मकवानपुरको मनहरीमा एकै दिन तीनवटा पुलको उद्घाटन

आइतबार, २७ जेठ, २०८१
डिजिटल संस्करण

मकवानपुरको मनहरी गाउँपालिकाले आफ्नै आन्तरिक स्रोतबाट निर्माण गरेको तीनवटा पक्की पुलको शनिबार उद्घाटन गरिएको छ । कांग्रेस बागमती प्रदेश सभापति एवं प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँ र गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले संयुक्त रूपमा पुलको उद्घाटन गरेका हुन् ।

पालिकाको वडा नम्बर १ र २ जोड्ने च्यापलखोला पुल, वडा नम्बर ३ र ४ जोड्ने मसिनेखोला पुल र वडा नम्बर ४ र ५ जोड्ने ट्वाङग्राखोला पुलको शनिबार उद्घाटन गरिएको हो । गाउँपालिकाले पुल निर्माणका लागि करिब २० करोड रुपैयाँ खर्च गरेको अध्यक्ष रञ्जन कालाखेतीले जानकारी दिए ।

अध्यक्ष कालाखेतीका अनुसार १ र २ नम्बर जोड्ने च्यापलखोला पुल ट्रिपल स्पानको ९७ मिटर लामो रहेको छ । उक्त पुल ६ करोड २८ लाख ९८ हजार रुपैयाँमा निर्माण गरिएको हो । यस्तै, मनहरीको ३ र ४ नम्बर वडालाई जोड्न बनाइएको ६४.१५ मिटर लम्बाइको मसिनेखोला पुल ६ करोड ४९ लाख ६० हजार रुपैयाँ लागतमा निर्माण गरिएको छ ।

यसैगरी, ४ र ५ नम्बर वडाको गोलघर र मिलडाँडा जोड्ने ७४.५५ मिटर लम्बाइको ट्वाङग्राखोला पुल ६ करोड ५९ लाख ५० हजार ६३ रुपैयाँ लागतमा निर्माण गरिएको हो । सात मिटर चौडाइ रहेका तीनवटै पुलको निर्माणको काम हिराचन/बानियाँ जेभीले गरेको हो ।

पुलको उद्घाटनपछि बोल्दै प्रदेश सांसद बानियाँले कृषि उत्पादन, तरकारी तथा दुधको पकेट क्षेत्र मानिने मनहरीमा निर्माण भएका पुलले यहाँका किसानलाई आफ्नो उत्पादन बजारसम्म पुर्याउन सहज हुने विश्वास व्यक्त गरे । उनले यस क्षेत्रको विकासका लागि प्रदेश सरकारबाट बजेट विनियोजनका लागि सक्दो पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

गाउँपालिकाले आर्थिक वर्ष ०७७/७८ मा आन्तरिक स्रोतबाट पाँचवटा पक्की पुल निर्माणको काम सुरु गरेको जानकारी दिँदै अध्यक्ष कालाखेतीले कुल ३३ करोड ४० लाख ६५ हजार लागतमा पाँचवटा पुलको ठेक्का लागेकोमा तीनवटा पुलको निर्माण कार्य सम्पन्न भएको जानकारी दिए । बाँकी दुईवटा पुलको निर्माण कार्य मंसिरसम्म सम्पन्न भइसक्ने उनले बताए ।

अध्यक्ष कालाखेतीका अनुसार ठाडोखोलामा बनिरहेको पुलको निर्माण कार्य ८५ प्रतिशत र हाँडीखोला पुल ६३ प्रतिशत सम्पन्न भइसकेको छ । निर्माणाधीन अवस्थामा रहेका बाँकी दुईवटा पुलको निर्माण कार्य छिट्टै सम्पन्न गर्न निर्माण व्यवसायीलाई आवश्यक सहयोगका साथै दबाबसमेत दिइरहेको अध्यक्ष कालाखेतीले बताए । पुल निर्माण भएपछि स्थानीय सर्वसाधारणका साथै, कृषक, विद्यार्थी, बिरामी अशक्तसबैलाई आवतजावतमा सहज हुने उनको विश्वास छ ।
 

See More On

सुझावित समाचार