काभ्रेको पाँचखाल नगरपालिकास्थित बिराजे खोल्छा जंगलमा रुखमा बाँधेर जलेको अवस्थामा फेला परेको शव दोलखाका विष्णु सुवेदीको भएको पुष्टि भएको छ । पाँचखाल नगरपालिका– ४ स्थित मेलम्ची–जिरोकिलो सडकखण्डबाट अन्दाजी ५० मिटर तल बिराजे खोल्चा जंगलको रुखमा मुख र छातीमा फलामको तारले बाँधेर आगो लगाएको अवस्थामा पुरुषको शव फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार मंगलबार धुलिखेल अस्पतालमा गरिएको पोस्टमार्टमका आधारमा शवको पहिचान भएको हो । १० दिनदेखि बेपत्ता भीमेश्वर नगरपालिका–२ राम्पाका विष्णु सुवेदीको शव जलेको अवस्थामा फेला परेको थियो । २३ वैशाखमा ललितपुरको टीकाथलीस्थित घरबाट दोलखा जाने भनेर निस्किएका सुवेदीको हत्या गरेर रुखमा तारले बाँधी जलाएको अनुमान गरिएको छ । प्रहरीले उनको हत्या गरिएको हो वा आत्महत्या भन्नेबारे यकिन हुन बाँकी रहेको जनाएको छ ।
सुवेदीको तल्लोपट्टिको ६ वटा र माथिल्लोपट्टिको तीनवटा दाँत भरेको र पोस्टमार्टमका क्रममा शवको दाँतसमेत सोही प्रकृतिको फेला परेपछि शवको पहिचान भएको परिवारका सदस्यले बताएका छन् । दोलखा सदरमुकाम चरीकोटमा व्यवसाय गर्दै आएका ५४ वर्षीय सुवेदीले मोबाइलसमेत घरमै छाडेर निस्किएका थिए ।
उनले अन्तिमपटक २४ वैशाखमा जिरोकिलोस्थित एक होटेल सञ्चालकको मोबाइल नम्बरबाट घरमा सम्पर्क गरी आफू केही दिन घर नफर्किने बताएका थिए । त्यसपछि सम्पर्कविहीन भएका सुवेदीलाई व्यापक खोजतलास गर्दा पनि फेला पर्न सकेका थिएनन् । घटना प्रकृति हेर्दा उनलाई हत्या गरेर पहिचान नहुने गरी रुखमा बाँधेर जलाएको आशंका गरिएको छ ।