नवलपुरमा गएरातिको हावाहुरीले आँप र सालका रुखहरू ढली १० वटा घर र दुईवटा विद्यालयमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार क्षतिको संकलन कार्य भइरहेको छ । अहिलेसम्म प्राप्त क्षतिको विवरणअनुसार विनयी त्रिवेणी गाउँपालिका- ५ मा चारवटा घरमा क्षति पुगेको छ ।
त्यसैगरी, मध्यविन्दु नगरपालिका- ५ मा चारवटा घरमा रुख ढली क्षति भएको छ भने देवचुली नगरपालिका– ४ झाँक्रेमा सालको रुख ढली एउटा घरमा क्षति भएको छ । यस्तै, गैँडाकोट- १३ सिख्रौलीमा एउटा घरको छाना उडाएको छ ।
त्यस्तै, मध्यविन्दु नगरपालिका- १० नयाँ बेलहानीमा सरस्वती माविमा रुख ढलेर पर्खाल र भर्याङ भत्किएको छ भने कावासोती– १७ को सरस्वती माविमै रुख ढलेर क्षति पुर्याएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, ठाउँठाउँमा बिजुलीको पोलमा रुख ढलेर क्षति पुर्याएका कारण विभिन्न स्थानमा हिजो रातिदेखि नै विद्युत् अवरुद्ध भएको छ । आज नवलपुर खण्डमा सडक भने अवरुद्ध नरहेको प्रहरीले जनाएको छ ।