गृहमन्त्री लामिछानेविरुद्ध कांग्रेसले उठाएको मुद्दा ठूलो होइन : ओली

कांग्रेसजस्तो पार्टी रवि लामिछानेविरुद्ध खनिएको छ, के खनिनु ? भँगेरा मार्न जाने तोप बोकेर ?

शुक्रबार, ११ जेठ, २०८१
डिजिटल संस्करण

एमाले अध्यक्ष केपी ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध कांग्रेसले उठाएको मुद्दा ठूलो नभएको बताएका छन् । कांग्रेस जस्तो पार्टी भर्खर राजनीतिमा लागेको लामछिानेविरुद्ध खनिन नहुने उनको भनाइ छ ।सुनसरीमा बिहीबार आयोजित पार्टी कार्यक्रममा उनले राजनीतिमा आएको एक–डेढ वर्ष मात्र भएको पार्टीसँग क्षणिक स्वार्थका लागि खनिन नहुने तर्क गरे ।

‘अहिले कांग्रेसले केही सवाल उठायो, उठाएको पनि कुनै ठूलो कुरो भएको भए हुन्थ्यो, रवि लामछिाने कि को भन्ने पात्रवरिुद्ध कांग्रेस खनएिको छ । कांग्रेस जस्तो पार्टी रवि लामिछानेविरुद्ध खनिएको छ । के खनिनु ? भँगेरा मार्न जाने तोप बोकेर,’ ओलीले भने, ‘बल्लबल्ल राजनीतिमा आएको, एक वर्ष भयो । अहिले उपप्रधानमन्त्री हुनुहुन्छ, पदीय हिसाबले उहाँलाई म सम्मान गर्दछु ।’ उनले कांग्रेसले त्यही व्यक्तिलाई प्रधानमन्त्री अफर गर्ने र नमान्दा सहकारी ठग भनेको आरोप पनि लगाए । उनले संसदमा अप्रमाणित कुरा बोल्न हुने बताए । 

ओलीले सरकारले कान्तिपुर अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्दा प्रेस स्वतन्त्रता हनन् नभएको दाबी गरे । ‘कैलाश सिरोहिया कान्तिपुर भन्ने पत्रिकाका सञ्चालक । उहाँको नागरिकतामा नागरिकता दिने मान्छेको नाम छैन, दिनेको सही छैन भन्ने कुरा अखबारमै आए । तर त्यसको छानबिन सरकारले गर्यो,’ उनले भने, ‘प्रहरीले अदालतलाई उहाँलाई गिरफ्तार गरेरै छानबिन गर्नुपर्छ भन्यो, किनभने प्रमाण लुकाउने, नष्ट गर्ने सम्भावना देखियो । जोसुकैलाई थुन्न पाउँ भन्दा अदालतले थुन्न दिँदैन नि, छानबिन गर भन्छ ।’ उनले झुटो नागरिकताको मुद्दामा पक्राउ गर्दा वक्तव्यको होडबाजी भएको दाबी गरे ।

ओलीले पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा नगर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । बिहीबार एमाले दमक नगरको दोस्रो नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले आपसमा सहमति गरेर अघि बढ्न निर्देशन दिएका हुन् । ‘आपसमा चुनाव नलड्नुस्,  एकता गर्नुस् । लड्ने त विपक्षीसँग हो । त्यसका लागि आन्तरिक एकता चाहिन्छ । एकताबद्ध पार्टी हाम्रो मूल मन्त्र हो । एकता लागि अधिवेशन महत्वपूर्ण हुन्छ,’ उनले भने, ‘एउटा मात्र अध्यक्ष हुन्छ । हारेको पीडा सहनुभन्दा मिलेर जानू । समझदारीको नाममा पाँच/सात दिन पनि नलगाउनू । गर्ने भनेको काम फाट्टफुट्ट गर्नुस् । सहमति जुटेन भने प्रतिस्पर्धामा जानू । तर, अस्वस्थ प्रतिस्पर्धा नगर्नुस् ।’ 

 तीन दिनदेखि जिल्ला दौडाहातिर 
एमाले अध्यक्ष ओली तीन दिनदेखि जिल्ला दौडाहामा छन् । गृहजिल्ला झापा हुँदै मोरङ र सुनसरीमा आधा दर्जनभन्दा बढी कार्यक्रममा सहभागी भएका छन् । ओलीको सचिवालयका अनुसार उनी बिहीबार झापा र मोरङको कार्यक्रममा सहभागी भए । गृहनगर दमकमा पार्टीको नगर कमिटीको दोस्रो अधिवेशन उद्घाटन गरेका ओली बिहान सुनसरीको इनरुवामा नगर अस्पताल उद्घाटनका साथै मोरङ पार्टीले आयोजना गरेको विविध कार्यक्रममा सहभागी भए । 

गत ८ जेठमा गृहजिल्ला झापा गएका ओलीले बुधबार कमल गाउँपालिकाको पाडाजुँगीमा पूर्व–पश्चिम काँकडभिट्टा–लौकही सडकको शिलन्यास गरेका थिए । त्यस्तै, सोही दिन झापामा उनी ‘केपी बासँग बालबालिका’ कार्यक्रममा सहभागी भएका थिए । सबै कार्यक्रम सकिएपछि उनी राजधानी फर्किनेछन् । त्यसलगत्तै ओली पुनः दुई दिन उपत्यकाबाहिरकै कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जनाएको छ । 

सुझावित समाचार