प्रधानमन्त्रीको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग

बुधबार, ३० जेठ, २०८१
डिजिटल संस्करण

सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले प्रधानमन्त्रीको भारतमा भ्रमणमा भएका गतिविधिबारे पत्रपत्रिकाबाट थाहा पाएको भन्दै आधिकारिक रूपमा सदनमा उभिएर जानकारी गराउनका लागि रुलिङ गर्न सभामुख देवराज घिमिरेसँग माग गरेका हुन् । प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ समारोहमा सहभागी हुन आइतबार नयाँदिल्ली गएका थिए । 

भ्रमणका क्रममा प्रचण्डले मोदीसँग द्विपक्षीय भेट गरेर नेपाल–भारत सम्बन्धका विविध आयाममा छलफल गरेका थिए । सोमबार स्वदेश फर्किएपछि प्रचण्डले पत्रकार सम्मेलनमार्फत सार्कलाई सक्रिय बनाउनेदेखि सीमा र पारवहनसँग सम्बन्धित विषय दुवै देशका संयन्त्र सक्रिय पारेर संवादमार्फत समाधान गर्ने, विगतमा भएका सहमति र सम्झौता कार्यान्वयन गर्ने, पञ्चेश्वर जलविद्युत् आयोजनाको कार्यान्वयन, अरुण जलविद्युत् आयोजना एवं कृषि क्षेत्रमा सहकार्यका विषयमा गम्भीर छलफल भई सकारात्मक समझदारी बनेको बताएका थिए । 

प्रधानमन्त्रीको भ्रमणको कुरा समाचारबाट थाहा पाएको भन्दै प्रमुख सत्तासाझेदार एमाले सांसद रघुजी पन्तले भने, ‘भारतसँग थाती रहेका हाम्रा समस्या जस्ताका त्यस्तै विद्यमान छ, त्यसैले सभामुखबाट स्पष्ट रुलिङ हुनुपर्छ, भारत भ्रमणमा के–के भयो ? नेपाल–भारतबीचको समस्याबारे के–के ठोस कुरा भयो ? संसद्ले जानकारी पाउनुपर्छ । यो संसद्को विशेषाधिकार हो ।’ पन्तले सार्क लथालिंग भएको भन्दै चलायमान बनाउन अध्यक्ष राष्ट्रको नाताले नेपालले पहल लिनुपर्ने बताए । 

राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री प्रचण्डलाई दिल्लीमा गरिएको स्वागतमा प्रश्न उठाउँदै भ्रमणबारे स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराए ।

See More On

सुझावित समाचार