पाँच सय युवा ठगीमा संलग्न पाण्डेलाई समातेर बुझाउने युवाविरुद्ध अपहरण मुद्दा

आइतबार, २० जेठ, २०८१
डिजिटल संस्करण

नुवाकोट बेलकोटगढी नगरपालिका– १३ मदनपुरका ३७ वर्षीय श्यामराज पाण्डेले अमेरिका र क्यानडा पठाउने प्रलोभनमा युवाबाट करोडौँ रुपैयाँ असुले । पाण्डेले युवालाई न अमेरिका लगे, न क्यानडा नै । रनाहामा परेका पीडित युवाले पाण्डेलाई पक्राउ गरी प्रहरी कार्यालयमा बुझाए । तर, प्रहरीले पीडितलाई उल्टै पक्राउ गरी अपहरण तथा शरीर बन्धकको मुद्दा लगाएर थुनेको छ । 

पर्वतको जलजला गाउँपालिका– ८, नाग्लिबाङका २३ वर्षीय दामोदरा भनिने विज्ञान रेग्मी र दाङका श्रवणकुमार ओली शरीर बन्धक तथा अपहरण मुद्दामा ७ जेठदेखि प्रहरी वृत्त दरबारमार्गको हिरासतमा छन् । रेग्मी र ओलीसँगै पक्राउ परेर छुटेका लमजुङको मध्यनेपाल नगरपालिका– ६ का पूर्णचन्द्र पोखरेलले ठगीमा संलग्न पाण्डेलाई समातेर प्रहरी कार्यालयमा बुझाउँदा उल्टै थुनिनुपर्ने अवस्था आएको बताए । ‘अनेक प्रलोभनमा पारी पाण्डेले विज्ञान र श्रवणबाट ठूलो रकम असुलेका रहेछन् । मेरो छोराबाट पनि पाण्डेले १८ लाख लिएका थिए । गत ७ जेठमा पाण्डेले मसहित अन्य पीडितलाई रकम दिने भनेर धुम्बाराहीस्थित रेस्टुरेन्टमा बोलाए । पीडित रेस्टुरेन्टमा भेला भए । जब हिसाब–किताबको कुरा आयो, पाण्डेले उल्टै पीडितलाई हातपात गरे । हामीले पाण्डेलाई समातेर प्रहरी वृत्त दरबारमार्ग लग्यौँ । प्रहरीले उल्टै हामीलाई पक्राउ ग¥यो । हार–गुहारपछि मसहित अन्य युवा छुटे पनि विज्ञान र श्रवणलाई प्रहरीले अपहरण तथा शरीर बन्धक कसुरमा मुद्दा चलाएको छ,’ उनले भने ।

पीडितका अनुसार विज्ञानले पाण्डेलाई दुई वर्षअघि २५ लाख रुपैयाँ दिएका थिए । क्यानडास्थित आफ्नै कम्पनीमा रोजगारी उपलब्ध गराइदिने प्रलोभनपछि उक्त रकम दिएका थिए । त्यस्तै, मेडिकल सामग्री उपलब्ध गराइदिने प्रलोभनमा पाण्डेले श्रवणसँग ८० लाख रुपैयाँ असुलेका थिए । तर, पाण्डेले न विज्ञानलाई अमेरिका पठाए, न श्रवणलाई मेडिकल सामग्री नै उपलब्ध गराए । फरार पाण्डे गत ७ जेठमा एकाएक कमलादीस्थित रविन चाम्लिङबाट सञ्चालित लेजेन्ड नामक कम्पनीमा फेला परेका थिए । पीडित युवाले रविनको कार्यालय घेरा हालेपछि पाण्डेले सबैलाई धुम्बाराहीस्थित स्मार्ट क्याफेमा आउन भने । पाण्डे ट्याक्सीमा चढे । भाग्न सक्ने देखिएपछि पीडितमध्येका विज्ञान र श्रवण पनि पाण्डेसँगै ट्याक्सीमा चढे । तर, क्याफेमा प्रवेश गरेपछि आर्थिक हिसाब गर्न आग्रह गर्दा पाण्डे हातपातमा उत्रिएका थिए भने युवाहरू पनि उनीमाथि जाइलागेका थिए । त्यसपछि पाण्डेविरुद्ध पक्राउ पुर्जी भएका लमजुङका पूर्णचन्द्र पोखरेललगायत मिलेर महाराजगन्ज प्रहरी वृत्तमा लैजाने तयारी गरे । किनभने घटना महाराजगन्ज वृत्तको क्षेत्राधिकारभित्र भएको थियो ।

यसैक्रममा प्रहरी वृत्त दरबारमार्गका प्रमुख डिएसपी गोविन्द थापाको फोन आयो । फोनमा डिएसपी थापाले पाण्डेलाई महाराजगन्ज वृत्त नभई दरबारमार्ग वृत्त ल्याउन भने । पीडितले पाण्डेलाई ट्याक्सीमा राखेर सरासर दरबारमार्ग पु¥याए । पाण्डे वृत्त प्रमुख डिएसपी थापाको कार्यकक्षमा छिरे । उनको हाउभाउ फेरियो, उनले आफू अपहरणमा परेको भन्दै सबै पीडितलाई पक्राउ गर्न भने । डिएसपी थापाले दायाँबायाँ नहेरी उल्टै आठ पीडितलाई थुन्न लगाए । हार–गुहारपछि पोखरेलसहित ६ पीडित आठ घण्टापछि छुटे । तर, विज्ञान र श्रवणलाई भने प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दा चलायो । 

पीडितमध्येका स्याङ्जा गल्याङ नगरपालिका– १० का गोविन्दप्रसाद उपाध्यायले अनाहकमा उल्टै पीडितले आठ दिनदेखि प्रहरी हिरासतमा मुद्दा खेपिरहेको गुनासो गरे । ‘घटनाको दिन पाण्डेले हामीलाई डुबेको रकम फिर्ता दिन रेस्टुरेन्टमा बोलाए । हामी रेस्टुरेन्ट पुग्यौँ । तर, उनले रकम दिनुको सट्टा निहुँ खोज्न थाले । हामी संयमित भयौँ । हुँदाहुँदा पाण्डेले विज्ञानलाई हातपात गरे । हामी छुट्याउन लाग्यौँ । अन्य पीडित युवा पनि आक्रोशित भए । उनीहरूले पनि एक–दुई मुक्का हाने । हामीसँग पाण्डेविरुद्ध पक्राउ पुर्जी थियो । त्यसपछि लिएर प्रहरी कार्यालय पुग्यौँ । तर, प्रहरीले उल्टो हामीलाई पो थुन्यो । आठ घण्टापछि हामी त छुट्यौँ । तर, दुई युवाविरुद्ध अपहरण तथा शरीर बन्धकको मुद्दा चलाएर अहिलेसम्म थुनिरहेको छ ।’ 

प्रहरी वृत्त दरबारमार्गका प्रमुख डिएसपी थापाले शरीर बन्धक तथा अपहरण मुद्दामा विज्ञान र श्रवणविरुद्ध मुद्दा चलाइएको स्वीकार गरे । उनले भने, ‘श्यामराज पाण्डेलाई  केही युवाले अपहरण गरेको देखियो । जसमा विज्ञान र श्रवणको मुख्य भूमिका रहेको खुल्यो । त्यसो हुँदा उनीहरूविरुद्ध शरीर बन्धक तथा अपरण कसुरमा म्याद थप भई अनुसन्धान भइरहेको छ ।’

गत ७ जेठमा दरबारमार्ग प्रहरी वृत्तमा पक्राउ पुर्जीसहित जिम्मा लगाइएका पाण्डेलाई प्रहरीले पक्राउ गरेन । बरु उनलाई पक्राउ गरेर वृत्त कार्यालयसम्म पु¥याउने पीडित युवालाई पक्राउ ग¥यो । वृत्त प्रमुख डिएसपी थापाले पाण्डेलाई आफ्नै कार्यकक्षस्थित सोफामा राखे भने पीडितलाई थुनामा पठाए । यही क्रममा अर्का एक पीडित पाण्डेविरुद्ध सर्वोच्च अदालतले जरिवानासहित डेढ वर्ष जेल सजाय ठहर गरेको फैसलासहितको पत्र लिएर वृत्त प्रमुख डिएसपी थापाकहाँ उपस्थित भए । उनी बल्ल झस्किए । त्यसपछि पाण्डेलाई सजाय भुक्तान गर्न डिल्लीबजारस्थित कारागार चलान गरियो । तर, पीडित दुई युवालाई पनि अपहरण तथा शरीर बन्धक कसुरमा मुद्दा चलाइयो । पाण्डेविरुद्ध सर्वोच्च अदालतले १६ फागुन ०७८ मा वैदेशिक रोजगार कसुरमा दोषी प्रमाणित गर्दै एक लाख ५० हजार जरिवाना, चार लाख ८७ हजार पाँच सय क्षतिपूर्ति र एक वर्ष ६ महिना कैद सजाय ठहर गरेको थियो । तर, पाण्डे फरार थिए । उनले क्यानडा पठाइ दिने प्रलोभनमा १७ असार ०६५ मा ललितपुर मनपा–९ च्यासलका पुरुषोत्तम खतिवडासँग नौ लाख ७५ हजार लिएका थिए । 

पाण्डेविरुद्ध वैदेशिक रोजगार विभागमा ३२ पक्राउ पुर्जी 
नुवाकोटको बेलकोटगढी नगरपालिकाका ३७ वर्षीय श्यामराज पाण्डे आफूलाई बायोग्यास, सोलार पावर, विन्ड पावर, वेस्ट म्यानेजमेन्ट, वेस्ट वाटर ट्रिटमेन्ट र कृषिको विज्ञका रूपमा परिचित गराउँछन् । उनले क्यानडामा लिब्रा टेक्नोलोजी नामको आफ्नो संस्था रहेको र उक्त संस्थाको अध्यक्ष आफैँ रहेको दाबी गर्छन् । सोही संस्थामा जागिर लगाइदिने भन्दै युवा भेला पार्छन्, पैसा असुल्छन् र फरार हुन्छन् । पीडितका अनुसार उनले सोही प्रलोभनमा ५ सयभन्दा धेरै युवाबाट १८ करोड रुपैयाँभन्दा धेरै असुलेका छन् । उनीविरुद्ध वैदेशिक रोजगार विभागबाट मात्रै ३२ भन्दा धेरै पक्राउ पुर्जी जारी भएको छ ।  

विभागका प्रवक्ता तथा सूचना अधिकारी गुरुदत्त सुवेदीले पाण्डेविरुद्ध रोजगार विभागमा धेरै उजुरी परेको बताए । उनले भने, ‘श्यामराज पाण्डेविरुद्ध हामीकहाँ धेरै उजुरी परेका छन् । उजुुरीमा दाबी गरिएको रकमको परिमाण पनि ठूलै हुनुपर्छ । उनीविरुद्ध पक्राउ पुर्जी पनि जारी भएका छन् । कतिपय घटनामा अनुसन्धान भइरहेको छ ।’ठगीमा संलग्न पाण्डेसँग १२३४३४१२ र १०५९५१२५ नम्बरका दुई राहदानी(मेसिन रिडेबल पासपोर्ट) छन् । जसलाई वैदेशिक रोजगार विभागले समेत पुष्टि गरेको छ । तर, घटना सम्बन्धमा हालसम्म अनुसन्धान भएको छैन । यस सम्बन्धमा नयाँ पत्रिकाले यसअघि नै समाचार लेखेको थियो । प्राप्त विवरणअनुसार पाण्डेले प्रयोग गर्ने १२३४३४१२ नम्बरको एउटा राहदानी २५ अगस्ट ०२१ मा जारी भएको देखिन्छ, जसको म्याद २४ अगस्ट ०३१ सम्म छ । जसमा प्रयोग भएको नागरिकता नम्बर १३७७६ छ । त्यस्तै, १०५९५१२५ नम्बरको अर्को राहदानी भने २३ अक्टोबार ०१७ मा जारी भएको देखिन्छ । राहदानीको म्याद २२ अक्टोबर ०२७ सम्म रहेको देखिन्छ । उक्त राहदानीमा नागरिकता नम्बर ७३७७६ प्रयोग भएको छ । दुवै राहदानीमा बाहकको नाम श्यामराज पाण्डे उल्लेख छ । जन्ममिति ३ डिसेम्बर १९८३ उल्लेख छ । ठेगानामा नुवाकोट भनिएको छ । दुवैमा श्रीमती नवीना पन्त उल्लेख छ । वैदेशिक रोजगारको नाममा दलाली गर्ने पाण्डेले डोटीको पूर्वीचौकी गाउँपालिकामा ६० मेगावाटको सोलार पावर बनाउने भन्दै योजना स्वीकृत गराई डिपिआरका लागि १५ लाख लिएर सम्पर्कविहीन बनेका थिए । अछामको रामारोशन गाउँपालिकामा पनि १० मेगावाटको सोलार पावर बनाउने भन्दै योजना स्वीकृत गराई डिपिआरका लागि १५ लाख लिएर लापत्ता भएका थिए । 

पाण्डेले स्थानीय तहका नेतृत्वसँग परिचित गराउने, प्रोजेक्ट स्वीकृत गराउने, रकम लिने र केही अवधि काम गरेजस्तो गरेर सम्पर्कविहीन बन्ने गरेका थिए । ठगीका लागि उनले स्काई ब्लु टेक्नोलोजी कम्पनी नै दर्ता गराएका थिए  । उनले पोखरा महानगरपालिकाबाट पाँच वर्षका लागि बायोग्यास, सोलार पावर, विन्ड पावर, वेस्ट म्यानेजमेन्ट, वेस्ट वाटर ट्रिटमेन्ट र कृषि विषयको ‘कन्सल्टेन्ट’का रूपमा नियुक्ति नै लिएका थिए । पाण्डे आफू टेलिभिजनको पत्रकारसमेत भएको भनेर परिचित गराउँदै आएका थिए । उनले इमरलेन्ड प्लानेट टिभीको प्रेस पास नै बनाएका छन् । प्राप्त प्रेसपासअनुसार उनी टेलिभिजनको ‘कन्ट्री रिप्रेजेन्टेटिभ’ हुन् ।

See More On

सुझावित समाचार