माओवादी र महिन्द्र राय यादव समूहको नेपाल समाजवादी पार्टीको एकता प्रक्रिया रोकिएको छ । माओवादी र नेसपा यादव समूहबीच गत ३ चैतमा पार्टी एकता गर्ने सहमति भएको थियो । नयाँ नामका सन्दर्भमा महाधिवेशनमा टुंगो लगाउने गरी एकताबद्ध हुन दुबै दल सहमत भएका थिए । पार्टी एकताका लागि वैचारिक एकरूपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको थियो । कार्यदलमा माओवादीबाट महासचिव देव गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेसपाबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव सदस्य छन् ।
यसबीचमा एकपटक कार्यदलको बैठक पनि बसेको छ । तर, कार्यदलले आवश्यक काम गर्न सकेको छैन । कुन मोडलमा एकता गर्ने भन्ने विषय टुंगिन बाँकी रहेको गुरुङले बताए । राष्ट्रिय राजनीतिक विविध घटनाक्रममा व्यवस्था भएकाले पार्टी एकताको विषय अगाडि नबढेको उनले बताए । ‘यस अवधिमा अन्य राजनीतिक घटनाक्रममा बढी केन्द्रित भयौँ । नेसपासँगको एकता कुन मोडलमा गर्ने भन्ने टुंग्याउन बाँकी छ । वैचारिक एकता र संगठनात्मक काम गर्न बाँकी छ,’ गुरुङले भने ।
विप्लवसँग मोर्चामै सहकार्य
नेकपा महासचिव नेत्रविक्रम चन्द्र विप्लव माओवादी अध्यक्ष प्रचण्डसँग नजिकिएका छन् । नेकपाले माओवादी धाराका दलसँग एकता गर्ने सैद्धान्तिक निर्णयसमेत गरिसकेको छ । केही समयअघि बसेको नेकपाको केन्द्रीय समिति बैठकले माओवादी धाराका बीचमा राजनीतिक कार्यदिशा, संगठन, संघर्ष, सांस्कृतिक विषयमा छलफल गरेर उपयुक्त समयमा एकता गर्ने निर्णय गरेको थियो । तर, माओवादीसँग एकता प्रक्रिया भने अघि बढेको छैन ।
माओवादी महासचिव गुरुङले नेकपासँग एकता प्रक्रिया अगाडि नबढेको बताए । हाललाई समाजवादी मोर्चामार्फत नै नेकपासँग सहकार्य भइरहेको उनले बताए । ‘हामी समाजवादी मोर्चामा सँगै छौँ । मोर्चामार्फत नै सहकार्य भइरहेको छ,’ गुरुङले भने । यद्यपि, जसपा विभाजनसँगै समाजवादी मोर्चा संकटमा परेको छ । मोर्चाको एक घटक माओवादीका महासचिव गुरुङ भने आवश्यकताअनुसार मोर्चा सक्रिय हुने बताउँछन् । दुवै जसपालाई मोर्चामा समेटेर अघि बढ्न सकिने उनको भनाइ छ ।