नेपालको कोशी प्रदेशको पूर्वी भू-भागमा यस वर्षकाे मनसुन भित्रिएको छ। नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो।
यस वर्षको मनसुन सरदर मितिभन्दा तीन दिन छिटो गरी नेपालमा प्रवेश गरेको छ। नेपालको अन्य भू-भागहरूमा भने केही दिनमा क्रमिक रूपमा मनसुनअगाडि बढ्ने देखिन्छ।
नेपालमा वर्षभरको ८० प्रतिशत पानी बर्खायाममा पर्छ। यसपटक मनसुनयाममा देशभर औसतभन्दा धेरै पानी पर्ने आकलन जल तथा मौसम विज्ञान विभागले गरेको छ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीपहिरोलगायत विपत्का घटनाबाट चार लाख घरपरिवारका १८ लाख एक हजार जनसंख्या प्रभावित हुने आकलन गरेको छ।
प्रभावित जनसंख्यामध्ये ८३ हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुन सक्ने र १८ हजार घरपरिवारलाई उद्धार गरी राहत उपलब्ध गराउनुपर्ने प्रक्षेपण गरिएको छ।