१७औँ आइपिएलमा बनेका रेकर्ड

मंगलबार, १५ जेठ, २०८१
डिजिटल संस्करण

कोलकाता नाइट राइडर्सले आइतबार राति एक पक्षीय फाइनलमा सन्राइजर्स हैदराबादलाई आठ विकेटले हराउँदै तेस्रोपटक इन्डियन प्रिमियर लिग (आइपिएल)को उपाधि उचाल्यो । कोलकाताले १० वर्षपछि आइपिएलको ट्रफी हात पारेको हो । चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सले यसपटक प्ले अफमा स्थान बनाउन सकेनन् । यी दुवै टोली समान पाँचपटकका सर्वाधिक च्याम्पियन हुन् । मुम्बई अहिलेसम्मकै खराब प्रदर्शनको सिकार हुँदा अंक तालिकाको पुछारमा रह्यो । रोयल्स च्यालेन्जर्स बेंग्लोरसँग झिनो रनरेटमा पछि परेपछि पाँचपटकको विजेता चेन्नई प्ले अफ दौडबाट बाहिरियो । यसपटकको आइपिएलमा अद्भूत रेकर्ड बनेका छन् ।

फाइनलमा कम लक्ष्य 
सिजनभरि नै उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेको हैदराबाद फाइनलमा चुक्यो । हैदराबादले कोलकाताविरुद्ध एक सय १३ रनमा मात्र बनाएको थियो । यो स्कोर अहिलेसम्मको फाइनलमा पहिलो ब्याटिङ गरेको टोलीले बनाएको सबैभन्दा कम योगफल हो । सन् २०१७ मा मुम्बईले पुणे जायन्टविरुद्ध २० ओभरमा एक सय २० रन जोडेको थियो । सन् २०१३ मा चेन्नईले एक सय ४९ रनको लक्ष्य पछ्याउँदा २० ओभरमा एक सय २५ रन मात्र बनाएको थियो । कोलकाताले आइपिएलको फाइनलमा छिटो लक्ष्य पूरा गर्यो । हैदराबादले दिएको १ सय १४ रनको लक्ष्य कोलकाताले १०.३ ओभरमा दुई विकेट गुमाएर भेटायो । 

धेरै शतक
योपटक शतकमा कीर्तिमान बनेका छन् । १७औँ सिजनको आइपिएलमा समग्रमा १४ शतक बने । सन् २०२३ को सिजनमा १२ शतकीय इनिङ भएका थिए । यो आइपिएलमा अन्तिम शतकका रूपमा साई सुदर्शनले चेन्नईविरुद्ध एक सय ३ रनको इनिङ्स खेलेका थिए । यसै संस्करणमा सय शतक संख्या पुगेको थियो । गुजरातका कप्तान शुभमन गिलले आइपिलमा सय शतकको संख्या पार गरेका थिए । उनले नरेन्द्र मोदी रंगशालामा १०४ रन बनाएका थिए । 

हैदराबादको ठूलो योगफल
आइपिएलमा हैदराबादले ३०औँ खेलमा बेंग्लोरविरुद्ध सर्वाधिक २८७ रनको योगफल खडा गरेको थियो । रमाइलो पक्ष के रह्यो भने हैदराबादले १९ दिनपछि आफ्नै रेकर्ड तोडेको थियो । सुरुमा हैदराबादले मुम्बईविरुद्ध दुई सय ७७ रनको सर्वाधिक योगफल बनाएको थियो । सन् २०१३ मा बेंग्लोरले पुणेविरुद्ध दुई सय ६३ रन जोडेको थियो । यस खेलमा क्रिस गेलले कीर्तिमानी रूपमा एक सय ७५ रन बनाएका थिए । गेलको नाममा रहेको व्यक्तिगत सर्वाधिक रन अहिलेसम्म कसैले तोड्न सकेका छैनन् । 

ठूलो लक्ष्य पछ्याएको पन्जाब
आइपिएलको इतिहासमा पन्जाब किंग्सले सबैभन्दा ठूलो लक्ष्य पछ्यायो । लिगअन्तर्गत ४२औँ खेलमा कोलकाताले खडा गरेकामे २६२ रन सहजै पन्जाबले पूरा गर्यो । बेंग्लोरले लक्ष्य पछ्याउँदा रेकर्ड राख्यो । हैदराबादले २८८ रनको लक्ष्य दिँदा बेंग्लोरले २० ओभरमा २६२ रन बनाएको थियो । 

एकै खेलमा धेरै छक्का
पन्जाब र कोलकाताबीचको खेलमा समग्रमा ४२ छक्का प्रहार भए । कोलकाताले १८ र पन्जाबका ब्याट्सम्यानले २४ छक्का लगाएका थिए । यसअघि हैदराबाद र बेंग्लोरबीचको खेलमा ३८ छक्का प्रहार भएको थियो । यसै सिजनमा हैदराबाद र मुम्बईबीचको खेलमा ब्याट्सम्यानले ३८ छक्का लगाएका थिए । 

एकै खेलमा धेरै बाउन्ड्री
१७औँ सिजनको आइपिएलअन्तर्गत ३०औँ खेलमा हैदराबाद र बेंग्लोरबीच धेरै बाउन्ड्रीको रेकर्ड बनेको थियो । दुवै टोलीले समग्रमा ८१ बाउन्ड्री लगाएका थिए । यसमा चौका र छक्का समावेश छ । यी दुवै टोलीले चेन्नई र राजस्थानबीचको रेकर्ड तोडे । सन् २०१० मा चेन्नई र राजस्थानबीचको खेलमा कुल ६९ बाउन्ड्री प्रहार भएको थियो । सन् २०२४ को सिजनमा हैदराबाद र मुम्बईको खेलमा ६९ पटक खेलाडीले बाउन्ड्री प्रहार गरेका थिए ।

 एकै खेलमा पाँच सय ४९ रन
१७औँ सिजनको आइपिएलअन्तर्गत ३०औँ खेलमा कुल ५४९ रनको योगफल खडा भएको थियो । खेलमा हैदराबादले २८७ रन बनाएको थियो । लक्ष्य पछ्याउँदा बेंग्लोरले २६२ रन जोड्यो । यसअघि मुम्बई र हैदराबादबीचको खेलमा ५२३ रन बनेको थियो । जसमा हैदराबादले २७७ रन र मुम्बईले २४६ रन बनाएको थियो । 

पावर प्लेमा उत्कृष्ट रन
हैदराबादले टी–२० क्रिकेट फम्र्याटमा पावर प्लेमा धेरै रन बनाउने रेकर्ड आफ्नो नाममा राखेको छ । हैदराबादले दिल्ली क्यापिटल्सविरुद्ध ६ ओभरमा १२५ रन जोडेको थियो । यसअघि सन् २०१७ मा कोलकाताले बेंग्लोरविरुद्ध पावर प्लेमा १०५ रन बनाएको थियो । सन् २०१४ मा चेन्नईले पन्जाबविरुद्ध दुई विकेट गुमाएर १०० रन बनाएको थियो । 

See More On

सुझावित समाचार