पुँजीगत खर्चमा कडा हुन अर्थमन्त्रीलाई सांसद पन्तकाे आग्रह

सोमबार, २१ जेठ, २०८१
डिजिटल संस्करण
पुँजीगत खर्चमा कडा हुन अर्थमन्त्रीलाई सांसद पन्तकाे आग्रह

फाक्षल तस्बिर

नेकपा एमालेका नेता एवं सांसद रघुजी पन्तले बजेटको प्रभावकारी कार्यान्वयनका लागि आर्थिक अनुशासनहीनतालाई नियन्त्रण गर्नुपर्ने सुझाव दिएका छन्

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष ०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उनले तोकिएको राजस्व नउठे के गर्ने भनी प्रश्न गरे। 

उनले भने, ‘अघिल्लो वर्ष पनि तोकिएको लक्ष्यअनुसार राजस्व उठेन, यो बजेटमा पनि निर्धारित राजस्व उठेन भने कसरी पूर्ति गर्नुहुन्छ?’

बजेटमार्फत कृषि लगानी वर्ष घोषणा गरिए पनि बजेट घटेको भन्दै उनले लक्ष्य हासिल हुनेमा शंका व्यक्त गरे। अनुत्पादक पुँजीगत बजेटलाई पनि कटौती गर्नुपर्ने उनको धारणा थियो।

बजेटमा केही अन्तरविरोधी विषय भएको उल्लेख गर्दै सांसद पन्तले राखिएका लक्ष्य पूरा हुनेमा आशंका व्यक्त गर्दै बजेट कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए। 

‘विभिन्न आशंका छन्। बजेटलाई यथार्थवादी भएर समीक्षा गर्दै पुँजीगत खर्चमा कडा हुन अर्थमन्त्रीलाई मेरो आग्रह छ,’ उनले भने। यसैगरी काठमाडौं–हेटौँडा द्रुतमार्ग बनेमा पेट्रोलियम पदार्थमा जाने ठूलो रकम बचत हुने भन्दै उनले उक्त आयोजना चाँडो कार्यान्वयन गर्न आवश्यक बजेट व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो। 

सुझावित समाचार