सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता हुने भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मंगलबार यो सेवाको उद्घाटन गरे । यसअघि अदालत नै पुगेर रिट दर्ता गर्नुपर्नेमा अब दुईवटा सफ्टवेयरमार्फत कानुन व्यवसायी वा निवेदकले रिट दर्ता गर्न सक्नेछन् । सर्वोच्चले अनलाइन मुद्दा दर्ता प्रणाली विकास गरेकोमा रिट दर्ताबाट यसको सुरुवात गरिएको हो ।
कागजी रिट दर्ताको प्रक्रिया पक्षलाई झन्झटिलो भइरहेको तथा दर्ताका लागि आफैँ उपस्थित हुनुपर्ने भएकोमा अब दर्ता गर्न सर्वोच्च आइरहनुपर्ने छैन । साथै, पेसीको जानकारी पनि सफ्टवेयरबाटै पाइने जनाइएको छ ।
सर्वोच्चले पेसीको सूचना पनि पक्षहरूलाई अनलाइनबाटै पठाउने प्रणाली तयार गरेको छ । तर, हालका लागि भने यस्तो स्वचालित पेसीको सूचना महान्यायाधिवक्ताको कार्यालयमा पठाइने भएको छ । पछि प्रदेश सरकारअन्तर्गतको मुख्य न्यायाधिवक्ताको कार्यालय, कारागार कार्यालयलगायतमा विस्तार गरिनेछ । साथै, उच्च र जिल्ला अदालतमा यस्तै प्रणाली विकास गर्ने योजना रहेको सर्वोच्चले जनाएको छ ।