काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आफ्ना कर्मचारीलाई अनाहकमा अपमान गरे सहेर नबस्ने चेतावनी दिएका छन् । फोहोर बोक्ने गाडीका चालकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेपछि सामाजिक सञ्जालमार्फत उनले यस्तो चेतावनी दिएका हुन् ।
‘पक्राउ परेका चालकलाई ससम्मान छाडेको खबर पाएँ । जोकोहीले यत्ति बुझ्नुहोला, पदमा तलमाथि होला, भूमिकामा तलमाथि होला । तर, नियम–कानुन र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरवासीको आत्मसम्मान हुन्छ । त्यसमा कसैले सम्झौता गर्न पाइँदैन । महानगर यसमा संवेदनशील छ,’ सामाजिक सञ्जालमा उनले लेखेका छन् ।
मेयर बालेनले आफ्नो कर्तव्य निभाइरहेका कुनै कर्मचारीलाई अनाहकमा अपमान गरे महानगरले नसहने भन्दै बुझेर कदम चाल्न केन्द्र सरकारलाई चुनौती दिएका छन् । सोमबार महानगरको फोहोरमैला बोकेका चारवटा गाडीसहित चालकलाई सडकछेउमा गाडी रोकेको भन्दै जिल्ला प्रहरी परिसर टेकुले पक्राउ गरेको थियो ।
फोहोर बोकेको गाडीसहित चारजनालाई प्रहरीले पक्राउ गरेपछि मेयर बालेनले जबसम्म ससम्मान चालकहरू रिहा हुन्नन्, सिंहदरबारलगायत सबै पार्टी कार्यालय तथा नेताहरूको घर–कार्यालयको फोहोर नउठ्ने बताएका थिए । टेकु प्रहरीले दिउँसो ३ बजे नियन्त्रणमा लिएका गाडी र चालकलाई साँझ ६ बजेतिर रिहाइ गरेको छ ।