मोदीको शपथग्रहणमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने

नरेन्द्र मोदीले आइतबार साँझ ७ बजे तेस्रो कार्यकालका लागि शपथग्रहण गर्ने तय

शुक्रबार, २५ जेठ, २०८१
डिजिटल संस्करण

राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए)को समर्थनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार (९ जुन) साँझ ७ बजे तेस्रो कार्यकालका लागि शपथग्रहण गर्ने तय भएको छ । उनको निमन्त्रणामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शपथग्रहण समारोहमा सहभागी हुने भएका छन् । 

राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति द्रौपदी मुर्मूले प्रधानमन्त्री मोदी र मन्त्रिपरिषद् सदस्यहरूलाई शपथग्रहण गराउने कार्यक्रम छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले भारतीय समकक्षी मोदीको शपथग्रहणमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।

दिल्लीस्थित भारतीय विदेश मन्त्रालयमा बिहीबार साँझ भएको छलफलमा भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा र नियोग उपप्रमुख डा. सुरेन्द्र थापालाई भारतीय चिफ अफ प्रोटोकल अंशुमान गौरलगायतका अधिकारीले शपथग्रहणको समयतालिका जानकारी दिएका छन् । प्रधानमन्त्री प्रचण्ड आइतबार दिल्ली आएर सोमबार फर्किने गरी भ्रमणको तयारी भइरहेको छ । प्रधानमन्त्री प्रचण्डको दिल्ली भ्रमणको सबै प्रबन्ध भारत सरकारले गर्नेछ । प्रधानमन्त्री प्रचण्डले यसअघि ३१ मेदेखि ३ जुन, २०२३ मा भारतको औपचारिक भ्रमण गरेका थिए ।

मोदीको शपथग्रहणमा प्रधानमन्त्री प्रचण्डसँगै भारत सरकारले श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र मोरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथलाई पनि निमन्त्रणा गरेको छ । 

मोदीको शपथग्रहणपछि प्रधानमन्त्री प्रचण्ड र मोदीबीच आइतबारै साइडलाइनमा भेटवार्ता गर्ने कार्यक्रम छ । तर, यो शिष्टाचार वार्ता मात्रै हुने जानकारी भारतीय पक्षले नेपाललाई दिएको छ । भारतीय प्रधानमन्त्री मोदी सिक्किम, उडिसा, अरुणाचल प्रदेश र सिक्किमका मुख्यमन्त्रीहरूको शपथग्रहणमा जानुपर्ने व्यस्तताका कारण उनले बोलाएका अतिथिहरूसँग शिष्टाचार वार्ता मात्रै गर्ने समय रहेको भारतीय कूटनीतिक स्रोतले जानकारी दिएको छ ।

मोदीले पहिलोपटक प्रधानमन्त्रीको शपथ लिँदा सन् २०१४ मा सार्क सदस्य मुलुकका नेता तथा मोरिससका प्रधानमन्त्रीलाई आमन्त्रित गरेका थिए । सन् २०१९ मा मोदीले दोस्रोपटक प्रधानमन्त्रीको शपथ लिँदा बिमस्टेक मुलुकका सदस्य र मोरिससका प्रधानमन्त्रीलाई निम्ता दिएका थिए । पहिलोपटक मोदीले शपथ लिँदा नेपालबाट प्रधानमन्त्री सुशील कोइराला सहभागी थिए भने दोस्रोपटकको शपथमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी थिए ।

बिहीबार भाजपा संसदीय दलको बैठक बसेर मोदीलाई नेता निर्वाचित गर्ने कार्यतालिका छ । एक भाजपा नेताका अनुसार बिहीबार एनडिएका सांसदहरूको सामूहिक बैठक पनि तय भएको छ । बैठकपछि मोदीले राष्ट्रपति मुर्मूलाई भेटेर प्रधानमन्त्रीमा बहुमतसहितको दाबी पेस गर्नेछन् । 

त्यसपछि मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा निर्वाचित हुनेछन् । एनडिएमा मन्त्रीहरूको भागबन्डाको विषय शनिबारसम्म तय हुनेछ । यसबारे बिहीबार भाजपा अध्यक्ष जयप्रकाश नड्डाको निवासमा भाजपा नेताहरूले छलफल गरेका थिए । 

परराष्ट्रमा हलचल : भारतसहित ११ देशका लागि राजदूत फिर्ता

सरकारले भारत, अमेरिका र बेलायतसहित ११ देशका राजदूत एकैपटक फिर्ता बोलाएको छ । कांग्रेस र जसपा नेपालको कोटाबाट नियुक्त भएका राजदूत फिर्ता बोलाउने सूचीमा छन् । कूटनीतिक स्रोतका अनुसार सरकारले राजदूतहरूलाई एक महिनाको समय दिएर फिर्ता हुन भनेको छ ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले उनीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार दिल्ली आउने तयारी भइरहेका वेला भारतका लागि राजदूत डा. शंकरप्रसाद शर्मा पनि फिर्ता हुने सूचीमा परेका छन् । 

एक सातापछि राजदूत फिर्तासम्बन्धी निर्णय गर्ने प्रधानमन्त्री प्रचण्डको चाहना भए पनि एमाले अध्यक्ष केपी ओलीको दबाबमा हतारमा राजदूत फिर्ताको निर्णय भएको स्रोतले जनाएको छ । भारतका राजदूत फिर्ता गर्ने विषयमा बिहीबार बिहान प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठबीच छलफल भएको थियो । 

उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्रीको भारत भ्रमणभन्दा अघि भारतका लागि राजदूत फिर्ता गर्दा राम्रो सन्देश नजाने भन्दै एक सातापछि निर्णय गर्न सुझाव दिएका थिए । तर, प्रधानमन्त्रीले आफूमाथि दबाब भएको संकेत दिएका थिए ।

राजदूत फिर्ताको निर्णय सार्वजनिक हुँदा भारतका लागि राजदूत शर्मा विदेश मन्त्रालय साउथ ब्लकस्थित प्रोटोकल डिभिजनमा प्रधानमन्त्रीको भारत भ्रमणबारे बैठकमा सहभागी थिए । राजदूत शर्माले आफूलाई फिर्ता गर्ने सरकारी निर्णयबारे प्रतिक्रिया दिएनन् । 

सरकारले भारतका लागि राजदूत शर्मासहित अमेरिकाका लागि राजदूत श्रीधर खत्री, बेलायतका लागि राजदूत ज्ञानचन्द्र आचार्य, दक्षिण कोरियाका लागि ज्योति प्याकुरेल, साउदी अरबका लागि राजदूत नवराज सुवेदी, कतारका लागि राजदूत नरेशविक्रम ढकाल, मलेसियाका लागि राजदूत डिल्लीराज पौडेल, इजरायलका लागि राजदूत कान्ता रिजाल, डेनमार्कका लागि राजदूत डा. रामस्वार्थ राय, स्पेनका लागि राजदूत शर्मिला पराजुली ढकाललाई फिर्ता गरेको छ । 

पोर्चुगलका लागि राजदूत नियुक्त भएका, तर जान नपाएका राजदूत सनिल नेपालको नियुक्ति पनि मन्त्रिपरिषद्ले बदर गरेको छ । उनी कांग्रेसको कोटाबाट राजदूत नियुक्त भएका थिए । मन्त्रिपरिषद्ले एमाले र जसपा (अशोक राई पक्ष), जनमत पार्टीको भागबन्डामा ११ देशका लागि चाँडै राजदूत सिफारिस गर्नेछ । 

See More On

सुझावित समाचार