संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रु गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संखुवासभा आउने भएका छन् । मंगलबार प्रधानमन्त्रीले अरुण तेस्रोको एक समारोहबीच ब्रेक थ्रु गर्ने कार्यक्रम तय भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए ।
अरुण तेस्रोको ब्रेक थ्रु गर्न प्रधानमन्त्री प्रचण्डले गर्ने निश्चित भइसकेको र भारत सरकारको तर्फबाट आउने उच्च पदाधिकारीबारे टुंगो नलागिसकेको अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माण गरिरहेको भारतीय सतलज कम्पनी (एसजेबिएन)का सिइओ अरुण धिमानले जानकारी दिए ।
प्रधानमन्त्रीले अरुण तेस्रोको ड्यामसाइट र पावारहाउसको हेलिकोप्टरबाटै अनुगमनसमेत गर्ने कार्यक्रम छ । बहुचर्चित अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङ मकालु– ५ फ्याक्सिन्दाको आमराङदेखि चिचिला गाउँपालिका– ३ दिदिङ पुखुवाको पावरहाउसमा निस्कने सुरुङको ब्रेक थ्रु गरिने भएको हो ।
फ्याक्सिन्दादेखि पुखुवा निस्कने मुख्य सुरुङको लम्बाइ ११.८३७ किलोमिटर छ । सो सुरुङ छिचिलोएकाले ब्रेक थ्रु गरिने भएको हो । प्रधानमन्त्री प्रचण्ड मंगलबार बिहान १० बजे आमराङमा अरुण तेस्रो सुरुङको ब्रेक थ्रु गरी हेलिकोप्टरमार्फत पावरहाउस स्थल पुखुवाको कार्यक्रममा सहभागी हुनेछन् ।