प्रधानमन्त्री प्रचण्ड शुक्रबार हेटौँडा आउने

बिहिबार, ३१ जेठ, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि शुक्रबार हेटौँडा आउने भएका छन् । उनी हेटौँडा उपमहानगरपालिका– ११ थानाभर्याङमा निर्माण सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणको हेटौँडा सबस्टेसनको उद्घाटन गर्न हेटौँडा आउन लागेका हुन् ।

हेटौँडा सबस्टेसनका आयोजना प्रमुख शुक्रराज देवकोटाले प्रधानमन्त्री प्रचण्डले हेटौँडा ४००/२२०/१३२/११ केभी सबस्टेसनको उद्घाटन गर्ने जानकारी दिए । देशकै तेस्रो ठूलो नवनिर्मित सबस्टेसनको निर्माणसँगै चार्जिङ गर्ने कामसमेत सम्पन्न भइसकेको छ ।

यस सबस्टेसनले हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारणलाइन र हेटौँडा–भरतपुर–नवलपरासी २२० केभी प्रसारणलाइनलाई जोड्ने आयोजना प्रमुख देवकोटाले बताए । सबस्टेसन निर्माणपछि पूर्वमा इनरुवादेखि पश्चिम नवलपरासीसम्मको विद्युत् वितरण प्रणालीमा गुणस्तर र सुधार आउने अपेक्षा गरिएको उनको भनाइ छ ।

आयोजना प्रमुख देवकोटाका अनुसार हेटौँडा सबस्टेसनबाट इनरुवा सबस्टेसनसम्म दुई सय ८८ किलोमिटर प्रसारणलाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण सुरु गरिएको थियो । जसमध्ये ढल्केबर–इनरुवा एक सय ५४ किलोमिटरको प्रसारणलाइन निर्माण सम्पन्न भइसकेको छ भने हेटौँडा–ढल्केबर खण्डको एक सय ३४ किलोमिटर प्रसारणलाइन भने निर्माणाधीन छ ।

उनले हेटौँडा–ढल्केबर खण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर १५, १६ र १७ मा निर्माणको काम बाँकी रहेको जानकारी दिए । हेटौँडा–भरतपुर–नवलपरासी २२० केभी प्रसारणलाइनको निर्माणकार्य पनि यसअघि नै पूरा भइसकेको प्रमुख देवकोटाले बताए ।
 

सुझावित समाचार