प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतका सहमति र सम्झौता कार्यान्वयनका लागि द्विपक्षीय संयन्त्र सञ्चालन गर्न गरेको प्रस्तावमा भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदी सकारात्मक देखिएका छन् । आइतबार भएको साइडलाइन वार्तामा आफूले राखेको प्रस्तावमा भारतीय समकक्षी मोदी सहमत भएको प्रधानमन्त्री प्रचण्डले बताए ।
प्रधानमन्त्री मोदी र विदेशमन्त्री जयशंकरसँग भएको अलग–अलग भेटवार्तामा दुवै देशका हितका विषयमा गम्भीर छलफल भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । मोदीको शपथग्रहण समारोहमा भाग लिन दिल्ली आएका प्रधानमन्त्री प्रचण्डले सार्कलाई सक्रिय तुल्याउनेदेखि सीमा र पारवहनसँग जोडिएका विषय समाधानका लागि सकारात्मक छलफल भएको बताए । ‘मोदीजीसँग एक्लाएक्लै छलफल हुँदा मैले दुई देशका सबै संयन्त्र सक्रिय बनाउन र बैठक सञ्चालन गर्न विशेष जोड दिएको छु । यो भनिसकेपछि सीमालगायतको कुरा आइहाल्छ,’ प्रधानमन्त्री प्रचण्डले भने । परराष्ट्रसचिवस्तरीय बैठकमा सीमा विवाद समाधान गर्न नेपाल र भारत सैद्धान्तिक रूपमा सहमत भए पनि संयन्त्र सक्रिय छैन ।
प्रधानमन्त्री प्रचण्डले सीमा समस्याबारे विद्यमान संयन्त्र सक्रिय गर्ने आफ्नो प्रस्तावमा मोही सहमत देखिएको बताए । ‘अघिल्लो भ्रमणमा भएका सहमति, भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणमा भएको विद्युत् निर्यात सम्झौतालगायतको विषयमा गहन छलफल भयो । व्यापार पारवहनका विषयमा छलफल गर्यौँ,’ प्रचण्डले भने, ‘मोदीजी उत्साही हुनुभयो । दुई देशबीच सहकार्य थप बढाएर लैजाऊँ भन्नेमा उहाँको पनि जोड थियो । सीमाबारे विद्यमान संयन्त्र सक्रिय गरौँ भनेको छु । उहाँ सहमत हुनुभयो ।’
पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डिपिआर टुंग्याउने सैद्धान्तिक सहमति पहिले भइसकेको र बाँकी अब थोरै विषय टुंग्याउनुपर्ने प्रचण्डको प्रस्ताव थियो । कृषिमा नेपाललाई सहयोग गर्ने मोदीको वचन थियो । यसबारे अध्ययनका लागि एउटा टोली भारत पठाउने सहमति भएको प्रधानमन्त्रीले बताए ।
मोदीलाई नेपाल भ्रमणको निम्तो, आउने जवाफ
भेटवार्तामा प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणका लागि आग्रह गरेको र उपयुक्त समयमा भ्रमण गर्ने सकारात्मक जवाफ प्राप्त भएको पनि प्रधानमन्त्रीले बताए । प्रचण्डले तेस्रो कार्यकालको पहिलो द्विपक्षीय औपचारिक भ्रमणका लागि आग्रह गरेको बताए । ‘उहाँले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने सकारात्मक प्रतिक्रिया दिनुभएको छ, भन्न त उहाँले अहिले इटालीमा जी– ७ को बैठक भएकाले उता गएर मात्र नेपाल आउन सक्छु पनि भन्नुभएको छ,’ प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । मोदी बिहीबार इटली जाँदै छन् । अर्को सन्दर्भमा प्रचण्डले नेपालको राजनीतिक समीकरण फेरबदलले भारतसँगको सम्बन्धमा फरक नपर्ने बताए ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मोदीको तेस्रो कार्यकालको शपथग्रहण समारोहमा आइतबार सहभागी भएका उनी सोमबार व्यस्त भेटघाटमा सक्रिय रहे । स्वदेश फर्किनुअघि उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरे । राष्ट्रपति भवनमा आयोजित रात्रिभोजमा सहभागी हुनुअघि आइतबार उनले उपराष्ट्रपति जगदीप धनखड तथा प्रधानमन्त्री मोदीसँग भेटघाट गरे ।
मोदीसँगको भेटघाटमा नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउने तथा दुई मुलुकबीच विगतमा भएका सहमति तथा सम्झौताको कार्यान्वयन, सबै द्विपक्षीय संयन्त्रहरूको बैठक सञ्चालन गर्ने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यान्वयन, अरुण जलविद्युत् आयोजना एवं कृषि क्षेत्रमा सहकार्यजस्ता विषयमा गहन कुराकानी भएको प्रधानमन्त्रीले बताए । सीमा समस्या समाधानका सन्दर्भमा विद्यमान संयन्त्रको बैठक राख्न गरेको प्रस्तावमा मोदी पनि सहमत भएको प्रधानमन्त्रीले बताए । अघिल्लो भारत भ्रमणका क्रममा हैदराबाद हाउसमा आयोजित पत्रकार सम्मेलनमा विद्यमान संयन्त्रमा सीमालगायतका विषयबारे छलफल गर्नुपर्ने धारणा राखेको प्रचण्डले स्मरण गरे ।
सोमबार स्वदेश फर्किनुअघि प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग राष्ट्रपति भवनमा दुई देशबीचको सम्बन्धमा आगामी दिनमा थप मजबुद तुल्याउने विषयमा केन्द्रित रहेर छलफल भएको पनि बताए । त्यस्तै, भारतीय उद्योगी–व्यवसायीहरूको प्रतिनिधिमण्डलसँग व्यापार विस्तार र नेपालका प्राथमिकताका क्षेत्रमा भारतीय लगानी बढाउने विषयमा सकारात्मक र उत्साहप्रद कुराकानी भएको पनि उनले बताए ।
भ्रमणका क्रममा नेपाली दूतावासको कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री प्रचण्डसँग भारतका विभिन्न राजनीतिक दलका नेता, नेपालका संघ–संस्थाका प्रतिनिधिहरूले पनि अलग–अलग भेटवार्ता गरेका थिए । शपथग्रहण समारोहमा बोलाएर न्यानो स्वागत र आतिथ्य गर्ने भारत सरकार र भारतीय जनतालाई प्रधानमन्त्री प्रचण्डले आभार व्यक्त गरेका छन् । मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबार नयाँदिल्ली आएका थिए । ‘भ्रमणले नेपाल र भारतबीच आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको मैले विश्वास लिएको छु,’ प्रधानमन्त्रीले भने ।
गठबन्धनमा एक–अर्काका अनुभव काम लाग्छन्
प्रधानमन्त्री प्रचण्डले गठबन्धनका एक–अर्काका अनुभव काम लाग्ने बताए । ‘निर्वाचन प्रणालीको कारण हामी गठबन्धनमा छौँ । भारत पनि गठबन्धनमा गएको छ । एक–अर्काको अनुभव काम लाग्छ,’ प्रचण्डले भने ।
स्वदेश फर्केपछि प्रधानमन्त्रीले विमानस्थलमा भने–
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग दुई देशबीच विगतका भएका सहमति र सम्झौता कार्यान्वयन तथा द्विपक्षीय संयन्त्रलाई सक्रिय बनाउने विषयमा छलफल भएको बताएका छन् । ‘प्रधानमन्त्री मोदीजीसँग र विदेशमन्त्री एस जयशंकरसँग सार्कलाई सक्रिय बनाउनेदेखि सीमा र पारवहनसँग सम्बन्धित विषय दुवै देशका संयन्त्र सक्रिय पारेर संवादमार्फत समाधान गर्नुपर्यो भन्ने जोड दिएर राखेको छु । त्यसमा प्रधानमन्त्री र विदेशमन्त्रीले सकारात्मक प्रतिक्रिया व्यक्त गर्नुभएको छ,’ सोमबार स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले विमानस्थलमा भने, ‘भेटघाटमा नेपाल–भारत सम्बन्ध बलियो बनाउने तथा दुई देशबीच विगतमा भएका सहमति र सम्झौता कार्यान्वयन गर्ने, सबै द्विपक्षीय संयन्त्रलाई सञ्चालन गर्ने, पञ्चेश्वर जलविद्युत् आयोजनाको कार्यान्वयन, अरुण जलविद्युत् आयोजना एवं कृषि क्षेत्रमा सहकार्यका विषयमा गम्भीर छलफल भयो । सकारात्मक समझदारी बनेको छ । मलाई आशा छ, संयन्त्रमार्फत संवाद सुरु हुन्छ ।’
समीकरण टुट्दैन, पूरै समय चल्छ
प्रधानमन्त्री प्रचण्डले एमालेसहित पाँचदलीय समीकरणमा बनेको वर्तमान सरकार पूर्ण कार्यकाल सञ्चालन हुने बताएका छन् । ‘मेरो नेतृत्वमा सरकार बनेदेखि र पटक–पटक विश्वासको मत लिने वेलादेखि नै कतै न कतै कुनै न कुनै कर्नरबाट सिद्धिहाल्छ, टुटिहाल्छ भन्न थालेको डेढ वर्ष भयो, तर टुटेको छैन, टुट्दैन, पूरै समय चल्छ, हेर्दै जानुहोला,’ उनले भने । भारत भ्रमणअघि भारतस्थित नेपाली राजदूतसहित अघिल्ला सरकारले नियुक्त गरेका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गर्नु संयोग मात्रै भएको बताए । ‘राजदूत फिर्ताको निर्णय यही वेला पर्नु संयोग मात्रै हो, तर त्यो कुरा (यही वेला फिर्ता गर्ने निर्णयलाई) हामी कसैले त्यति ध्यान नपुगेकोचाहिँ हो, क्याबिनेटमा विषय प्रस्तुत त भयो, दुई दिन रोक्न पनि सकिन्थ्यो,’ उनले भने ।
संसद् विघटनबारे ओलीको अभिव्यक्तिमाथि प्रतिक्रिया– स्वाभाविक छ, असहज मानेको छैन
एमालेलाई बचाउन दुईपटक संसद् विघटन गरेर ठीक गरेको एमाले अध्यक्ष केपी ओलीको पछिल्लो अभिव्यक्ति स्वाभाविक भएको प्रधानमन्त्री प्रचण्डले बताए । ‘एमाले अध्यक्ष केपी ओलीजीले यो भावना सधैँ राख्दै आउनुभएको छ । त्यो भावना उहाँले आफ्नो पार्टीमा प्रस्तुत गर्नुभएको धारणा हो । यसले अहिले हाम्रो सम्बन्धलाई केही पनि असर गर्दैन,’ प्रचण्डले भने ।