित्त बुझ्न नसक्दा मेरो गुहार नसुन्दै उनीहरूले यातना दिइरहे । पछि प्रहरी आएर हाम्रो उद्धार भयो ।

०७८ सालको विजयादशमीको सप्तमीको दिन रामशिलाको श्रीमानको अत्यधिक मदिरा सेवनले मृत्यु भएको थियाे ।  उनलाई मैले नै मारेको भन्दै उनीहरूले आरोप लगाए । तर, उसको मृत्यु मैले कुनै झारफुक वा बोक्सी लगाएर नभएको र उनले आफैँ अत्यधिक मदिरा सेवन गरेर भएको थियाे । घटना घटाइएको दिन तिनै रामशिलाको छोरा रामउदेश मोटरसाइकलमा कतै जाँदै थिए । अगाडि एउटा कुकुर आएर उसमाथि झम्टन खोजेको थियाे । उक्त कुकुर मैले नै भूत पिचास बनाएर पठाएको र उसको छोरा मार्न खोजेको भन्दै उनीहरूले म र मेरो परिवारमाथि आक्रमण गरे । अझै चोटहरू आलै छन् । मुद्दाको फैसला भयो र म अदालतको सम्मान गर्छु, तर सफाइ पाएकाहरूसमेत दोषी हुन्, मैले पूर्ण न्याय पाउनुपर्छ ।

सुझावित समाचार