नेपालकै उत्कृष्ट तथा कर्णाली प्रदेशकै मुख्य पर्यटकीय गन्तव्य रारा घुम्न १० महिनामा साढे १० हजार पर्यटक पुगेका छन्।
गत साउन १ गतेदेखि वैशाख मसान्तसम्ममा आन्तरिक पर्यटक १० हजार तीन सय ४१ जना, सार्क मुलुकबाट ४३ र अन्य विदेशी मुलुकबाट एक सय ९५ जना गरी १० हजार पाँच सय ७९ जना पर्यटकले रारा भ्रमण गरेका हुन्।
रारा राष्ट्रिय निकुञ्जको कार्यालय मुगुका सूचना अधिकारी जयहरि धितालका अनुसार चालू आर्थिक वर्षको १० महिनामै १० हजार पाँच सत ७९ जना पर्यटकले रारा भ्रमण गर्न आउनु सुखद र खुसीको कुरा हो।

दसैँ–तिहार बिदामा रारामा आन्तरिक पर्यटक रारा घुम्न आएका उनको भनाइ छ। यस सर्षको सबैभन्दा धेरै कात्तिकमा तीन हजार चार सय ९२ जना पर्यटक रारा घुम्न आएका थिए भने सबैभन्दा कम साउनमा एक सय २६ जना रारा पुगेका थिए।
यो चालू आवको वैशाख मसान्तसम्म रारा घुम्न आउने पर्यटकबाट उठाइएको प्रवेश शुल्क, डुंगा चढेको र अन्य शुल्क गरी निकुञ्जले तीस लाख ६३ हजार सात सय ९१ राजस्व असुल गरेको पनि रारा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी धितालको भनाइ छ।

जम्मा राजस्वमध्ये २५ लाख ३० हजार पर्या–पर्यटकबाट र बाँकी राजस्व पाँच लाख ३३ हजार सात सय ८१ दण्ड, जरिवाना, काठ–दाउरालगायतबाट उठेको उनले बताए।
गत आवभरिमा ११ हजार एक सय ९१ स्वदेशी पर्यटकले रारा भ्रमण गरेका थिए भने सार्क मुलुकबाट २६ जना र अन्य विदेशी एक सय ८३ पर्यटक रारा घुम्न आएका थिए।
रारा भ्रमणमा आउने आन्तरिक पर्यटकबाट प्रतिव्यक्ति एक सय, सार्क मुलुकका पर्यटकबाट प्रतिव्यक्ति एक हजार पाँच सय र सार्क मुलुकबाहिरका पर्यटकबाट प्रतिव्यक्ति तीन हजारका दरले प्रवेश शुल्क उठाउने गरेको निकुञ्ज कार्यालयले जनाएको छ।
डुंगा चढेको प्रतिव्यक्ति पाँच सयका दरले उठाउने गरिएकोमा २० प्रतिशत निकुञ्जको कार्यालयमा, बाँकी ८० प्रतिशतमा ४० प्रतिशत डुंगाचालक र ४० प्रतिशत समितिमा राख्ने गरिएको छ।

हवाईमार्गबाट लगभग ७५ प्रतिशत र सडकमार्गबाट २५ प्रतिशत पर्यटक रारा घुम्न आउने गरेका छन्। सडक र हवाईमार्ग भरपर्दो नहुँदा रारामा अझै पर्यटक आगमन उल्लेख्य रूपमा वृद्धि हुन नसकेको व्यवसायीको गुनासो छ।
अर्कोतिर रारा क्षेत्रमा पर्यटकलाई वास बस्ने सुविधायुक्त होटेल र मनोरञ्जनका साधनसमेत छैनन्।
भरपर्दो सडक, सुविधासम्पन्न होटेल, नहुँदा पर्यटकले बाटोमा सास्ती खेप्नुपरेको गुनासो सधैँजसाे गर्दैआएका छन्।
कोरोना महामारीका कारण चार वर्षसम्म थला परेको पर्यटकीय क्षेत्र रारामा यो वर्षको १० महिनामै राम्रै संख्यामा पर्यटक आएका छ्न। थप दुई महिनामा पर्यटकको संख्या वृद्धि हुन सक्ने निकुञ्जले अनुमान गरेको छ।
रारा घुम्न आउने पर्यटकका लागि यो मौसम एकदमै उपयुक्त मानिने र जेठदेखि असोजसम्म्म हरियाली हुने, विभिन्न प्रजातिका फूलहरू फुल्ने हुँदा राराको सुन्दरतामा झनै रमणीय हुने गरेको छ।