तराईको उखरमाउलो गर्मीमा झ्याप्पझ्याप्प गइरहेछ बिजुली

आइतबार, २० जेठ, २०८१
डिजिटल संस्करण
तराईको उखरमाउलो गर्मीमा झ्याप्पझ्याप्प गइरहेछ बिजुली

नेपालगन्जमा गर्मीको मारले जनजीवन प्रभावित छ, गर्मीबाट जोगिन उखुको चिसो जुस पिउँदै सर्वसाधारण

उत्पादन बढेको भन्दै विद्युत् प्राधिकरणले १४ जेठदेखि भारतमा यो सिजनको निर्यात थालेको छ, तर खपिनसक्नु गर्मी चढेको तराईमा यही वेला झ्याप्पझ्याप्प बिजुली गइरहेको छ, यसले नागरिकको सास्तीमा ‘आगोमा घिउ’ थपेझैँ भएको छ

तापक्रम बढेसँगै तराईमा उखरमाउलो गर्मी खपिनसक्नु छ । यति नै वेला विद्युत् लो भोल्टेज र अनियमित हुँदा सर्वसाधारणलाई चर्को गर्मीमा ‘आगोमा घिउ’ थपेझैँ भएको छ । दिउँसोका काम प्रभावित हुने मात्रै होइन, राति निदाउनसमेत सकस भइरहेको छ । 

बत्ती गएका वेला राति पनि सुत्न नसक्ने अवस्था रहेको नेपालगन्ज उपमहानगरपालिका– १२, कोरियनपुरका वासुदेव शर्माले बताए । नेपालगन्जमा रातिको तापक्रम नै ३० डिग्री सेल्सियस छ । ‘बत्ती नगए पनि भोल्टेज कम हुन्छ, पंखा घुम्दैन,’ उनले भने । नेपालगन्जको अधिकतम तापक्रम शनिबार ४१.४ डिग्रीमा झरेको छ, यसअघि बिहीबार ४४.२ र शुक्रबार ४३ डिग्री थियो । 

कोहलपुरस्थित १३२ केभी प्रसारण लाइनमा १०८ केभी मात्र विद्युत् आपूर्ति भइरहेकाले लो–भोल्टेजको समस्या बढेको विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले बताए । त्यति मात्र होइन, गर्मीका कारण तार पग्लिँदा ट्रान्सफर्मर, मिटर बक्स जल्ने गरेका छन्, जसकारण पनि विद्युत् सेवा वेला–वेला अवरुद्ध भइरहेको छ । नेपालगन्ज क्षेत्रमा तार पग्लिँदा दैनिक २०–२५ घरमा समस्या हुने गरेको छ ।

कैलालीमा पनि बत्ती जाने र पावर कम हुने समस्या छ । गर्मी बढेर पंखा चलेकै वेला पनि बस्न गाह्रो भइरहेका वेला पटकपटक विद्युत् जाँदा झन् समस्या भएको धनगढीका स्थानीय बलबहादुर विकले बताए । ‘विद्युत् भएका वेला पनि पावर नपुगेर कुनै समय पंखा राम्रोसँग घुम्दैन,’ उनले भने, ‘दिनमा सात–आठपटकसम्म बत्ती जान्छ ।’ 

धनगढीकै अर्का स्थानीय सूर्य खनालले पटकपटक विद्युत् आउने–जाने तथा पावर घटबढ हुँदा विद्युतीय उपकरण बिग्रने जोखिम रहेको बताए । सहनै नसकिने गरी गर्मी बढेका वेला विद्युत् आपूर्तिमा लापरबाही भइरहेको उनले बताए । विद्युत् अनियमित हुँदा गर्मीले बालबालिकालाई जोगाउन समस्या भएको खनालले बताए ।

नेपाल विद्युत् प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख जंगबहादुर चन्दले सहरी क्षेत्रमा विद्युत्को खपत उच्च हुँदा तार र ट्रान्समिटरले धान्न नसकेर समस्या देखिने गरेको बताए । ‘विद्युत्को माग बढ्दा तार र ट्रान्समिटरले लोड धान्न नसक्ने भएपछि विद्युत् आउने–जाने र पावर कम हुने समस्या देखिन थालेको हो,’ उनले भने, ‘ट्रान्समिटर थप्ने र सुधार गर्ने काम गरिरहेका छौँ ।’ धनगढीमा मात्र गत वर्षको गर्मीयामको तुलनामा अहिले दैनिक पाँच मेगावाट विद्युत् खपत बढेको उनले बताए । गत वर्षहरूमा धनगढीमा दैनिक १६ मेगावाट विद्युत् खपत हुने गरेकोमा यस वर्ष अनुमान गरिएभन्दा निकै बढी खपत बढेको प्राधिकरणले जनाएको छ ।     

बारा सदरमुकाम कलैया, निजगढ, जितपुरसिमरालगायत क्षेत्रमा हरेक दिन १५–२० पटक बत्ती जाने गरेको छ । बत्ती झ्यापझ्याप हुँदा उपभोक्ता मारमा छन् । ‘दिउँसो होस् कि राति, पंखाविना बस्न–सुत्न सकिँदैन,’ निजगढका अजित कोइरालाले भने, ‘छिनछिनमै बत्ती जान्छ । फोन गरेर सोध्दा ओभरलोड भयो भन्छन् ।’ 

विद्युत् प्राधिकरण वितरण केन्द्र सिमराका प्रमुख रमेश रूपाखेतीले विद्युत् सेवा अनियमित भइरहेको स्वीकार गरे । उनका अनुसार भारतको रक्सौलबाट १३२ केभीभन्दा बढी बिजुली आयात गर्ने क्षमता नभएकाले भार प्रेषण केन्द्रबाट विद्युत्को भार हेरेर वेलावेला विद्युत् कटौती गर्नुपरेको हो । ‘गर्मीले विद्युत्को माग पनि बढेको छ । धानको ब्याड राख्ने समय भएकाले सिँचाइमा पनि विद्युत् प्रयोग भइरहेको छ, त्यही भएर लोड धान्न नसक्दा विद्युत् अवरुद्ध हुने गरेको छ,’ उनले भने । 

पश्चिम तराईको तापक्रम ‘हल्का’ घट्यो, तातो हावा कायमै 
पश्चिम तराईमा पछिल्लो बुधबार र बिहीबार उच्च रहेको तापक्रम केही घट्न थालेको छ । तर, तातो हावाको लहर भने कायमै छ । लुम्बिनी र सुदूरपश्चिमका तराई र उपत्यकामा अधिकतम तापक्रम उच्च नै छ । बिहीबार ४५.२ डिग्री सेल्सियस तापक्रम पुगेको टीकापुरमा शुक्रबार ४३.१ र शनिबार ४१.६ मा झरेको छ ।

शनिबार नेपालगन्जमा ४१.१, धनगढीमा ४०.७, दिपायलमा ३९.४, सुर्खेतमा ३८.१, घोराहीमा ३५.२ र भैरहवामा ३७.२ डिग्री मापन भएको छ । शुक्रबार नेपालगन्जमा ४३, धनगढीमा ४२.५, दिपायलमा ४१.२, सुर्खेतमा ४०.४, घोराहीमा ३८.६ र भैरहवामा ३६.८ डिग्री थियो । त्यस्तै, बिहीबार नेपालगन्जमा ४४.२, धनगढीमा ४४.१, सुर्खेत वीरेन्द्रनगरमा ४१ र घोराहीमा ४०.२ तथा भैरहवामा ३९.४ डिग्री तापक्रम पुगेको थियो ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार पश्चिम तराईमा मौसमी गतिविधि खासै सक्रिय नरहेकाले तापक्रम घट्न नसकेको हो । ‘पश्चिमको पहाडी क्षेत्रमा हल्का बादल विकसित भएर फाटफुट पानी परेको छ । तराईमा पनि शनिबार हावाहुरी चलेर केही ठाउँमा फाटफुट पानी परेको छ । तर, तापक्रम पूर्वी र मध्य तराईको हाराहारीमा घटिहाल्ने गरी पानी पर्ने सम्भावना छैन,’ उनले भने ।

मध्य र पूर्वी तराईमा भने तापक्रम लगातार केही कम छ । शनिबार सिमरामा ३६.६, विराटनगरमा ३४, धरानमा ३३.६ र जनकपुरमा ३५.८ डिग्री अधिकतम तापक्रम मापन भएको छ । बंगालको खाडीबाट आएको जलवास्पयुक्त हावाका कारण पश्चिमबाहेकका क्षेत्रमा बादल लाग्ने र केही ठाउँमा पानी पर्ने गरेको छ । 

सिक्किम आइपुग्यो मनसुन 
यस वर्षको मनसुनी प्रणाली भारतको सिक्किम आइपुगेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको पूर्वी–उत्तर भूभाग, बंगलादेश, भुटान हुँदै मनसुनी प्रणाली सिक्किम पुगेको हो । 

नेपालमा औसतमा १३ जुनमा मनसुन भित्रिने गर्छ । यसपटक निर्धारित समयमै मनसुन भित्रिने आकलन गरिएको मौसमविद् गोविन्द झाले बताए । ‘अहिलेसम्मको स्थिति हेर्दा औसत समयमै मनसुन भित्रिने देखिन्छ । तर, यसबीचमा अन्य प्रणालीको असर कस्तो हुन्छ, त्यसमा भर पर्ने भएकाले अहिले नै भन्न सकिँदैन,’ उनले भने । 

नेपालमा पूर्वी भेगबाट मनसुन प्रवेश गरेर पश्चिमसम्म पुग्न कम्तीमा एक साता लाग्छ, तर गत वर्ष भने २३ दिन लागेको थियो । मनसुन देशभर फैलिन पश्चिमी वायुलाई मनसुनले विस्थापन गर्नुपर्छ । 

प्राधिकरण भन्छ– हावाहुरीले पोल ढल्ने र मर्मतको काम भइरहेकाले आपूर्ति अस्थिर भएको हो

नेपाल विद्युत् प्राधिकरणले यस सिजनमा धमाधम भारतमा विद्युत् निर्यात गरिरहेको छ । तर, देशभित्रै खासगरी तराई क्षेत्रमा उखरमाउलो गर्मीमा झ्यापझ्याप विद्युत् गएर हैरान छन् । प्राधिकरणले भने तराई क्षेत्रमा विद्युत् आपूर्ति अस्थिर हुनुमा विद्युत् कम भएर नभई हावाहुरीका कारण बिजुलीका पोल ढलेर भएको दाबी गरेको छ ।

कुलमान घिसिङ, कार्यकारी निर्देशक, विद्युत् प्राधिकरण
हावाहुरीले पोलहरू ठाउँ–ठाउँमा ढलेका छन् । यसलाई बनाउन समय लाग्छ । ढलेका पोल बनाउनका लागि बिजुली काट्ने र मर्मतपछि पुनः बिजुली जोड्ने कार्य हुँदा तराईमा विद्युत् आपूर्ति अस्थिर देखिएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक (सिइओ) कुलमान घिसिङले हावाहुरीका कारण तराई क्षेत्रमा बिजुलीका पोल ढल्ने र मर्मत गर्ने क्रम चलिरहेकाले विद्युत् आपूर्ति अस्थिर भएको बताए । ‘हावाहुरीले गर्दा पोलहरू ठाउँ–ठाउँमा ढलेका छन् । यसलाई बनाउन समय लाग्छ । ढलेका पोल बनाउनका लागि बिजुली काट्ने र मर्मतपछि पुनः बिजुली जोड्ने कार्य हुँदा तराईमा विद्युत् आपूर्ति अस्थिर देखिएको हो,’ उनले भने ।

घिसिङले चर्को गर्मीमा उपभोक्तालाई राहत दिन विद्युत् आपूर्ति नियमित गर्ने विषय प्राधिकरणको पहिलो प्राथमिकता रहेको पनि बताए । उनले पर्याप्त बिजुली उत्पादन भइरहेका कारण लोडसेडिङ गर्नुपर्ने कुनै कारण नरहेको पनि दाबी गरे । 

गत सोमबार रातिबाट भारतमा बिजुली निर्यात सुरु भएपछि केही उद्योगीले पनि औद्योगिक करिडोरमा लोडसेडिङ भइरहेको, तर निर्यात गरेर सस्तो लोकप्रियता हासिल गर्न  खोजेको आरोप लगाएका छन् । घिसिङले भने आरोप अस्वीकार गर्दै मागभन्दा बढी उत्पादन भएको बिजुली मात्रै निर्यात भएको बताएका छन् । ‘अहिले उत्पादन नै धेरै छ, धेरै भएको बेच्ने नै हो,’ उनले भने ।

उनले केही औद्योगिक क्षेत्रमा प्रसारण लाइनको अभावले नियमित बिजुली जान नसकेको भने स्वीकार गरे । तर, यो समस्या पनि हल हुन लागेको उनको दाबी छ । ‘कन्डक्टर अपरेटरको समस्याले केही क्षेत्रमा बिजुली आपूर्तिमा समस्या भएको हो, तर भोलि र पर्सिमा यो समस्या पनि हल गर्दै छौँ,’ उनले भने, ‘त्यसपछि औद्योगिक क्षेत्रमा पनि रातको समयमा नियमित बिजुली पठाउनेछौँ ।’

उनले पूर्वका औद्योगिक क्षेत्रमा नियमित बिजुली प्रवाह भइरहेकोमा नेपालगन्जमा भोल्टेजको समस्या रहेको बताए । ‘भोल्टेज कम भएकाले ट्रिपिङ हुने गरेको छ । यो समस्या भयो भन्दैमा उत्पादन बढी भएको बिजुली खेर फाल्नुभएन नि, यो बिजुली बेच्ने नै हो,’ घिसिङले भने ।

See More On

सुझावित समाचार