बालिका करणी मुद्दामा १८ वर्ष कैद पाएका चटौतलाई सफाइ

शुक्रबार, ४ जेठ, २०८१
डिजिटल संस्करण

आफ्नै घरमा घरेलु कामदारका रूपमा कार्यरत बालिकालाई जबर्जस्ती करणी गरेको अभियोग लागेका व्यापारी सुशील चटौतले सफाइ पाएका छन् । उच्च अदालत पाटनका न्यायाधीशहरू मुनेन्द्रप्रसाद अवस्थी र हेमन्त रावलको मंगलबारको इजलासले यस्तो फैसला गरेको हो । जिल्ला अदालतले दोषी ठहर गर्दै सजाय सुनाएपछि चटौत ९ साउन ०८० मा उच्च पुगेका थिए । सरकारी पक्षले १८ असोजमा मुद्दा पुनरावेदन गरेको थियो । त्यसपछि जिल्लाको फैसला उल्टी हुने भएको हो ।

जिल्ला न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले २५ चैत ०७९ मा चटौतलाई दोषी ठहर गरेको थियो । सजाय निर्धारण भने २७ चैतमा भएको थियो । उनलाई १८ वर्ष एक महिना कैद सजाय तोक्दै पीडितलाई आठ लाख रुपैयाँ क्षतिपूर्ति भराउन फैसला भएको थियो । प्रतिवादी चटौतलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न १३ वैशाख ०७९ मा आदेश गरेसँगै उनी थुनामा थिए । 

बझाङ घर भएकी बालिका १० वर्ष हुँदादेखि ललितपुरको इमाडोलस्थित चटौत परिवारसँग बस्दै आएकी थिइन् । घरको काम गर्नुको साथै उनले पढाइलाई समेत निरन्तरता दिँदै आएकी थिइन् । तीन वर्षअघिबाट उनीमाथि चटौतले बलात्कार गर्दै आएको प्रहरीलाई उनले बताएकी थिइन् । पछि अदालतमा भने प्रतिकूल बकपत्र गरेकी थिइन् । आफ्नै परिवार र चटौत परिवारको दबाबमा उनले बयान बदले पनि जिल्लाले कसुर कायमको फैसला गरेको थियो ।

पछिल्लोपटक २४ माघ ०७८ मा उनीमाथि जबर्जस्ती करणी भएपछि उनले स्कुलका शिक्षक र साथीहरूलाई जानकारी दिएकी थिइन् । त्यसपछि बाल हेल्पलाइन हुँदै प्रहरीमा यो उजुरी दर्ता भएको थियो । प्रहरीले पनि उजुरी दर्ता गर्न आनाकानी गरेको थियो । पछि पीडित पक्ष र संघसंस्थाबाट दबाब आएपछि प्रहरीले जाहेरी लिएको हो ।

तत्कालीन महान्यायाधिवक्ता खम्मबहादुर खाती र उक्त कार्यालयबाट समेत यो मुद्दामा फितलो अभियोजन तथा बहस गर्न सरकारी वकिललाई दबाब दिइएको थियो । नमानेपछि सहन्यायाधिवक्ता संगीता थोकरको सरुवासमेत गरिएको थियो ।

महान्यायाधिवक्ता खाती कांग्रेसनिकट हुन् । पछि किशोरी र उनको परिवारलाई प्रलोभन र दबाबमा पारेर उनलाई बयान बदल्न लगाइएको खुलेको थियो । सुशीललाई मुलुकी अपराध संहिताको दफा २१९ को दफा ३ (ख) अनुसार मुद्दा चलाइएको थियो । 

See More On

सुझावित समाचार