सूचना प्रविधि ‘वर्कस्टेसन’ सञ्चालन गरी पाँच हजार रोजगारी सिर्जना गरिने

आगामी दशक ‘सूचना प्रविधि दशक’

मंगलबार, १ जेठ, २०८१
डिजिटल संस्करण

सरकारले सूचना प्रविधिलाई डिजिटल रूपान्तरणको आधारका रूपमा लिई सामाजिक–आर्थिक रूपान्तरण एवं समृद्धि हासिल गर्न आगामी दशकलाई ‘सूचना प्रविधि दशक’को रूपमा अगाडि बढाउने भएको छ। 

राष्ट्रपति रामचन्द्र पौडेलले आज आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम संघीय संसद्का संयुक्त बैठकमा प्रस्तुत गर्दै सूचना प्रविधि उद्योगलाई रोजगारी र सेवा निर्यातको प्रमुख क्षेत्रको रूपमा विकास गर्न प्रोत्साहन गरी नेपाललाई ग्लोबल सूचना प्रविधि हबका रूपमा विकास गरिने उल्लेख गरे।  

काठमाडौं उपत्यका र प्रत्येक प्रदेशका उपयुक्त स्थानमा सूचना प्रविधि ‘वर्कस्टेसन’ सञ्चालन गरी कम्तीमा पाँच हजार रोजगारी सिर्जना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। 

सञ्चार तथा सूचना प्रविधि एवं प्रणालीको सुरक्षित र प्रभावकारी प्रयोगका लागि कानुनी र संस्थागत व्यवस्था गरिने तथा डिजिटल नेपाल ‘फ्रेमवर्क’लाई परिमार्जन गर्ने सरकारको योजना छ। सूचना प्रविधिसम्बद्ध निकायको पुनर्संरचना गरी सेवा प्रवाहलाई प्रभावकारी बनाइने सरकारको लक्ष्य छ। 

राष्ट्रपति पौडेलले सार्वजनिक सेवाको निर्वाध सञ्चालनका लागि सञ्चार तथा सूचना प्रविधिसँग सम्बन्धित संवेदनशील पूर्वाधारको व्यवसाय निरन्तरता योजना कार्यान्वयन गरिने तथा राष्ट्रिय कृत्रिम बौद्धिकता रणनीति तयार गरी यसको प्रयोगसम्बन्धी सम्भाव्यता अध्ययन गरिने उल्लेख गरे।  

ब्रोडब्यान्ड इन्टरनेट विस्तार गरी ब्रोडब्यान्ड सेवालाई गुणस्तरीय, सर्वसुलभ र सुरक्षित बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ। सबै स्थानीय तहका केन्द्र तथा वडा केन्द्रसम्म द्रुतगतिको इन्टरनेट सेवा उपलब्ध गराउन उच्च क्षमताको अप्टिकल फाइबर विस्तार गर्ने कार्यलाई तीव्रता दिइने तथा दुर्गम र विकट क्षेत्रमा भू–उपग्रहमा आधारित इन्टरनेट सेवाको प्रारम्भ गरिने उल्लेख छ। 

साइबर सुरक्षासम्बन्धी अनुसन्धान, प्रतिकार्य तथा जनचेतना अभिवृद्धि कार्यलाई प्रभावकारी बनाउन संस्थागत व्यवस्था गरिने तथा डिजिटल साक्षरता विस्तार गरी महिला, अल्पसंख्यक एवं पिछडिएको वर्ग, क्षेत्र र समुदायको सूचना प्रविधिमा पहुँच विस्तार गर्ने सरकारको योजना छ। 

नेपालको आफ्नै भू–उपग्रह स्थापना गर्ने कार्य अघि बढाउने तथा डाटा सेन्टरको निर्माण र सञ्चालनसम्बन्धी मापदण्ड तयार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । सूचना प्रविधि राष्ट्रिय ज्ञानपार्क स्थापनाको प्रक्रिया  अगाडि बढाइने सरकारको योजना छ। 

सार्वजनिक निकायले प्रयोग गर्ने सूचना प्रविधि प्रणालीको मापदण्ड निर्धारण गरी सुरक्षित र भरपर्दो बनाइने, सार्वजनिक निकायमा प्रयोग भइरहेका हार्डवेयर, सफ्टवेयर, नेटवर्क, साइबर सुरक्षालगायतका सूचना प्रविधि प्रणालीहरूको प्राविधिक परीक्षण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। 

सरकारले सार्वजनिक निकायमा प्रयोगमा आउने प्रणाली तथा सफ्टवेयर सरकारी क्षेत्रबाट निर्माण गर्ने तथा स्वदेशमा विकसित सफ्टवेयरलाई प्राथमिकता दिई उपयोग गर्ने नीति लिने भएको छ। 

अत्याधुनिक, गुणस्तरीय र प्रतिस्पर्धी मुद्रणको व्यवस्था गरी अन्तःशुल्क स्टिकर, हुलाक टिकट, सवारीचालक अनुमतिपत्र, राहदानीजस्ता सुरक्षण मुद्रण स्वदेशमै हुने प्रबन्ध मिलाउने तथा हुलाक सेवालाई पुनर्संरचना गरी चुस्त, प्रभावकारी र सूचना प्रविधिमैत्री बनाउँदै विद्युतीय व्यापारसँग आबद्ध गर्ने सरकारको योजना छ। 

सबै प्रदेशमा सञ्चारग्राम निर्माण र सञ्चालन गर्ने नीति लिइनेछ। लुम्बिनी प्रदेशसँगको सहकार्यमा दाङमा कृष्णसेन सञ्चारग्राम स्थापनाको पूर्वतयारी कार्य सुरु गरिनेछ। टेलिभिजन तथा एफएम र इन्टरनेट सेवाप्रदायकलाई एक–आपसमा गाभिन, हक हस्तान्तरण गर्न तथा स्थानान्तरण हुन प्रोत्साहित गरिने नीति कार्यक्रममा उल्लेख छ। 

सुझावित समाचार