पर्साको पर्सागढी नगरपालिकाका मुकेश यादव श्रीमतीलाई सुत्केरी गराउन आइतबार राति ९ बजे नारायणी अस्पताल पुगे । सुत्केरी गराउन आउनेको चापअनुसार स्वास्थ्यकर्मी नदेखेपछि श्रीमतीलाई त्यहीँ राख्ने कि अन्य अस्पताल लैजाने भन्ने द्विविधामा उनी परे । श्रीमतीलाई भर्ना गर्नुअघि सुत्केरीपछि नवजात शिशु राख्ने कक्षबारे धेरै बुझ्ने प्रयास गरे । सोमबार बिहान १ बजेसम्म कुनै जानकारी उनले पाउन सकेनन् । बिहान २ः४० मिनेटमा उनकी श्रीमतीले तेस्रो सन्तानलाई जन्म दिइन् । तर, नवजात शिशु राख्ने कक्षमा पर्याप्त कर्मचारी नभएको थाहा पाएपछि उनले बिहान ३ बजे सुत्केरी श्रीमती र बच्चालाई अन्य अस्पतालमा भर्ना गरे ।
बाराको पचरौता नगरपालिकाका श्यामप्रसाद साह दाँत दुखाइको समस्या लिएर नारायणी अस्पताल पुगे । चेकजाँच गराएर एक्सरे गराउन पुग्दा शाखामा कर्मचारी नभएपछि आफू अलमलमा परेको उनले सुनाए । समयमा चिकित्सकले चेकजाँच गरे पनि एक्सरे नहुँदा चिकित्सकलाई देखाएको कुनै अर्थ नभएको उनले गुनासो गरे । वीरगन्जदेखि ४० किलोमिटर पूर्वमा रहेको गाउँबाट आइपुगेका उनले एक्सरे समयमा नहँुदा दिन त्यतिकै खेर गएको बताए ।
नारायणी अस्पतालमा पर्याप्त चिकित्सकसहितका स्वास्थ्यकर्मी नहँुदा उपचार गराउन आएका सयौँ सेवाग्राहीले सास्ती भोग्दै आएका छन् । गत साता अस्पताल प्रशासनले एकैपटक ४७ जना चिकित्सक र स्वास्थ्यकर्मी निकालेपछि सेवाग्राही सास्ती भोग्न बाध्य भएका हुन् । स्वास्थ्यकर्मी र कर्मचारी कम हुँदा दैनिक सयौँ सेवाग्राही यतिकै फर्किन बाध्य छन् । विपन्न वर्गले उपचार गराउँदै आएको अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट एनामुल हकले मनोमानी तरिकाले आफूखुसी सूचना जारी गरेर हटाएको बर्खास्तीमा परेका कर्मचारीको आरोप छ । करार अवधि सकिएका कर्मचारी हटाउँदा पूर्वजानकारी नदिइएको र एकैपटक सूचना टाँस गरेको एकजना चिकित्सकले बताए ।
मेडिकल सुपरिटेन्डेन्टले आफूखुसी कर्मचारी हटाए
मेडिकल सुपरिटेन्डेन्ट हकले मनोमानी तरिकाले आफूखुसी सूचना जारी गरेर कर्मचारी हटाएको अस्पताल विकास समितिका अध्यक्ष धीरजकुमार गुप्ताले बताए । करार अवधि सकिएका कर्मचारी हटाउँदा विकास समितिसँग प्रशासनले कुनै छलफल वा जानकारी नदिएको उनको भनाइ छ । अस्पतालमा अहिले डेन्टल एक्सरेसहितका विभिन्न वार्डमा कर्मचारी अभावका कारण सेवा प्रवाहमा समस्या भएकाले त्यसको जिम्मेवारी मेडिकल सुपरिटेन्डेन्ट हकले लिनुपर्ने गुप्ताले बताए ।
निमित्त मेडिकल सुपरिटेन्डेन्ट हकको अध्यक्षतामा बसेको बैठकले अस्पतालमा लामो समयदेखि दरबन्दीबेगर दैनिक ज्यालादारीमा कार्यरत ४७ जना स्वाथ्यकर्मी र कर्मचारीलाई हटाउने निर्णय गरेको सूचनामा उल्लेख छ । अस्पतालबाट हटाइएकोमा आठौँ तहका मेडिकल अधिकृत चिकित्सक ११, सातौँ तहका मेडिकल अधिकृत एक, स्टाफ नर्स १२, हेल्थ असिस्टेन्ट तीन, रेडियोग्राफर पाँच, अहेव चार र कार्यालय सहयोगी सात गरी ४३ जना छन् । दैनिक ज्यालादारीमा कामकाज गरिरहेका स्वास्थ्यकर्मी र कर्मचारीको २२ जेठदेखि सेवा अवधि समाप्त भएको छ ।