मनसुन पूर्वतयारीबारे गृहमन्त्रीले सदनलाई गराए जानकारी

बिहिबार, २४ जेठ, २०८१
डिजिटल संस्करण

तीनवटै सुरक्षा निकायको तालिमप्राप्त जनशक्ति तयारी अवस्थामा

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले मनसुन पूर्वतयारीबारे सदनलाई जानकारी गराएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा विशेष समय लिएर उनले नीतिगतदेखि कार्यगत तयारी गरिएको जानकारी गराए । 

‘सीमित साधन–स्रोत, तर असीमित विपत् जोखिम, जलवायुजन्य विषमताका कारण विपत् जोखिममा आएको तीव्रता एवं प्रवृत्तिमा आएको परिवर्तनको चुनौतीबीच नागरिकको जीवन बचाउने कुरा सबैभन्दा महत्वपूर्ण छ,’ उनले भने, ‘कुनै नीति, नियम, नियमावलीले पूर्वतयारी एवं प्रतिकार्यमा अवरोध गर्न हुँदैन भनेर लागिपरेको छु । कुनै निर्णय गर्नुपर्यो भने तत्काल पहल गर्नेछु ।’ मन्त्री लामिछानेले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना पारित गरी कार्यान्वयनका लागि सबै मन्त्रालय, विभाग तथा अन्य सम्बद्ध निकायलाई निर्देशन दिइएको र प्रदेश तथा स्थानीय सरकारलाई अनुरोध गरेको बताए । 

यस वर्ष विपत्बाट करिब १८ लाख एक हजार नागरिक र चार लाख १२ हजार घरधुरी कुनै न कुनै रूपमा प्रभावित हुन सक्ने अनुमान रहेको उल्लेख गर्दै मन्त्री लामिछानेले मनसुनजन्य विपत्बाट ८३ हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुन सक्ने र १८ हजार घरपरिवारलाई मनसुनजन्य विपत्मा उद्धार तथा राहत दिनुपर्ने आकलन पनि गरिएको जानकारी गराए । 

मनसुन अवधिभरका लागि सबै सुरक्षा निकाय र विपत् व्यवस्थापनसँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न मन्त्रालय र विभागका प्रथम श्रेणीका अधिकारीले कार्य गर्ने गरी मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमान्ड पोस्टको स्थापना गरिएको उनले उल्लेख गरे । ‘कमान्ड पोस्टले मौसम पूर्वानुमानको जानकारी लिई र जोखिमको आकलन गरी प्रभावका आधारमा पूर्वतयारी र एवं विपत्का घटनापछिको प्रतिकार्यको योजनाको प्रभावकारी कार्यान्वयन गर्न÷गराउन अन स्टप सेन्टरका रूपमा संयोजनकारी भूमिका खेल्नेछ,’ उनले भने, ‘यसै पोस्टले विपत् व्यवस्थापनका लागि परिचालित हुने सरकारी, गैरसरकारी एवं वैदेशिक सहयोगबाट प्राप्त हुने सामग्रीको परिचालनमा समेत समन्वय गर्नेछ ।’

मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना बनेपछि केही पूर्वतयारीका काम भएको लामिछानेले उल्लेख गरे । उनका अनुसार पुलपुलेसाको सुरक्षाका लागि तत्काल थुप्रिएका सामग्री नियमानुसार हटाउन भनिएको छ । सीमावर्ती भारतीय प्रशासकसँग समन्वय गरी नाला तथा ड्रेनेजहरू सफा गरी प्राकृतिक बहावलाई कायम गराउन सिडिओहरूलाई निर्देशन गरिएको छ । उनका अनुसार विपत्को अवस्थामा फ्री इमर्जेन्सी कलको व्यवस्था गरिएको छ । देशका विभिन्न भागमा सडक खोल्न हेभी इक्वुप्मेन्ट तैनाथ गरिएको छ । तत्काल परिचालन गर्न सक्ने गरी नेपाली सेनाका सबै हेलिकोप्टर तयारी अवस्थामा राखिएको छ । तीनवटै सुरक्षा निकायको तालिमप्राप्त जनशक्ति तयारी अवस्थामा राखिएको गृहमन्त्री लामिछानेले बताए ।
 

सुझावित समाचार