अमेरिका र वेस्ट इन्डिजको विजयी सुरुवात

सोमबार, २१ जेठ, २०८१
डिजिटल संस्करण

आयोजक राष्ट्रद्वय वेस्ट इन्डिज र अमेरिकाले आइसिसी टी–२० विश्वकपमा विजयी सुरुवात गरेका छन् । सहआयोजक अमेरिकाले उद्घाटन खेलमा कीर्तिमान रच्दै क्यानडालाई सात विकेटले हरायो । वेस्ट इन्डिजले गुयनामा भएको खेलमा पपुवा न्युगिनी (पिएनजी) लाई पाँच विकेटले हराएको हो ।

जितसँगै वेस्ट इन्डिजले समूह ‘सी’मा २ अंक जोड्यो । दोस्रोपटक विश्वकप खेलिरहेको पिएनजीले जितका लागि अर्काे खेल कुर्नुपर्ने भएको छ । हालसम्म विश्वकपमा चार खेल खेल्दा टोली जितविहीन छ । आइतबार पहिलो ब्याटिङ गरेको पिएनजीले आठ विकेट गुमाउँदै १३७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा वेस्ट इन्डिजले १९ ओभरमा पाँच विकेट गुमाउँदै जित निकालेको हो । वेस्ट इन्डिजको जितमा रोस्टन चेजले २७ बलमा चार चौका र दुई छक्कासहित ४२ रन बनाए । त्यसअघि पिएनजीका सेसे बाउले ५० रन बनाएका थिए । 

अमेरिकाको कीर्तिमानी जित
कीर्तिमान रच्दै अमेरिकाले घरेलु मैदानमा भएको उद्घाटन खेलमा क्यानडालाई हरायो । क्यानडा र अमेरिका दुवैले विश्वकपमा डेब्यु गरेका हुन् । यसपटक दुई टोलीसँगै युगान्डाले पनि डेब्यु गर्दै छ । डालासमा भएको खेलमा पहिला ब्याटिङ गरेको क्यानडाले पाँच विकेट गुमाउँदै १९५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । अमेरिकाले १७.४ ओभरमा मात्र तीन विकेट गुमाएर जित निकालेको हो । टी–२० आईमा अमेरिकाले ठूलो लक्ष्य पछ्याएर पहिलोपटक जित निकालेको हो । टी–२० विश्वकपमा तेस्रोपटक ठूलो स्कोरको लक्ष्य पूरा भएको हो । यसअघि २०१६ मा इंग्ल्यान्डले दक्षिण अफ्रिकाविरुद्ध २३० र २००७ मा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजविरुद्ध २०६ रनको लक्ष्य पूरा गरेका थिए । 

अमेरिकाले एकै ओभरमा सर्वाधिक रन बनाउने कीर्तिमान पनि बनाएको छ । उसले १४औँ ओभरमा ३३ रन बनाएको छ । यसअघि २००७ मा इंग्ल्ल्यान्डको स्टुआर्ट ब्रान्डले भारतविरुद्ध एकै ओभरमा ३६ रन दिएका थिए । त्यस्तै, टी–२० आईमा अमेरिकाले सर्वाधिक ठूलो साझेदारी पाएको छ । आरोन जेम्स र एन्ड्रेस गौसले १३१ रनको साझेदारी गर्दै सहज जित दिलाएका हुन् । जोनेसले ४० बलमा चार चौका र दश छक्कासहित सर्वाधिक ९४ रन बनाएका थिए । एन्ड्रिसले ४६ बलमा सात चौका र तीन छक्कासहित ६५ रन बनाए । त्यसअघि पहिलो इनिङ्समा क्यानडाका ओपनर नभनित धलिवालले ६१ तथा निकोलस किर्टनले ५१ रन बनाएका थिए । 

सुझावित समाचार