मकवानपुर जिल्ला सितोरियो कराँते प्रशिक्षक नरेन्द्र श्रेष्ठको निधन भएको छ। ४८ वर्षीय प्रशिक्षक श्रेष्ठको सोमबार उपचारको क्रममा काठमाडौंस्थित वीर अस्पतालमा निधन भएको हो।
कलेजोमा समस्या देखिएपछि उपचाररत प्रशिक्षकको निधन भएको परिवारले जनाएको छ। २०५४ सालदेखि २०६० सालसम्म करार प्रशिक्षकको रूपमा काम गरेका श्रेष्ठ २०६१ सालदेखि राष्ट्रिय खेलकुद परिषद्को स्थायी प्रशिक्षकको रूपमा नियुक्त भएका थिए।
उनी मकवानपुर जिल्लामा कराँते प्रशिक्षकका रूपमा कार्यरत थिए। श्रेष्ठको अन्त्येष्टि सोमबार बिहान हेटौँडा–१० स्थित राप्ती तटमा गरिएको छ। प्रशिक्षक श्रेष्ठको निधनको शोकमा मंगलबार एक दिन मकवानपुर जिल्ला खेलकुद विकास समितिले कार्यालय बन्द गर्ने निर्णय गरेको छ।